मतगणना छिटो सम्पन्न गर्न आयोगको निर्देशन, चुनावमा लापर्बाही गर्ने कर्मचारीको विवरण मागियो

 जेठ ४, २०७९ बुधबार १६:१२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – निर्वाचन आयोगले मतगणना कार्य प्रभावकारी र छिटो छरितो बनाउन सबै निकायसँग आग्रह गरेको छ । आयोगले आज बुधवार विज्ञप्ति निकालेर आधाभन्दा धेरै पालिकाको अन्तिम नतिजा आइसकेको र बाँकीको पनि धमाधम गणना भइरहेको भन्दै छिटो गणनामा सहयोग गर्न सबैसँग आग्रह गरेको हो । 

विद्यमान कानुनी व्यवस्थाअनुसार बहालवाला जनप्रतिनिधिको पदावधि यही जेठ ५ गतेसम्म रहेको र त्यसपछि स्थानीय सरकार जनप्रतिनिधिविहीन हुने अवस्थालाई मध्यनजर गरेर ५ गतेभित्र नै मतगणना सम्पन्न गरेर निर्वाचित जनप्रतिनिधिलाई कार्यभार सम्हाल्ने अवस्था निर्माण गर्न आयोगले निर्देशन दिएको छ । 

धेरै मतगणना गर्नुपर्ने महानगर र उपमहानगरपालिकामा बढीभन्दा बढी मतगणना टोली व्यवस्था गरी गणना सम्पन्न गर्नका लागि यसअघि नै आयोगबाट भएको निर्देशनलाई आयोगले स्मरण गराएको छ । यस्तै विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकाको हकमा मतदान सम्पन्न भएकै दिन मतपेटिकाहरू निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि गणना प्रारम्भ गरी बढीमा पाँच दिनभित्र मतगणना सम्पन्न गर्न—गराउन पनि आयोगले निर्देशन दिएको छ । 

मतगणना कार्यमा सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भइ मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्ने जस्ता समस्याहरू खडा गर्ने जस्ता कार्य नगर्न पनि आयोगले आग्रह गरेको छ । यस्तै आयोगले चुनावको क्रममा लापर्बाही गर्ने कर्मचारीको विवरण माग गरेको छ ।

मतपत्रमा दस्तखत नगरि मतदातालाई दिने, अर्धकट्टीसहित मतपत्र दिने, अर्धकट्टीमा दस्तखत नगराउने, फरक रङ्गको मसी प्रयोग गर्ने, मतदाताको सही विवरण तयार नगर्ने, गलत स्वस्तिक छाप दिने,  कम्प्युटरमा फरक विवरण प्रविष्ट गर्ने लगायतका गलत क्रियाकलाप गर्ने कर्मचारीको विवरण दिन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया