आज चार प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, प्रदेश-१ मा दिनभरि नै झरी

 असार १०, २०७९ शुक्रबार ७:१६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौसहित वाग्मती र प्रदेश-१ का धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ ।

वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ । वाग्मती, गण्डकी प्रदेशमा केही घण्टापछि पानी पर्न रोकिने र बेलुकीपख फेरि पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  

तर, प्रदेश-१ मा भने पानी रोकिने सम्भावना नरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश-१ मा आज दिनभरि नै झरी पर्ने अनुमान छ । आज वाग्मती र प्रदेश-१ सहित गण्डकी र लुम्बिनीका केही ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् भट्टराईले जानकारी दिनुभयो ।

यी प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने  भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । आज सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशमा मनसुनी प्रणाली सक्रिय हुन लागेको छ । यसकै कारण त्यहाँ आजभन्दा भोलि अझ धेरै पानी पर्ने मौसमविद्को भनाइ छ । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया