तराईका जिल्लामा गर्मी बढ्याे, स्वास्थ्यमा ध्यान दिन आग्रह

 जेठ १९, २०७९ बिहिबार ८:४२:२ | रासस
unn.prixa.net

कैलाली - एक हप्तायता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन् । 

हावा कम मात्रामा चल्ने र आकाश पनि सफा नभएका कारण आजभोलि अन्य समयभन्दा बढी गर्मी महसुस हुन थालेको छ । मनसुन सुरु भएपछि गर्मी कम हुँदै जाने मौसमविद् प्रतिभा मानन्धर बताउनुहुन्छ । 'अझै केही दिन गर्मी बढ्ने अनुमान गरिएको छ', उहाँले भन्नुभयो । 

कैलालीमा यस वर्ष सबैभन्दा बढी गर्मी गएकाे वैशाख १३ गते रेकर्ड भएको छ । त्यो दिन कैलालीको अधिकतम तापत्रलम  ४० दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो भने अहिले अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस हाराहारी छ । गर्मी बढ्ने सम्भावना अझै रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिङ्गल चौधरी बताउनुहुन्छ । 'अझै केही दिन तापक्रम बढ्छ', उहाँले भन्नुभयो । 

गर्मीको समयमा जाडोको तुलनामा शरीरलाई हानी पुर्याउने जीवाणु बढी सक्रीय हुने भएकाले विभिन्न रोगको सङ्क्रमण हुनसक्ने चिकित्सक बताउँछन् । टीकापुर अस्पतालका डा संवाद खरेल गर्मीका कारण धेरै समस्या देखिन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आवश्यक रहेको बताउनुहुन्छ । 'दिउँसो घाममा सकेसम्म नहिँडौँ, हिँड्नै परे पनि शरीरको सुरक्षा हुने खालका उपाय अपनाएर हिँडौँ, पानी पर्याप्त पिउने वा पानी बढी पाइने खानेकुरा बढी खानुपर्छ', उहाँले भन्नुभयो । लापरबाही गरे यो समयमा विभिन्न सरुवा रोग वा अन्य दीर्घरोगको जोखिम रहने उहाँको भनाइ छ । 

गर्मीमा वयस्क नागरिकभन्दा बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी स्याहार गर्नुपर्ने डा. खरेल बताउनुहुन्छ । 'यो समयमा अस्पतालमा बिरामी बढेका छन् । बिरामीमा बालबालिका र ज्येष्ठ नागरिक बढी छन्', उहाँले भन्नुभयो। 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया