पाेखराका मेयरकाे निर्णय : पाेषण भत्तादेखि महानगर चिनाउने 'सिम्बाेल' बनाउन आह्वानसम्म

 जेठ १२, २०७९ बिहिबार १८:३२:२६ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले आज बिहीवार पद बहाली ग्रहण गर्दै तीन वटा निर्णय ग्रहण गर्नुभएकाे छ ।

आचार्यले न्यून आय भएका अभिभावकलाई बच्चाका लागि पोषण भत्ता दिने, पोखरा चिनाउने सिम्बोल अफ पोखरा बनाउन आह्वान गर्ने र पोखरालाई पर्यटकीय राजधानी बनाउन सरकारलाई अनुरोध गर्ने निर्णय गर्नुभएकाे हाे । 

वडा कार्यालयको सिफारिसको आधारमा पाेषण भत्ता दिने घाेषणा गर्दै मेयर आचार्यले भत्ता कति समयमा दिने, कति दिने भन्ने आउँदाे बजेटमा उल्लेख हुने बताउनुभयाे ।

यस्तै पोखरा चिनाउने सिम्बोल अफ पोखरा बनाउन आह्वान गर्दै उहाँले बजेटमा व्यवस्था गरेर उत्कृष्टलाई दुई लाख रुपैयाँ पुरस्कार दिइने उल्लेख गर्नुभयाे । यसका लागि एक महिनाको समय हुनेछ । पोखराको मौलिक पहिचान झल्कने ‘पोखरा स्मारक’ को थ्रीडी सहितको डिजाइन बनाइ प्रस्ताव प्रस्तुत गर्न उहाँले आह्वान गर्नुभयाे । 

पोखरालाई चिनाउने योजनाअन्तर्गत पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सङ्घ सरकारलाई लिखित आग्रह पठाउने मेयर आचार्यकाे भनाइ छ । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न नेपाल सरकारबाट निर्णय गराउन मन्त्रिपरिषद्समक्ष प्रस्ताव पठाउने उहाँकाे भनाइ छ । 

वैशाख ३० गते भएकाे पालिका चुनावमा नेकपा एमालेका कृष्णबहादुर थापालाई हराउँदै आचार्य मेयर निर्वाचित हुनुभएकाे थियाे ।

यस्तै उपमेयरमा विजयी एमालेकी मञ्जुदेवी गुरुङले अपाङ्गता भएका बालबालिकालाई शिक्षामा समान पहुँच स्थापित गर्ने कार्यक्रम सञ्चालन गर्ने, महिला हिंसाविरुद्ध पुरुषको ऐक्यबद्धताका लागि महिला पुरुष सम–सचेतना कार्यक्रमलाई निरन्तरता दिने निर्णय गर्नुभएकाे छ । 

यस अगाडि आजै पोखराका मेयर, उपमेयरसहित वडाध्यक्ष र सदस्यले शपथ ग्रहण गरे । मेयर आचार्यलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले शपथ गराउनुभएकाे थियाे । यस्तै उपमेयर, वडाध्यक्ष र सदस्यलाई मेयर आचार्यले शपथ ग्रहण गराउनुभयाे । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया