‘ए’ डिभिजन लिगमा आज हिमालयन शेर्पा र मछिन्द्र, संकटा र फ्रेन्ड्...
जेठ २४, २०८० बुधबार
चितवन – चितवन राष्ट्रिय निकुञ्जका १७ वटा गैँडा मारेपछि अदालतबाट १५ वर्ष कैद सजाय भोगेका बमबहादुर प्रजाले जेलबाट छुटेपछि थप चार वटा गैँडा मारेको पाइएको छ । जेलपछि छुटेपछि उनी फेरि गैँडा सिकार र खाग तस्करीमा संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको हो ।
प्रजा २०६० सालमा पक्राउ परेका थिए । १५ वर्ष कारावासको सजायपछि उनी २०७५ मा रिहा भएका थिए । त्यति बेला उनले १७ वटा गैँडा मारेको स्वीकार गरेका थिए । जेलबाट छुटेपछि पनि गैँडा मार्न सक्रिय प्रजालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गएकाे बिहीवार राति धादिङको मलेखुबाट पक्राउ गरेको छ ।
सीआईबी प्रमुख उत्तम सुवेदीले प्रजालाई पक्राउ गरी चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको जानकारी दिनुभयो । विसं २०७७ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीको टापुमा २०/२२ वर्षको माउ गैँडा र तीन वर्षको बच्चा मृत भेटिएको थियो । ती दुवै खाग झिकिएको अवस्थामा भेटिएका थिए ।
त्यसपछि चितवन राष्ट्रिय निकुञ्जले चलाएको 'स्वीप अप्रेशन' का क्रममा थप दुई गैँडा पनि खाग झिकिएको अवस्थामा मृत भेटिएका थिए । ती चार वटै गैँडाको सिकार प्रजाको योजनामा भएको अनुसन्धानबाट खुलेको बताइएको छ ।