सुन्दर हरिजन मृत्यु प्रकरण : कारागार प्रशासन र नियमनकारी निकायमाथि प्रश्न

 जेठ २४, २०७९ मंगलबार १९:९:४९ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – अर्कै व्यक्तिकाे सट्टामा रोल्पा कारागारमा सजाय भोगिरहेको अवस्थामा ज्यान गुमाएका नेपालगञ्ज २ का सुन्दर हरिजनको मृत्युको सम्बन्धमा अधिकारकर्मीहरूको संयुक्त टोलीले स्थलगत अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।

आज मङ्गलवार नेपालगञ्जमा प्रतिवेदन सार्वजनिक गर्दै टोलीले घटना अत्यन्त गम्भीर रहेको भन्दै कारागार प्रशासन र नियमनकारी निकायमाथि प्रश्न चिह्न खडा गरेकाे छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, उच्च अदालत बार नेपालगञ्ज, एडभोकेसी फोरम लगायतका सङ्घ संस्थाहरूले घटनाको स्थलगत अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

इन्सेक नेपालगञ्जका संयोजक भोला महतले कैदीपुर्जी एकले पाएको सजाय अर्कोले भाेग्ने गरी कैदीपुर्जी र व्यक्तिसमेत साटिएको घटनाले कारागार प्रशासनको गम्भीर लापर्बाही देखिएको पाइएको बताउनुभयो । घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीमाथि कानुनअनुसार आवश्यक कारबाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग प्रतिवेदनमा गरिएको उहाँकाे भनाइ छ ।  

नेपालगञ्ज कारागारमा रहेका हरिजनलाई रिहा हुने दुई महिनाअघि आफन्त रहेको र निवेदनकाे आधारमा पायक पर्ने ठाउँमा रोल्पा कारागार स्थानान्तरण गरिएको घटनाप्रति पनि अधिकारकर्मीहरूले आशङ्का व्यक्त गरेका छन् ।

जेठ ४ गते हरिजनको शव झुण्डिएको अवस्थामा रोल्पा कारागारमा फेला परेपछि हरिजनले सुर्खेत बराहतालका विजयवक्रम शाहको नाममा कैद भुक्तानी गरिरहेको पुष्टि भएको हो । शाह हातहतियार तथा खरखजाना मुद्दामा पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिबाना तोकिएका व्यक्ति हुन् भने हरिजन चोरी मुद्दामा पक्राउ परेका व्यक्ति हुन् ।

अनुसन्धानका क्रममा हरिजनको नाममा शाह छुटेको तर हरिजनले भने शाहको नाममा कैद भुक्तानी गरिरहेको पाइएको अधिकारकर्मीहरूले जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया