फलफूल किन्दा ११ महिनामा १६ अर्ब रुपैयाँ बाहिरियाे, ६६ लाख ४४ हजार किलाे मेवा आयाे

 असार १३, २०७९ सोमबार १५:९:० | रासस
unn.prixa.net

काठमाण्डाै – देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवाजति खाडीमा । तिनै युवाले पठाएको रेमिट्यान्सकाे पैसा खर्च गरेर विदेशबाट खाद्यान्नको आयात गर्नु परिरहेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ । 

भन्सार विभागले भर्खरै सार्वजनिक गरेको चालु आर्थिक वर्षकाे ११ महिनामा १६ अर्ब रुपैयाँ बढीको कृषि तथा फलफूल आयात भएको पाइएको छ । देशका दुई तिहाइभन्दा बढी नागरिक कृषिमा आश्रित रहेका र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा समेत फलफूलको आयातमा अर्बाैँ रुपैयाँ बाहिरिरहेको छ । 

चालु आवको पहिलो ११ महिनामा फलफूलको आयातका कारण १६ अर्ब २१ करोड रुपैयाँभन्दा धेरै रकम विदेशिएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । देशको आर्थिक क्षेत्रमा कृषिको योगदान उल्लेख्य रहे पनि अझै कुल कृषियोग्य जमिनमध्ये धेरै बाँझो छ । यस्ता कृषियोग्य भू–भागको थोरै मात्राको सही र व्यवस्थित उपयोग गर्नसके कृषिजन्य उपभोग्य वस्तुमा आत्मनिर्भर हुने अवस्था ल्याउन सकिन्छ । यस्ता उपभोग्य वस्तु आयात गरी अर्बाैँ रुपैयाँ विदेशिनबाट जोगिन सक्ने देखिएको छ । 

भन्सार विभागले चालु आवको जेठ मसान्तसम्मको आयात तथा निर्यातको अवस्थाबारेमा सार्वजनिक गरेको विवरणअनुसार देशले फलफूलका साथै दैनिक उपभोग्य वस्तुको आयातबाट अर्बौं रकम बाहिर पठाएको देखिन्छ भने नेपालमै उत्पादन गर्न सकिने कृषि उपजसमेत अत्यधिक आयात भइरहेको देखिन्छ । 
    
चालु आवको समीक्षा अवधिमा देशमा १६ अर्ब २१ करोड रुपैयाँभन्दा बढी रकम ताजा तथा सुकेका फलफूल आयातमा बाहिरिएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

६ अर्ब ६५ करोडको स्याउ आयात 

विभागका अनुसार चालु आवको जेठ मसान्तसम्म ६ अर्ब ६५ करोड ११ लाख ९९ हजार रुपैयाँ बराबरको आठ करोड १५ लाख ३८ हजार चार सय २६ किलो स्याउ आयात भएको छ । त्यसबाट सरकारले ६३ करोड ५८ लाख ७८ हजार बराबरको राजस्वसमेत सङ्कलन गरेको छ । 

स्याउ चीनबाट सबैभन्दा धेरै भित्रिएको तथ्याङ्कमा उल्लेख छ । चीनबाट मात्र पाँच अर्ब ४८ करोड ८० लाख १७ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट एक अर्ब १५ करोड ५९ लाख ८३ हजार, अमेरिकाबाट ४४ लाख १३ हजार, टर्कीबाट २६ लाख २५ हजार र गिनी बिसाउबाट एक लाख ६१ हजार रुपैयाँबराबरको स्याउ आयात भएको विवरणमा उल्लेख छ । 

दुई अर्ब बढीको अङ्गुर आयात

चालु आवको जेठ मसान्तसम्म दुई अर्ब १९ करोड ५३ लाख ३५ हजार रुपैयाँ बराबरको तीन करोड २१ लाख ३१ हजार सात सय ९२ किलो अङ्गुर आयात भएको देखिन्छ । त्यसबाट सरकारले ११ करोड ११ लाख ७४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाइएको छ । 

१ अर्ब ५७ करोडको केरा आयात 

नेपालले ११ महिनाको अवधिमा एक अर्ब ५७ करोड ४७ लाख ५३ हजार बराबरको केरा आयात गरेको छ । चालु आवको जेठ मसान्तसम्म ६ करोड २१ लाख ६३ हजार नाै सय ८८ किलो केरा आयात भएको छ । त्यसबाट सरकारले १९ करोड १२ लाख तीन हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

विभागको विवरणअनुसार सुन्तलाको आयात पनि उस्तै छ । ११ महिनाको अवधिमा मात्रै एक अर्ब २४ करोड ८६ लाख २१ हजार रुपैयाँ बराबरको दुई करोड २८ लाख चार हजार एक सय ७३ किलो सुन्तला आयात भएको छ । 

त्यस्तै जेठ मसान्तसम्म एक करोड चार लाख ८४ हजार एक सय एक किलो अनार आयात भएको छ । त्यसका लागि एक अर्ब नौ करोड तीन लाख ९८ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै खरबुजा एक करोड ९७ लाख ३९ हजार दुई सय ७७ किलो आयात भएको छ । खरबुजाको आयात मूल्य ५१ करोड ३१ लाख ९१ हजार रुपैयाँ बराबर छ । 

नेपालको हावापानी सुहाउँदो फलका रूपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार चालु आवको ११ महिनामा ६६ लाख ४४ हजार एक सय ६१ किलो मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य २३ करोड ४० लाख दुई हजार रुपैयाँ बराबर छ । 

यस अवधिमा २१ लाख ९४ हजार एक सय ९९ किलो नास्पाती १५ करोड आठ लाख ३९ हजार रुपैयाँ बराबरको आयात भएको छ भने २६ लाख ८५ हजार ६ सय ९१ किलो भुँइकटहर (ताजा र सुकेका) १२ करोड चार लाख ६२ हजार रुपैयाँको आयात भएको छ । अम्बा र आँप ७१ करोड ७५ लाख ९४ हजार रुपैयाँ बराबरको आयात भएको देखिन्छ । 

दुई लाख ४५ हजार आठ सय ६९ किलो एभोकाडो ६ करोड ९१ लाख रुपैयाँ बराबरको आयात भएको छ भने व्यावसायिक रूपमा देशमै खेती गरिने किबी ६ करोड २२ लाख ६९ हजार रुपैयाँ बराबरमा तीन लाख ३५ हजार पाँच सय ४७ किलो आयात भएको छ । चालु आवको समीक्षा अवधिमा नौ लाख ९१ हजार दुई सय २८ किलो लिची तीन करोड ८७ लाख ६६ हजार रुपैयाँमा आयात भएको छ । माथि आएकाबाहेक अन्य ताजा तथा सुकेका फलफूल करोडौँ रुपैयाँमा आयात भएको विभागले सार्वजनिक विवरणमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया