प्रदेश २ मा सत्तारुढ दलको कालो दिवस, नागरिक भन्छन् – मुर्ख बनाउने काम

 असोज ३, २०७५ बुधबार ९:२:३६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – संविधान जारी भएको दिनको सम्झनामा बुधबार केन्द्र, प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइँदैछ । केन्द्र सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति बनाएर संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउँदैछ । तर २ नम्बर प्रदेशमा भने संविधान दिवस मनाउने कुनै तयारी छैन ।

प्रदेश २ सरकारको नेतृत्व गरिरहेको दल संघीय समाजवादी फोरम नेपाल र सत्ता साझेदार राष्ट्रिय जनता पार्टी नेपालले संविधानको विरोधमा कार्यक्रम गर्दैछन् ।

गएको आइतबार संघीय समाजवादी फोरम नेपालको तराई–मधेश तदर्थ समितिका अध्यक्ष रेणुकुमारी यादवले असोज ३ गतेलाई कालो दिनको रूपमा मनाउने प्रदेश कार्यसम्पादन समितिको बैठकबाट निर्णय भएको घोषणा गरिसक्नु भएको छ ।

सोमबार फोरमको केन्द्रले विज्ञप्ती निकालेर कालो दिवस मनाउने कुनै निर्णय नभएको जनायो । संविधान संशोधनका लागि सत्तारुढ दलसँग कुरा मिलिसकेको र संविधान संशोधन हुने भन्दै फोरमको केन्द्रले कालो दिवस नमनाउने स्पष्ट पारेको छ । तर फोरमकै २ नम्बर प्रदेश कमिटी भने त्यसमा विश्वस्त छैन । त्यसैले फोरम र उसको सत्ता साझेदार राष्ट्रिय जनता पार्टी नेपालले २ नम्बर प्रदेशमा कालो दिवस मनाउने तयारी गरेका छन् ।

फोरम र राजपाको यस्तो निर्णयको आलोचना भइरहेको छ । जुन संविधानलाई मानेर चुनाव लडे, सांसद, मन्त्री र मुख्य मन्त्री भए, त्यही संविधानको विरोधमा कालो दिवस मनाउनुलाई यी दुई दलले नागरिकलाई मुर्ख बनाउन खोजेको समेत टिकाटिप्पणी भइरहेको छ । जनकपुर उपमहानगरपालिका २४ का अर्थहुसेन सिद्धीकीको यस्तै बुझाई छ । उहाँ भन्नुहुन्छ ‘संविधानमा भएको त्रुटी सच्याउन बरु नागरिकले कालो दिवस मनाउन उचित छ । तर त्यही संविधानअनुसार दुवै दल सत्तामा बसेर सबै सेवा सुविधा उपभोग गरेर संविधानको विरोधमा कालो दिवस मनाउनु भनेको नागरिकलाई मुर्ख बनाउन खोज्नु हो ।’

धनुषाको औरही गाउँपालिका चक्करका ललित दासले पनि दुवै दल सत्तामा बसेर कालो दिवस मनाउनु भनेको नागरिकलाई मुर्ख बनाउन खोज्नु हो भन्नुभयो ।

संविधान जारी भएलगत्तै तराई मधेसमा भएका आन्दोलनमा ज्यान गुमाएका मधेसी नागरिकलाई केन्द्र सरकारले शहीद घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकताका आधारमा संविधान संशोधन गर्ने आश्वासन दिएपछि राजपा र फोरम नेपालले सरकारलाई समर्थन गरेका छन् । जसमा फोरमका अध्यक्ष उपेन्द्र यादव ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री समेत हुनुहुन्छ । २ नम्बर प्रदेशमा फोरमकै लालबाबु राउत मुख्य मन्त्री हुनुहुन्छ ।

कालो दिवस भन्दा संविधान घोषणाको दिन तराई मधेशमा चलिरहेको आन्दोलनमा शहादत भएकाको सम्झनामा बलिदानी दिवस मनाउनु उपयुक्त हुने जनकपुर उपमहानगरपालिका १० का रत्नलाल कर्ण बताउनुहुन्छ ।

संविधान संशोधनको माग गर्नु, विरोध गर्नु गलत होइन । तर सत्तामा बसेर, सरकारलाई समर्थन गरेर संविधानको विरुद्धमा कालो दिवस मनाउनुलाई राजनीतिक विश्लेषक तथा प्रध्यापक डा.भोगेन्द्र झा राजनीतिक पाखण्डताको संज्ञा दिनुहुन्छ ।

‘म पनि संविधानको विरोध गर्छु, संविधान संशोधनको लागि आलटाल गर्ने प्रवृति र  संविधान संशोधनको लागि संविधानको नकारात्मक पक्षहरुको विरोध हुनुपर्छ । कालो दिवस मनाउनुको विपक्षमा म होइन’ राजनीतिक विश्लेषक झाले भन्नुभयो ‘तर सरकारको समर्थन र कालो दिवस सँगसँगै गर्नु द्वैध चरित्र र राजनीतिक पाखण्ड हो ।’

तर अर्का प्रध्यापक तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभ भने कालो दिवस मनाउने सत्तासिन दलको पक्षमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘संविधानलाई पुरापुर कसैले पनि अस्वीकार गरेको छैन । तर संशोधनको अपरिहार्यतालाई सबैले स्वीकार गरेकाले दवाव स्वरुप दुवै दलले कालो दिवस मनाएर सरकरलाई दवाव दिन्छ भने यसलाई हामीले नकरात्मक रुपमा लिनु मलाई लाग्छ लोकतन्त्रको विरोधमा जानु हो ।’

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

1 Comments

  • मनाेज धामी

    Sept. 19, 2018, 2:31 p.m.

    संबिधान मार्फत मन्त्री बन्ने, अनि संविधान नमान्ने रे ! नैतिक पतन चरित्र ,मानसीक राेगीहरू देखेर दया लागेर अाउँछ ।.

  •  0 Reply

तपाईको प्रतिक्रिया