परदेशमा बसेर हेर्दाको त्यो चुनाव, मतदान गर्न पाउँदाको यो चुनाव

 जेठ २, २०७९ सोमबार १५:२८:४८ | नारायण कोइराला

यसपालिको चुनावमा त सरकारले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सकेन । यसअघिका चुनावमा मत दिन पाइएन भनेर के गुनासो गर्नु । लामो समय परदेश बसियो । वर्षौँपछि यसपालि आफ्नो देशको चुनाव हेर्न पनि पाइयो । मतदान पनि गरियो । अनुभव अद्भुत रह्यो । आफ्नो मताधिकारको प्रयोग गर्न पाउँदा पनि निकै खुसी लाग्दो रहेछ ।

खाडीबाट घर फर्कँदा पालिका चुनावको चहलपहल चलिसकेको थियो । वर्षौँपछि चुनावको चहलपहल र माहौल हेर्न पाउँदा मलाई निकै रमाइलो लाग्यो ।  चुनाव भनेको पार्टी भन्दा पनि कसले राम्रो गरेको छ र गर्छ भन्ने कुरामा मुल्याङकन गर्ने समय हो । 

तर परदेशमा लामो समय बिताएर आएकाले कसले हाम्रो लागि काम गर्छन् भन्ने कुरा छुट्टाउन चाहिँ गाह्रो हुने रहेछ । विदेशमा बस्दाबस्दै गाउँ ठाउँबाट सम्पर्क नै हराएको अनुभव भयो कति पटक ।

गाउँको अवस्थासँग घुलमिल हुन नै समय लाग्यो । तर भन्छन् नि आफ्नो भनेको आफ्नै हुन्छ ।

आफ्नो गाउँ ठाउँ र आफ्ना गाउँ ठाउँका मानिस जतिको प्यारो अरू केही नहुने रहेछ भन्ने अनुभव पनि भयो ।

चुनाव आउँछ, जान्छ । स्वाभाविक हो । यो प्रक्रिया नै हो । परदेशमा छदा भोट हाल्न पाइएन भनेर दुःख लाग्यो ।

पलपल आँखा सामाजिक सञ्जालतिर नै सोझिन्थ्यो । तर यसपालि त्यो छटपटी भएन । आफ्नै आँखाले हरेक कुरा देख्न र अनुभव गर्न पाइयो । 

उम्मेदवारको घोषणापछिको माहौल भने परिवर्तन हुने रहेछ । यस्तो माहौल परदेशमा बसेर कहाँ देख्न र भोग्न पाउनु । गाउँमा त चुनावको ठुलो उत्सव नै हुने रहेछ । उम्मेदवारहरू हरेकले आफ्नो पक्षमा गाउँका युवालाई पार्न खोज्ने रहेछन् । 

गाउँमा दोहोरो चलखेल हुने रहेछ । यस्तो हुँदा सही मानिस पछि पर्ने र पार्टी हाबी हुने सम्भावना बढ्दो रहेछ । यस्तो अवस्थामा उम्मेदवारहरूले  नकारात्मक कुरा छोडी आफ्ना एजेण्डा के हुन त भन्ने कुरा नागरिकलाई बुझाउँदा सहज हुन्थ्यो होला ।

तर यसको साटो एक पार्टीले अर्काको गल्ती देखाउने, विरोध गर्ने र होच्याउने गरिँदो रहेछ । पार्टी भन्दा पनि अहिलेको यो चुनावले त नागरिकको दुःख सुन्ने एउटा साथी खोजेको हो नि । त्यसो नहुँदा चाहिँ दुःख लाग्यो । 

यही एक आपसको खिचातानीले गर्दा नै हो ठुलो जनशक्तिले अर्काको देशमा पसिना बनाउन परेको छ । खाडी, मलेसिया होस् या युरोप हामी नेपाली अरूकै काम गर्न बाध्य छौँ । यदि देशमा पनि राजनीतिभन्दा विकासलाई प्राथमिकता दिने हो भने एउटा परदेशीले सधैँ तीतो अनुभव गर्नु पर्ने अवस्था रहँदैन थियो ।

मेरो अनुभवमा यसपालिको चुनावमा न परदेशीका समस्या सम्बोधन गरिएको छ, न त त्यहाँको अवस्थाको । यो कुराले भने कता कता घोचेको भने छ । यो अवस्था चिर्न अब राजनीतिमा युवा उम्मेदवार ल्याउनु बाहेक अरू विकल्प छैन ।

तर कतिपय ठाउँमा यो अवस्था पनि देखियो । तर उनीहरूले पनि परदेशीका मुद्दालाई जसरी उठाउन पर्ने हो त्यसरी उठाएका छैनन् । अहिले जसलाई हामीले चुन्दै छौँ उनीहरूमध्ये धेरैलाई परदेशीको पीडा नै थाहा छैन । किनकि उनीहरूका आफन्तले खाडी र मलेसियामा खट्न पर्दैन । 

परदेशीका समस्या साँच्चै सम्बोधन गर्ने मानिस अब राजनीतिमा आउन पर्छ । अनि आफ्ना लागि काम गर्ने मानिस चुन्ने अवसर परदेशीलाई पनि दिनुपर्छ ।

पहिलेको चुनावभन्दा अहिलेको चुनावमा केही फरक त छ। तर अनुहार बदलिए पनि अवस्था र व्यवस्था अझै उस्तै छ ।  

अन्तिम अपडेट: जेठ २४, २०७९

तपाईको प्रतिक्रिया