माओवादी बैठकमा केन्द्रीय समितिका पदाधिकारी, स्थायी कमिटी गठन गर्नुपर्ने माग

 असार २०, २०७९ सोमबार १९:५४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) को आज साेमवारकाे बैठकमा केन्द्रीय समितिका पदाधिकारी, स्थायी कमिटी गठन गर्नुपर्ने माग उठेको छ । 

हिजाे आइतवारकाे केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि नेताहरूले आफ्ना भनाइ राखेका हुन् । आजकाे बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रया दिँदै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा केन्द्रीय समितिका पदाधिकारी, स्थायी कमिटी गठन गर्नुपर्ने माग उठेको बताउनुभयो । उहाँले बैठकमा आज ४१ जना नेताहरूले भाग लिएका र पालिका चुनावसम्बन्धी समीक्षा, पार्टी निर्माणका बारेमा कुरा उठेको जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयो, ‘हिजो बैठकमा अध्यक्षले राख्नुभएको संक्षिप्त राजनीतिक प्रतिवेदनबारे आज नेताहरूले आफ्नाे धारणा राख्नुभयाे । उहाँहरूले पालिका चुनावसम्बन्धी समीक्षा, पार्टी निर्माणका बारेमा अलि बढी केन्द्रित गरेर सबै विषयवस्तु राख्नुभयो । केन्द्रिय समितिको पदाधिकारी, स्थायी कमिटीको गठन गर्नुपर्छ भन्ने सुझाव राख्नुभयो ।’

प्रवक्ता महराले केन्द्रीय कमिटीको अर्को बैठक भाेलि मङ्गलवार बस्ने र बैठकमा अध्यक्षले प्रतिवेदनमाथि उठेका प्रश्नको स्पष्टीकरण दिने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया