हज्बाको बिहे...

 असार २५, २०७९ शनिबार १९:४१:४६ | सुषमा रिसाल सापकोटा
unn.prixa.net

सुन त ! हामी हनीमुन चाहिँ कहाँ जाने ? यताबाट प्रश्न ।

पोखरा जाने नि ? उताबाट उत्तर । 

ह्या र्याग नगर न । कमसेकम पनि मलेसिया नगइ त म मान्दिन है । भन्देकाे छु । कड्केको बोली गयो यताबाट । उताबाट के जवाफ आयो कुन्नी । 

यो संवाद भइरहेछ आउँदो महिना बिहे हुन लागेकी हज्बाकी नातिनी र उसको हुनेवाला दुलाहाबीच । नातिनी हज्बाकै मुखिञ्जेल दुलाहासँग इत्रिइत्री गफ गर्दैछे । के नातिनीले हज्बालाई हेपेकी हो ? मान्छे नगनेकी हो ? शङ्का उठ्न सक्छ । होइन, होइन, बिल्कुलै होइन । हज्बाको सम्मान गर्छे ऊ । उनैले छोराकी पहिलो सन्तान नातिनीलाई पुल्पुल्याएर यस्ती बनाएका हुन् । अहिले नातिनी हज्बालाई पुल्पुल्याउँछे । के खाने, के चाहिएको छ, के ल्याइदिऊँ भनेर सोधिरहन्छे । सञ्चो बिसञ्चोको विचार गर्छे । 

नातिनीले बोली फुट्दा हजुरबालाई ‘हज्बा’ भनी । उनले त्यसलाई सच्याएनन् बरु गद्गद् भए । त्यसपछिका सबै नातिनातिनाले उनलाई हज्बा भन्न थाले । छोराछोरीको बोलीमा लोली मिलाउँदै बुहारीले पनि ससुरालाई हज्बा भन्न थालिन् । हुँदा हुँदा अहिले त छोरोसमेत उनलाई हज्बा भन्छ ? 

हज्बाको घरमा तेस्रो पुस्ताको बिहे हुँदैछ । न कसैलाई लमी बनाउनुपर्यो, न केटी हेर्ने/देखाउने खेल रच्नुपर्यो । केटाकेटीले एकअर्कालाई मन पराएका रहेछन् । पढाइ सकेर काममा लागे, घरमा सल्लाह गरे र अब विवाह हुँदैछ । प्रेम र विवाह अब लज्जा नभएर रहर र गर्वको विषय भयो । सामाजिक मूल्यमान्यतामा आएको यो परिवर्तनले हज्बालाई आफ्नो विवाहको सम्झना गरायो ।   

आजभन्दा ७३ वर्षअघि । उनी १२ वर्षका भएपछि आमालाई बुहारी भित्र्याउने रहर जाग्यो । ‘छोरो यत्रो बडाँ भइसक्यो, हैन तपैैँलाई किन तातो नलाग्या हँ ?’ भनेर कचकच गर्न थालिन् । बालाई पनि तातो नलागेको कहाँ हो र ? मावल, इष्टमित्र, कुटुम्ब सबैलाई गुहारेका थिए । तर कुरो बनेको थिएन । 

दरखाने दिन साँझ मखमलीले माइतको आँगन टेक्दा यी हज्बा, ऊ बेला बाआमाका एक्ला सन्तान जयराम दङ्ग परे । दाजुलाई पनि बहिनीको न्यास्रो लागेको थियो । भाउजुले पनि एउटी नन्द, तीजमा नसम्झेकी हुन् र ? के गरून्, टाढाको कुरो । न खबर पठाउन सकेका थिए न लिन जान । अघिल्लो पटक आएको बेलामा दाइले ‘तीजाँ आएस् है नानी, खबर पठाउने कोही छैन,’ भनेका थिए । त्यही निम्ताले तीजमा माइत सम्झेर आएकी मखमलीले लामो सास फेरेर ‘कस्तो गाह्रो भयो’ भन्दै सुकुलको चौटो तानेर पिँढीमा थचक्क बसिन् । दाजु ‘आइपुगिस् बहिनी ?’ भनेर नजिकै बसे । भाउजुले ‘हातगोडा धुनूस् है नानी’ भनेर पानी दिइन् । फुपूलाई पानी हालिदिन अघि सरेको भदा जयरामको हातबाट ‘यति मै गरिहल्छु नि’, भन्दै लोटा लिएर हातगोडा धोइन् र ‘कत्रो बडाँ भएछ’ भन्दै स्नेहले उसको टाउको मुसारिन् । 

बिहे भएको १४ वर्षपछि बल्लबल्ल भएको दाइभाउजुको एक्लो सन्तानप्रति फुपु मखमलीको गहिरो प्रेम थियो । भदालाई पनि जेरीस्वारी पापा ल्याइदिने फुपुसँधै आइदिए हुन्थ्यो जस्तो लाग्थ्यो । रातो दाने कपडाको पोको काखीबाट झिकेर बिसाउँदै गर्दा नै फुपूले ल्याइदिने पापा सम्झेर भदाले घुटुक्क थुक निलिसकेका थिए । पोको खोलेर त्यसबाट सालको पातले बेरेर परालले बाँधेको सानो पोकोबाट झिकेर भदालाई जेरीस्वारी र हलुवास्वारी दिइन् । बाँकी पोकै भाउजुकाे हातमा राखिदिइन् । भदा चुलोनेरको आटमा बसेर कसैसँग नबोली पापा बुत्याएपछि मात्र त्यहाँबाट उठे । 

भात पाकिसकेको थियो । ‘नानीलाई भोक नि लाग्यो होला । ब्याँलो नगरौँ, खाइहालौँ । धन्ना सकेर दर पकाउन पर्छ,’ भनेर भाउजुले भात पस्किन् । रातो भातको स्पष्टीकरण ‘जिम्वालको नातिको बर्तुनमा भिख दिएको चामल, जति पखाले नि रातो जाँदैन’ भनेर दिइन् । नन्द आफैँ पनि पुरेत्नी भएकीले उनको घरमा पनि बेलाबखत यस्तो चामल पाक्थ्यो, त्यसैले केही बोलिनन् । सबैले खाएपछि भाउजुले छिटोछिटो भाँडाचुलो गरिन् र दर पकाउन थालिन् । दाइ गाईबस्तुलाई घाँसपराल हाली गोठको दैलो थुनेर आएर अगेना छेउको मूल ओछ्यानमा बसेर वार्तालापमा सहभागी भए । 

कुरैकुरामा भाउजुले छोराको विवाहको चाहना प्रकट गरिन् । दाजुले बहिनीलाई ‘भदाको बिहे गराउने जिम्मा तेरै भयो बैनी’ भने । माइतले भाउ दिएकोमा फुरुङ परेकी मखमलीले भदालाई हेरिन् । ख्याउटे ख्याउटे, तेजिलो, फुतिलो जयराम फुपुर आमालाई ‘बडाँ’ लागे पनि औसत उचाइका थिए । तर अझै बढ्ने उमेर थियो । घाँस, दाउरा, स्याउला, गोठाला गर्नमा आमालाई र जजमानी गर्नमा बालाई सधाउने भइसकेका थिए । यत्तिको केटालाई केटी मागिदिँदा गाल पर्दैन भनेर मनमनै गुन्दै मखमलीले ‘भैहाल्छ नि दाइ, म हेरौँला नि भाइलाई केटी’ भनेर कुरो टुङ्ग्याइन् । 

दर पाकेपछि बा र जयरामले बेलैमा खाएर सुते । नन्द भाउजु दर छोपछाप पारेर सुत्न गए । राति उठेर दुवैले भुँडी चर्कुञ्जेल दर खाए । ‘यति खाएपछि भोलिलाई गाह्रो हुँदैन’ भन्दै घिउ हालेर पकाएको एक बटुको मिस्रीको काँडा पिएर सुत्दा रात बित्न लागिसकेको थियो । बिहान उठेर घरधन्दा सकी नन्दभाउजु खोलामा गएर नुहाइधुवाइ गरेर निराहार, निर्जला व्रत बसे । साँझ दाइले घरैमा हरितालिका व्रतको पूजा गराइदिए । भेलिपल्ट ऋषि पञ्चमी, नुहाइधुवाइ, माटोगोबर गरेर पूजा सक्दा दिन ढल्किसकेको थियो ।  

अर्को दिन घर जाने चटारो गर्न लागेकी नन्दलाई भाउजुले हतारहतार भात तिहुन पकाएर खुवाइन् । सिरौँलाको चामल, सिलाम कोसेली दिइन् । चामलको पुवा पकाएर टपरीमा टमारेर ‘यो बाटामा खानू है नानी’ भनेर नन्दको हातमा हालिदिइन् । दाइले बहिनीलाई बाटाखर्च दिए । चेली माइतको स्नेहले गदगद भएर बिदा भइन् । चौतारोसम्म पुर्याउन गएका दाइले, ‘मैले भनेको कुरो खायस रखे है बैनी,’ भने । ‘तपैँ निस्फिक्री हुनुहाेस् दाई, म मिलाउँछु’ भनेर मखमली फर्केर हेर्दै हेर्दै ओरालो लागिन् । बाआमा चाँडै बितेर आफैँ हुर्काएर विवाहदान गरेकी बहिनीलाई दाइले पनि आँखाबाट ओझेल नहुञ्जेल स्नेहले हेरिरहे । 

मखमली घर पुग्दा साँझ परिसकेको थियो । खानपिन, घरधन्दा गरेर सुतिन् । थकाइले लोथ पारेको भए पनि निद्रा लागेन । मनमा कुरा खेल्न थाल्यो । भदासँग कस्को जोडी बाँधिदिने त ? आफ्नै भाञ्जी छिन् चित्तले खाएकी, तर के गर्नु ? सगोत्रीमा बिहादान चल्दैन । अनि सम्झनामा आइन् जेठाजुकी छोरी गोमा, सुधी, शान्त सोभानकी । दाँत अलि छ्वाँके छन् । उसो त उनको भदाका दाँत पनि त लामाछोटा, बाङ्गाटिङ्गा, बहिरभित्र भएका हेरिसक्नु छैनन् नि । तर छोरी दिनेले दाँत हैन धानको भकारी हेर्छ । उनको माइतमा छोरी भोकै मर्दिन भन्ने सबै जान्दछन् । यी जेठाजु ससुराकी अर्की गुँडतिरका भएकाले बाहिर राम्रै भए पनि मनमा कताकता तुस थियो । त्यसैले गोमाको विकल्प सोच्न थालिन् । देउकी पनि त छ नि, आफ्नै सासुतिरका देवरकी छोरी । बाँसको थानमा सारौँ कराएसरह हल्ला गर्ने भएर नाम देउकी भए पनि उसलाई सबैले गौँथली भन्थे । गोमाभन्दा उन्नाइस नै भए पनि साइनोले देउकीतिर मन गयो । यस्तै गम्दागम्दै निदाइछन् । 

बिहान गोठपानी सकेर भाततिहुनको तरखर गर्दा तेल नभेटेर मखमली पैचौँ माग्न भनेर करेसो जोडिएको देवरको घरमा गइन् । चिसो दाउरा ढुङ्ग्रोले फुइफुइ फुक्दै चुलोमा आगो सल्काउन लागेकी देउरानीसँग, ‘तेल पैँचो लेऊ न बैनी । दुई दिन माइत गकी, भुराले तिउनमा खोलै बगाएछन् कि क्या, थोपो भुटुन छैन । तोरी पेलेर ल्याएसी तिरौँला’ भनिन् । देउरानीले ‘हाम्राँ नि भुटन सिद्दित्यो । अस्ति साल्मीसँग दुई पाथीको कुरुवा (दुई पाथी तोरीको एक कुरुवा/दुई माना तेल) साटेकी’ भन्दै बटुकोमा तेल हालिदिइन् । 

‘उता सञ्चोबिसञ्चो के र'च त दिदी ?’ देउरानीले मखमलीको माइतको हालखबर सोधिन् । ‘सबै बेसै र'च ।’ भनेर यताउति हेदै ‘अनि बहिनी बाबु खै त ? भुरा पनि देख्दिन ?’ भनेर सोधिन् । ‘बाबु गाई दुन जानुभाछ,’ भनिन् । नजिकै आएर साउती गर्दै थपिन्, ‘अस्तीका दिनाँ गोमे पर सरी नि दिदी । १० पुगेर ११ मात्त लागी हेर्नोस् त । खत्री काइँलाकहाँ लुकाछन् । गौँथली साथी बस्न गएकी छ । गौँथली गोमेभन्दा दुई महिनाले मात्त कान्छी । मलाई ख्याल सुर्ता भैच । पर सरेसी छोरी बिकाउनै गाह्रो ।’

मखमली खङ्ग्रङ भइन् । अरू भए गुपचुप राखेर कामकुरो मिलाउन हुन्थ्यो, तर यहाँ उनको धनमाथिको लालगेडी भदाको कुरो छ ? कसरी जानी जानी नहुने गर्नु ? अब उनीसँग विकल्प बाँकी रहेन, कुरो अघि बढाइन् ‘सुर्ता किन लिन्छ्यौ बहिनी ? माग्न आएका भए दि'पठाए भइहाल्यो नि ।’ ‘माग्न त आइचन् दिदी, तर मनले खाएन । जानीजानी तीनतीनटी सासु भएको घराँ क्यारी दिनू ? ‘हेत्तेरी बहिनी मेरै भदा छ नि ।  मैले मागेँ ल गौँथली मेरो जयरामलाई । यत्तिको केटो हाताँ बत्ती लेर खोजे पनि भेटिन्न । छैन भन्नु केही छैन । इलममा लागिसक्यो । तिम्लाई था छँदै छ, मेरा दाइभाउजु आँखा राखे नि बिजाउनन्।’ 

देवरानी मनमनै गमिन्, ‘यिनको माइताँ एकमानाको बन्दोबस्त छ । टुहुरा दाजुबहिनीमा मायामोह पनि औधि छ । भाउजु कौवाबेते भए पनि जाती छिन् । नभए हाम्री जेठानी आमाबा नभएको माइत के को गैरन्तिन् ? जायजेथा पनि बाँढ्न नपर्ने, नन्नआमाजुको टोकसो नाइँ । कुरो जमौनुपर्च कि क्या ।’ प्रकटमा भनिन् ‘हो र दिदी ? यति गर्न पाए पाथी भात खाएसरह हुन्थ्यो ।’ 

देवर गोठबाट दूध लिएर निस्के । देवरानीले कुरो उठाइन्, देवरले चासो राखे । मखमलीले फुलबुट्टा भरेर बयान गरिन् । लमीको धर्म नै हो बढाइचढाइ कुरा गर्नु त्यसमाथि उनको सहोदर दाजुको छोरो । प्यारो भदा । एकमानाको बन्दोबस्त भएको, इलममा लागिसकेको रहरलाग्दो यत्तिको केटो उम्काउने मुर्खता किन गर्थे, गोमा परसरेको घटनाले झस्केका जो थिए । मखमलीको कुराको तुरुन्तै अनुमोदन भयो । केटातर्फबाट फुपुले वचन दिइन् । अनि १२ वर्षका जयराम र १० वर्षकी गौँथलीको बिहे हुने पक्कापक्की भयो । 

यस विषयमा मखमलीको घरसल्लाह पनि मिल्यो । अब माइतमा कसरी खबर गर्ने ? उनी पिरोल्लिन थालिन् । पितृपक्ष लाग्नुअघि नै छिनोफानो गर्नुपर्छ । लोग्नेतिर हेरिन् । उनले एकै वाक्यमा कुरो छिनिदिए, ‘मैँ जान्थेँ, धेरै भाथ्यो ससुराली नगएको । तर के गर्चेस्, सुब्दार्नीले माँलक्ष्मीको बर्त लिचिन्, दिन्कै पूजा गरौँन पर्च, १६ दिनाँ साङ्गे हुन्च । गोबिन्देलाई पठा बोरु । ‘एक्लै मावल गर औन सौचु’ भन्च । सौच होला ।’ मखमलीलाई कुरो जँच्यो । ‘तर त्यो उरण्ठेउलोले कुरो गर्न जान्दैन । दाइलाई यहीँ डाक्नु पर्ला । उहाँ आए केटी हेरेर कामकुरो पनि छिन्नहुन्थ्यो’, भन्ने सोचेर ‘जयरामका लागि केटी हेर्न, चित्त बुझे कामकुरो छिन्न भनेर मामालाई डाकेर लेरा’ भन्दै जेठो छोरो गोविन्दलाई दूत बनाएर माइत पठाइन् । 

नभन्दै गोविन्दले मामा लिएर आयो । ‘भाञ्जा हुर्केछन्, मामाघर आऊजाऊ गर्न सौचुन् अब’ भनेर मामा दङ्ग परे । दाइलाई बहिनीले दहीच्युरा खाजा खुवाइन् । दाजुले केटीबारे जिज्ञासा राख्दै ‘जन्ती दुई सय नाघ्छन् बैनी, सक्छन् पाल्न ?’ भनेर सोधे । देवरले छोरीको बिहे गर्न भनेर दुई वर्ष पुरानो तीन मुरी धान ढोक्सेमा राखेको गोप्य सूचना मखमलीले दाजुलाई चुहाइन् । उनी ढुक्क भए । केटी हेर्ने जरुरतै देखेनन् । बहिनीसँग भने, ‘तैँले भदालाई मागेकी केटी मैले के हेर्नु ? हातगोडा सद्दै होलान्, आँखा देखिहाल्ली, कान सुनिहाल्ली । भैगो नि । रूप भन्या त्यस्तै हो । भाग्याँ भे केटी राम्री नि पर्ली ।’ 

मखमलीले भनिन्, ‘अर्थोक त खोट लाउने कुरो केही छैन दाइ, छिटीछरित छ । अलि चिर्बिरे छे, नबोली बस्नै सक्दिन । माइताँ छँदा सबै त्यस्तै हुन् । घर गएसी आर्कै भैहाल्छन् नि । सबैलाई रिझाएर घर गरेर खान्छे भन्ने मेरो मनले खाको छ ।’ ‘ल बैनी उसो भे मेरो मनले नि खायो । कामकुरो छिनम् ।’ 

भोलिपल्ट ज्वाइँजेठान केटीको घर गएर औपचारिक तरिकाले केटी मागे । ‘आजदेखि मेरी छोरी ह्याँका छोरालाई सुम्पेँ । पाले पुण्य, मारे पाप । राम्रो लगन हेरेर लिन पाल्नुहोला,’ भनेर मखमलीका देवरले गहभरि आँसु पार्दै रातो अक्षताको टीका लगाइ बोहतामा हालेर दक्षणा टक्र्याएर छोरीको वाग्दान गरे । ज्वाइँजेठान दुवै पुरेत, लगन जुराउन जान्दथे । त्यहीँ बसेर लगन जुराए । मंसीर १६ गते जन्ती आउने,  रातिको लगन, भोलिपल्ट दुलही अन्माउने टुङ्गो भयो । जन्ती धेरै हुन्छन् भनेर बारम्बार दोहोर्याएकोमा केटीका बाबुले किञ्चित नखाइ, ‘जोरीपारीको मुखिञ्जी एक बटुको जन्ती पालेर त के छोरी अन्माइ भो र, सक्तो गरौँला’ भनेर निस्फिक्री पारिदिए । बहिनीको घरमा भात खाएर दाइ बाटो लागे । 

जयरामको विवाहको खबरले गाउँमा तरङ्ग ल्याइदियो । सगोत्री पर्ने बाहेक सबैका तीनचार पुस्तादेखिका पुरोहितको एउटा छोराको विवाह । गाउँमा धुन्नचक्रको खुसी छायो ।  

दिन बित्न कति बेर, मंसीर लागेपछि बिहे घरमा चटारो हुन थाल्यो । पहिलो पर्थामा दुलहीलाई हाल्ने लुगा, गहनाबारे बाआमाले सल्लाह गरे । नाकको डल्ले फुली, कानको कुण्डल त जयरामकी आमाले लगाउँदा लगाउँदै खिइसकेका आफ्ना गहना गालेर बनाएर राखेकी थिइन् । गलामा तिलहरी, बेरुवा औँठी र चाँदीको पाउजु किन्ने, शिरफूल र हातका चुरा चैँ जिम्वालकी बुहारीसँग मागेर लैजाने निधो भयो । थुकतेल गरेर छोराको विवाहलाई अलिअलि पैसा जोरेका हुनाले खर्चको चिन्ता थिएन । 

जयरामका बा एउटा साथी लिएर बिहेको किनमेल गर्न सहर गए । बाँडाको पसलबाट गहना किने । तै ऋण तै ऋण, बूढी बाख्री किन भनेझैँ जयरामकी आमालाई पनि गाँडे तिलहरी किनिदिए । चुरौटेलाई  तिलहरीमा पोते उन्न दिए । कपडा कोठीबाट साटनको बाहिरी सारी, जरीको चोलो, अरू दुई सारी, चोलो, दुईवटा गौनको फरियाचोलो गरी दुलहीलाई पाँचजोर लुगा, पछ्यौरा र पटुका किने । जयरामकी आमा र मखमलीलाई पनि एकएक जोर फरियाचोलो किनिदिए । जयरामलाई दौरासुरुवाल किने । सप्ताहमा गणेश बस्दा जजमानले दिएको कपडाको कमिजसुरुवाल सिउनुपर्ला भनेर आफूलाई किनेनन् । तीन तोला सिन्दूर, काँचका चुरा, पोते, टीका, लाली, फा, किरिम र धागा किने । गाजल घरैमा बनाउने कुरो थियो । सिँदूरे, दुहिता, लाजा भुट्ने कपडा, चिराफारा पहिल्यै किनिसकेका थिए । किनमेल सकिएपछि चिराफाराको रातो कपडामा बाँधी काँधमा भिरेर घरतिर लागे ।  

अब भने विवाह घरमा भ्याइनभ्याइ हुन थाल्यो । दुना, बोहता, टपरी गासेर डोकाडोकामा चाङ लगाएर बुहिगलमा राखेको हप्ता दिन भैसक्यो । आँगनमा एकतिर दमाई लुगा सिउँदै छ, अर्कातिर हाँडीमा घैया धान भुटेर ओखलमा चिउरा कुट्दै छन् । कोही मासको दालको छाँटा पार्दै छन्, कोही कसार बाट्ने चामल भुट्दै छन् । जयरामकी आमालाई कहिले उता जाऊ, कहिले यसो गर, कहिले यसो ले भन्छन्, झिकेर देऊ भ्याइनभ्याइ छ र पनि हर्खले फूलकाे थुँगोभन्दा हल्का भएर काम गरिरहेकी छन् । 

आज जयरामको विवाहको पूर्वाङ्ग । पुरोहितको मङ्गलाचरणसँगै चार जना सधवाले गणेश बाट्ने, बुकुवा भुट्ने बिस्कुन सुकाउने, दुई साना नानीले चोखिमाटी खन्ने गरेर साइत छोपे । दुलाहालाई राम्रा बनाउन भुटेको रायोको गेडा र हलेदो पिनेर बनाएको बुकुवा दलिदली जयरामलाई खड्कुलोमा राखेर नुहाइदिए । नान्यीमुखी र मातृका पूजा सकियो, जग्गे बन्दैछ । कोही कसार बाट्दै छन्, कोही सेलपुरी पकाउँदै छन् । दुईवटै चोलो फुकालेर काखीमुनिसम्म पटुका बाँधेर भात, दाल, तरकारी पकाउँदै छन् । मीठो हात भनेर कहलिएकी रामेश्वरी अचार पार्दै छिन् ।  

पूर्वाङ्गपछि फुकी खलकले त्यहीँ भात खाए । जयरामकी आमाले टपरीमा एक मुठी चिउरा, एउटा सेल, पुरी, कसार हालेर वरपर सबैलाई निम्तो पठाइन् । यसरी निम्तो नपाइ कोही जन्त जाँदैन । जन्ती धेरै भएनन् भने जोरीपारि, कुटुम्बको मुखिञ्जेल लाज हुन्छ । टाढाका इष्टमित्र, कुटुम्बलाई सिङ्गो सुपारीको निम्तो पठाइसकियो । कति आइ पनि सके । पञ्चै बाजा बजाउन बाली भरेको दमैलाई बैना मारिसकिएको छ । लोग्नेमान्छे त जन्त जान्छन्, घरमा बस्नेले रमाइलो गर्न परेन ? जयरामकी आमाले सबैलाई भनेकी छन् । रत्यौली खास्सा जम्छ । छोराको बिहेमा गरौँला भन्ने रहर केही बाँकी राखेनन् बाआमाले ।  

एक्लो भदाको बिहे मखमलीले भने हेर्न पाइनन् । देवरदेवरानीले ‘पहिलो बेबार, तपैँ नभए मेलोमेसो पाउन्नम् हामी । तपैँ जान पाउनुहुन्न,’ भनेर जिद्दी गरे । भदाको बिहेमा रत्यौली नाच्ने रहरै हुने भयो । भदाले दुलही लैजादा उनी पनि गए भैहाल्छ नि भनेर सबैले कर गरेपछि उनले नाइँ भन्न सकिनन् । 

सेलकसारको निम्तो आएपछि जन्त जान कर लाग्यो । एक जोर लुगा हुने निफिस्क्री थिए । सावगास हुनेले  यही मेसोमा लुगा हाले । जोसँग लुगा पनि थिएन र हाल्ने सावगास पनि थिएन ती बिलखबन्द परे । पुरेतको छोराको जन्त नजाऊँ कसरी ? अरू भए रिसाए रिसाऊन् भन्न हुन्थ्यो, पुरेत रिसाए कर्मकाण्ड रोकिन्छ । सरसापट, मागमुग गरेको लुगा लगाएर भए पनि गाउँ उल्टिएर जन्त जान कस्सियो । 

आज मंसीर १६ गते, जयरामको बिहे । घामको झुल्कोमा गाँस टिपेर सबै विवाह घरमा भेला हुन थाले । जाडोजाडो भैसकेकोले मागेरै भए पनि लगाएको राम्रो कमिल सुरुवालले भित्रपट्टीको पुरानो लुगा छोपछाप परे । उता भतेर खाँदा फेर्ने धोती टन्न पारेर पटुका कसे । त्यो फौजमा दुलाहाले समेत लगाउन नपाएको जुत्ता र कोट लगाएको लाहुरे कान्छो कौवाको हुलमा बकुल्लो बनेर घुम्दै थियो ।    

घामको झुल्कोमा अन्माउने भन्दाभन्दै एक बाँसमाथि घाम आइसकेको थियो । बाबु हलक्कै बढ्चन्, लुगा साँघुरो हुन्छ’ भनेर दमाईले ह्वार्लाङै पारेर सिइदिएको कमिचसुरुवालमाथि पटुका, रातो रङ्गाएको माउर गाँसेको फेटा सपक्क पारेर टाउकोमा बाँधेको दुलाहा जयराम दैलामा देखा पर्यो । उसै त कोप्चा, दुलाहा सिङ्गार्नेले लत्पत्याएर लगाइदिको गाजलले झन् कोप्चा देखिएका आँखा नचाउँदै लाजले मस्किरहेको छोरालाई हुरुक्कै भएर हेर्दे आमाले दही खुवाइन् । आँखामा कुमारीजस्तै कोस बनाएर गाजल लगाएकी खिनौरी कल्स्यौली (कलश बोक्ने) अघि लागि । उसको पछाडि लाग्यो भार (उखुको लाँक्रामा माछाको सिद्रा, पालुङ्गो हालेको पेरुङ्गो र दहीको ठेकी झुण्ड्याएको) बोकेको मकुन्दे । उसको पछि दुलाहा, दुलाहाका बा, ठूलाबा, कान्छाबा भएर तीनपल्ट जग्गे घुमे । 

दमाईको टोली गौँडामा उभिएर पञ्चेबाज घन्काइरहेको थियो । सानो भनए जन्त लगेनन् भनेर एउटा सिङ्गै कसारको गेडो अटाउने मुख बाएर रोइरहेको सावित्रीको सात वर्षे छोरो बाउकिस्ने नैरिते दमाईले गला फुलाइफुलाइ बजाएको सहनाइ रुनै छाडेर ट्वाँ परेर हेर्दैथ्यो । जग्गेनिर राखिएको उलिन्काठलाई तीन फन्का मारेर जिल्ल परेर उभिएको छोरालाई बाले पाखुरा समातेर उलिन्काठमा बसाए । डोलेले उलिन्काठ जुरुक्क उचाल्दा जयराम थचक्क पछिल्तिर अढेस लाग्न पुगे । अघिअघि दमाई, कल्स्यौली, भार बोकेको मकुन्दे गर्दै गौँडाबाट जन्ती निस्क्यो । आमाले जयरामलाई ‘ल बाबु बुहारी लिएर आएस्’ भन्दै बिदा दिइन् । ‘राम्ररी घर हेरेस्’ भन्दैै जयरामका बा छोराको पछि लागे । जन्ती पनि मिसिन थाले । जयरामकी आमाले देखुञ्जेल जन्ती हेरिरहिन् । हर्षका आँसु बगेछन्, फरियाको फेरले पुछ्दै घर आइन् । 

रित्ताखुकुला फटाफट हिँड्ने नै भए । बानी परेका डोले दुलाहा बोकेर लगभग कुदिरहेका थिए । गाह्रो त खिया लागेर कालै भैसकेको फलामे बाकसलाई रातो कपडाले मोरेर दुलहीलाई दिन हालेको लुगा बोक्ने सोमे र जन्ती बाख्रो डोर्याउने मङ्गलेलाई परेको थियो । सोमेले ज्याला पाइन्छ भनेर बाकस बोकेथ्यो भने मङ्गलेले मासुमासु खान दिउँला भनेको भरमा खसी डोर्याएथ्यो । खसीलाई मङ्गलेसँग गिज्जिन मन लागेर हो कि बेला बेलामा हिँड्न नमानेर ठिङ्रिङ उभिइदिन्थ्यो । आजित भएर उसले बुधेलाई एउटा सिङ्गै कान पोलेर खान दिने लोभ देखाएर खसी धपाउने असिष्टेण्टको जागिर दियो । सोमेले पछाडिबाट लघार्न थालेपछि खसीले पनि नहिँडी सुखै पाएन ।  

आधा बाटो कटेपछि भत्खरु पठाउनेको खोजी भयो । दुलहीको घरमा जन्तीभन्दा अघि पुगेर यति जन्ती आउँदैछन्, यतिखेर आइपुग्छन् भनेर खबर लैजाने भत्खरुलाई षोडषोपचारले स्वागत हुन्छ भन्ने सबैले जानेकाले यो काममा कोही अघि सर्दैन । शम्भे र बालकिस्ने त मरिगए मान्दैनन् । पोहोर मंसीरमा दिव्यराम काजीको ससुरालीमा भत्खरु भएर जाँदा कस्तो भएथ्यो ? बिर्सेका छन् उनीहरूले ? 

दुलहीको आँगनमा टेक्दै ‘स्वागतको उम्दा व्यवस्था छ’ भन्ने अनुमान लगाइसकेका थिए उनीहरूले । दुलहीका दाजुले ‘यता बसैँ न’ भनेर पिँढीमा राखेको चकटी देखाए । बस्नै पर्यो । जन्ती साँझ पर्नुभन्दा अघि आइपुग्छन् भन्दै थिए बसिरहेको चकटी भास्सिँदै गएर चिसोचिसो आयो । उठे । सुरुवाल भिजेछ । एउटाले आएर चकटी झिक्यो, अर्कोले हाँस्दै गोबर फाल्न थाल्यो । हे आपत् । गोबरको थास्कोमा कपडा मोरेर राखेको ठाउँमा बस्न दिएछन् । भत्खरु खिस्सिए, सबै मरिमरी हाँस्न थाले ।

‘पाहुनालाई खाजा खुवाओ’ भनेर दुलहीका दाजुले अह्राएपछि भित्रबाट सेल, पुरी, कसार, तीलको छोप हालेको पटरी आयो । नखाऊँ भोकले टट्टिएको छ, खाऊँ के छ के ? सेल चुँडाल्न खोजे, नालुको डोरी हालेर पकाएको सेल केको चुँडिन्थ्यो ? कसार टोक्न खोज्दा कड्याङ ढुङ्गो टोकियो । पुरीमा गोबरको गन्ध आयो । ‘भोकार आउनुभाछ, खाजा खानोस् न,’ भनेर उल्याउन खोज्नेलाई ‘हामी टन्न छौैँ, केही खान पर्दैन’ भनेर टारे । करुवाले पानी खान खोज्दा टुटीबाट होइन, मुखबाट ह्वाल्ल पानी आयो । अनि केही नबोली, केही नखाइ धुम्धुम्ती परेर बसिरहे । बाजा बजेको सुनेपछि बल्ल राहतको सास फेरेथे । 

‘जन्ती आयो, जन्ती आयो’ भनेर सबै हेर्न थाले । दुलही खलकले आँगनमा जन्ती पर्से, वरणी गरे । जयरामको नाम त्यो दिन जिल्लाराम राख्दे हुन्थ्यो । यति मानभाउ, कहिले पाएको थियो र बरा ? डोलेले उलिनकाठ बिसाउने बित्तिकै एक हुल मान्छेले उसलाई फूल, अबीर छर्कँदै तीन पल्ट घुमे । बाकै उमेरका मान्छेले हात समातेर डोर्याएर लगेर राम्रो पिर्कामा उभिन लगाए । बरणीको ठहरबाट के के झिकेर उसको पूजा गरे, हात थाप्नु भनेर केके, दिए । भोक लागेको बेलामा याँमानको नरिवल उचाल्न पनि उसलाई झर्को लागेथ्यो । तर उसले जे जे गर भन्छन् लजाई लजाई गरिदियो र त्यहाँबाट छुट्टी पायो ।  

मखमलीले ‘छोटा दिन,अहिल्यै साँझ पर्छ, भान्छा गरिहालौँ,’ भन्ने सन्देश ल्याउँदा भोकले आलसतालस परेको जन्तीमा उत्साहको सञ्चार भयो । ‘मेरा माइताट आउने जन्तीको मुखिञ्जी बिजेत नहोस्’ भन्ने मखमलीको उर्दीको मान राखेर राम्रो प्रबन्ध भएथ्यो । जन्तीलाई हातगोडा धुन दिइयो । बाहुनले पटुका बाँधेर ल्याएको धोती फेरे, क्षेत्रीले टोपी फुकाले, अरू दौराको फेरले हात पुछ्दै खाने ठाउँतिर हेर्न थाले । 

दुलहीको घरदेखि पश्चिममा कटेरो बारेर बेहुली भतेर पकाइएको थियो । ठूल्ठूला ढुङ्गाको चम्कामा बसालिएको बडेमाको खड्कुलोमा मगमग बास्ना आउने पुरानो चामलको भात र अर्काे खड्कुलोमा पिँडालु  हालेको लयालु देखिने मासको दाल छड्कँदै थियो । पाकेको भात सुकिलो ओड्नेमा खन्याइएको थियो । पाकेको फर्सीको तरकारी र रायोको साग पनि पाकिसकेको थियो । मुला कोरेको भुजुरीमा लप्सी मिसाएर तीलको छोप हालेर पीरो पारेर बनाएको अचार, लपक्क पर्ने गरी जमाएको एकराते दही, गाईको मगमग वास्ना आउने पहेँलो घिउ देखेपछि जन्तीको भोक झन् बढ्यो ।   

मखमलीले जन्तीलाई बारीको पाटामा लगेर लस्करै बस्न लगाइन् । त्यत्रा जन्तीलाई दिने बस्न्यौटो नभएकोले बारीको डिलमा टक्र्याक्क टुक्रु्क बसे । एउटा लक्का जवानले अम्खोरामा ल्याएको पानी छम्कँदै खाने ठाउँ च्योख्याएपछि अर्कोले सबैको अघिल्तिर एक/एकवटा टपरी राखदियो । धोती फेरेको बाजेले डालोमा हालेर ल्याएको भात आलमोनियमको थालले खम्कँदै टपरीमा गमगम पस्कन थाल्यो । झ्याइँकुटी पार्दै दालको खड्कुलो लिएर आएकामध्ये एकले ताप्केले उवाउँदै टपरीको चुली भातमाथि तात्तातो दाल खलल्ल खन्याउन थाल्यो । तरकारीसमेत नपर्खी दालभात गमगम मुछेर सप्र्याक सप्राक खाएको देखेर टपरीमा भात नआइपुगेकालाई भोकले ज्यानै लिन्छ कि क्या हो जस्तो लाग्न थायो । 

कहिलेदेखि गाँसेर राखेको सालको पातको टपरीमा प्वाल पर्नु कुन ठूलो कुरो भयो र ? त्यस्ता टपरीका पस्केको भातमा सल्ल हालेको दाल प्वालबाट चुहिएर बारीको माटाको डल्लो भिज्यो, भात भिजेन बुगुल्टै रह्यो ? दाल बाढ्ने कता पुगिसक्यो कता ? थप्न ल्याउन्जेल भात सेलाइसक्छ । तै फर्सीको तरकारी र सरोबरी रातो खुर्सानी पड्काएर पकाएको रायोको साग आइपुग्यो । त्यसैसँग मुछेर बुगुल्टो भात खाँदै थिए थप्ने भातदाल आइपुग्यो । भातले टपरीको प्वाल थुनेर दाल अड्ने बनाएर पनि भरपेट खाए । 

सिकुटे ज्यानको एउटाले कसैसँग नबोली भागभागमा कागतीको गेडोजत्रो घिउ हालिदिए । हेर्दै छुच्चीजस्ती लाग्ने एक वृद्धाले एक/एक पित्को अचार बाँढिन् । अचारभन्दा घिउ नै बढी थियो बरु । त्यसपछि आयो ठेकीमा जमाएको एकराते दही । जताततै धोती फेरेका बाजेहरूको चहलपहल, दौडादौड, कुदाकुद । कसैको टपरीमा एकपल्टको दालभात आइपुगेको छैन, कसैलाई थप्न परिसक्यो । खड्कुलोमा पाकेका भात ओड्नेमा खन्यायो, थप्न लग्यो । दाल खन्यायो फेरि थप्न लग्यो गर्दा पनि भ्याउन मुस्किल ।  

दुलाहा र सम्धीखाललाई पिँढीमा राखेर भतेर खुवाइयो । खानेकुरा त्यही भए पनि उनीहरूलाई पिर्कामा बसाएर चरेसको थालमा भाततरकारी, कचौरामा दाल हालेर दिइएको थियो भने पानी पिउन करुवा दिइएको थियो । खानेकुरा पाकेको छनक पाएर मुख गाड्ने दाउ खोजेर बसेका कुकुर धपाउने स्वयम् सेवा पनि गाउँलेले गरिरहेका थिए । 

एवं रीतले मखमलीले माइती खलकलाई तृप्त हुने गरी भतेर खुवाएर सन्तोषको सास फेरिन् । पेट भरिएका जन्तीमा आलस्य छायो । कोही चौरमा, कोही परालमाथि, कोही धुस्नुमा पल्टिए । मङ्गले एक रातलाई खसी बाँध्ने ठाउँ खोज्दै थियो । थकाइले चुर भएका डोले परालमाथि घुर्न थालिसकेका थिए । दुलही खलक कन्यादान दिने ठाउँ बनाउँदै थिए । गाउँलेले पनि बेहुली भतेर खाएर आफ्नो घरगोठको काम छिटोछिटो सकेर जन्तीसँग जमेर सिलोक हाल्ने, खाँडो जगाउने तारतम्य मिलाउँदै थिए ।  

यता हरेरामका लोग्नेस्वास्नीमा ठस्काठस्की चलिरहेको थियो । लोग्नेलाई रमरमिता निको नलाग्ने, जहान रौसे, रमिता भनेपछि हुरुक्क । बेलैमा घाँसस्याउला, पानीपँधेरो गरेर बिहे घरमा जाने तरखर गरेको देखेर लाग्नेको पारो चढ्यो । निहुँ खोज्न थाल्यो । भेट्टायो, निहुँ भेट्टायो । पानीको भाँडो रित्तो ? ‘तँलै पानी ल्यार राखम् भन्ने सुद्दी छैन हइ ?’ भनेर खुट्टा बजार्दै गएर पानी ल्यायो । अरू दिन यति सुनेकी स्वास्नी किन चुप लाग्दी हो ? आज केही भनिन । बिस्तारै लोग्नेसँग ‘म बिहे घराँ गैँ है’ भनेर सोधी । जवाफ नास्ती । अझै नरम भएर ‘किन नसुन्यास्तो गर्या ? म गइँ’ भनी । लोग्नेले झर्केर, ‘अन्मरिए भैगो नि, के सोच्चेस् मलै । मैले नजा भँर नजानी होस् र’ भन्यो । ‘कसैको नभा रिस । एकछिन गर के बिग्रन्च ? मुन नहुनी नगे भैगो, म त जान्चु ।’ ‘मुन्टी त मुन्टी । कल्ले रोक्या छ तँलै’ भने पनि उसको आसय स्वास्नी नजाओस् भन्ने थियो । ‘यिनी यस्तै हुन्, ह्वाँ कति रमैलो हुन्च’ भन्दै दैलो थुनेर विवाह घरतिर लागि । 

उता कमलका जोईपोइको फुरफुर कसले हेरिदेओस् ? बिहेको किनमेल गर्न साथी जाँदा रौसे कमलले आफ्नी जहानलाई फरिया, चोलो, पछ्यौरा, किरिम, पाउडर, लाली, फा, चुरा, टीका किनेर ल्याइदिएको थियो । नातिनातिना भैसकेकी माइलीलाई त्यो सब लगाउन लाज लागिरहेको थियो । त्यसमाथि किरिमको बिर्को खोल्न नजानेर कुन जात्रा । तर कमल मानेनन् । नयाँ फरियाचोलो फेर्न लगाए । किरिमको बिर्को खोलिदिएर किरिम, पाउडर, लाली, फा लगाएकी जोईलाई दङ्ग पर्दै कमलले बिहे घरमा लिएर गए । 

विवाह भएको ३२ वर्षमा तीन छोरी, दुई छोरा जन्माएर अधबैँसे उमेर भेटिसक्दा पनि त्यो जोडीको प्रेम फिट्टी घटेको थिएन । कमल माइलीका भक्त थिए, बातै पिच्छे माइलीको नाम लिन्थे । गाउँले ‘कसैकी नभकी माइली’ भनेर उल्याउँथे । महिला वर्ग ‘पोइको यस्तो पिरिम पौन पूर्व जन्माँ हीरामोति नै दान गरिच कि क्या माइलीले’ भनेर डाहा गर्थे । कसैले उडाउन कि डाहा गरून् कमललाई मतलब थिएन, उनी छन् कि उनकी माइली । छोराछोरी पाउँदा माइलीलाई बेथा लागेपछि कमलको हालत देख्नेले कहिल्यै बिर्सन्नन् । कान्छी छोरी जन्मँदा धाइले ‘यिनलाई साह्रै गाह्रो भयो, रहन्न कि क्या’ भनेको सुनेर कमल डाँको छाडेर रोएथे । सुत्केरीमा खूब स्याहार्थे, काम आफैँ भ्याएर आराम गर्न लगाउँथे । अरू बेलामा पनि कमलले सबै काम सघाइदिने भएकोले माइलीले फुर्सद पनि निकै पाउँथी । दुवै सक्दो ठाँटिएर गए । 

राति १० बजे कन्यादानको साइत थियो । गीत गाउने, नाच्ने, सिलोक हाल्ने, खाँडो जगाउने सबै ठाउँ छानेर बसिकसकेका थिए । लुगागहना लगाएकी दुलहीको जसै गोडा धुने काम थालियो, लाहुरेले म्यानबाट स्वाट्ट खड्ग झिकेर ‘श्री ३ प्रतापी महाराजामन्त्री सर जङ्गबहादुरके फौज के फौज ............कुइरेको टाउकामा ट्वाक’ भन्दै खाँडो जगाएको सबैले आँखा नझिम्क्याइ हेरे । जग्गेमा बिहे  चलिरह्यो भने उता दुलाहा र दुलही पक्षबीच ‘अमलाको बोटमुनी थन्क्याउ बरिलै’को भाकामा धुन्नचक्रको दोहोरी जम्यो । 

बिहानीपख जग्गेको काम सकियो । जाडो लाग्दै आएपछि ढिकीको कुनो, परालको कुन्यु, गोठ जहाँ ठाउँ पाए त्यहीँ पल्टेर आँखाको बिख मारे । तर कतिबेर सुत्नु र ? बिहान भैसकेको थियो, पेट हल्का गर्नु थियो, मुख धुनै पर्यो । त्यसैले खोलामा गएर नित्यकर्म पनि गर्ने जन्तीबाख्रो पनि पकाउने निधो भयो । खसी डोर्याउँदै मङ्गले अघि लाग्यो, दालचामल बोकेको बुधे पछि लाग्यो । नरेले टाउकोमा खड्कुलो ओड्यो, बिर्खेले टपरी बोक्यो । खोलामा गएर खसी काटे र एउटा सपेटो दुलहीको घरमा पठाइदिए । बाँकी काटकुट पारेर मारी खोर्सानीको धुलो हालेर सात धार्नी मासुमा एक मुरी पानी हालेर पकाएको पिरो मासुको झोल र भात खाएर जन्ती बाटो लागे । दुलाहा र सम्धीखाललाई दुलहीको घरमै रुन्चे भतेर खुवाइयो । दुलाहालाई भुँडेभाग भनेर दुई भाग ल्याएदिएकोमा जयरामले लाज मानेर दुवै भागबाट झिकेर खाएको थियो । 

खाने काम सकेपछि दुलही अन्माइदिए । मखमली आफैँ जाने भएकोले दुलहीसँग पठाउने लोकन्तीको आवश्यकता परेन । अघिल्लो दिनको ठीक विपरीत दिशामा तर उही पाराले जन्ती दुलाहाको घर पुग्यो । फरक थियो त जयराम हिँडेका थिए भने उलिनकाठमा दुलहीलाई बोकिएको थियो । खसी जन्तीले भुँडीमा बोकिसकेको हुनाले मङ्गले र बुधेले जागिरबाट अवकाश पाएका थिए ।  

यता दुलाहाको घरमा धुन्नचक्रको रत्यौली जम्यो । ‘दुलाहाकी आमाले नाच्न पर्छ है’ भन्दै जयरामकी आमालाई पनि नचाए । कोही लाहुरे बने, कोही के बने । कसैले मादल बजाए, कसैले गीत गाएर रमाइलो गरे । मध्याह्नमा दुलाहाकी आमाले एक डालो कसार पालीबाट गुडाइदिइन्, हारालुछ गरेर खाए । साँझ पर्न लागेपछि टाढा घर हुनेहरू गए, नजिकैका जन्ती नआउन्जेल रत्याैली खेलिरहे । 

जाडोको छोटो दिन, दुलही भित्र्याउँदा साँझ छिप्पिसकेको थियो । भाइटीका लगाएका दिदीबहिनीले दुलहीलाई ढोका छेके । सासुबुहारीले पाथीचुल्ठो जोरे । मझेरीमा बसेर नातागोताले खोटो पैसा दिँदै दुलहीको मुख हेरे । निधार अलि सानो, ओठ फर्केकी, रोगन रातो भनेर जसले जस्तो टिकाटिप्पणी गरे पनि सासुलाई बुहारी राम्रै लागिन् । दुलाहादुलहीलाई चुलो भएको ठाउँमा सुत्न दिने चलनअुसार लगाइदिएको ओछ्यानमा पल्टन नपाइ नाबालिग नवदम्पत्ति मस्त निदाए । 

अर्को दिन चतुर्थी । दुलाहाले जन्त जाँदा फेटामा सिउरेको माउर डल्लो, चेप्टो पारेर खड्कुलोमा लुकाएर  उनीहरूलाई माछा मार्न भनियो । दुवैले पानीबाट त्यही डल्लो, चेप्टो खोजे । सिलौटोको बच्चामा बेसार दलेर दुलाहाले पानी हालिदिने, दुलहीले पखाल्ने खेल पनि खेलाए । त्यसबीच बहुबतेर पाक्यो । चोलो फुकालेर काखीसम्म पटुका बेर्न लगाइ देउकीलाई भान्छा चढाएर भुँडेभाग भन्दै दुई भाग खाना दिइयो । उनले छोएको भातदाल फुकी खलकले खाएपछि उनको कर्ममात्र चलेन, कुलमा स्वीकार्य पनि भइन् । माइतीतिर नाता चुँडियो, यता गाँसियो । जुठोसुतक यतै चल्छ अब । उता त उनको मरनमा जुठोसम्म लाग्दैन । तर उनी यो सब जान्दिनन् । एकअर्काको जीवनमा धार्मिक, संस्कृतिक, सामाजिक र कानुनी बन्धनमा बाँधिएका यी दुईलाई आफ्नो सम्बन्धको आन्तर्य थाहा छैन । हेर्न, बोल्न पनि लजाउँथे । 

बिस्तारै सबै लाखापाखा लागे । पञ्चरात फर्काउन लिएर गएकी मखमली फर्केर आउँदा सँगै थिइनन् । एउटा भरियालाई कोसेली बोकाएर साथी पठाइएको थियो । अब घरमा रहे जम्मा चार प्राणी । पुरेतबाजेलाई जजमानी कामले फुर्सद हुँदैनथ्यो, आमालाई घरधन्दा ठीक्क । जयरामको घरगाउँ साथीसङ्गाती छँदै थिए, रमाइलै थियो । तर देउकीले धेरै थोक गुमाएकी थिइ । उता अलिअलि सघाए पुग्थ्यो, यहाँ काम तोकिएको छ । सासुले बुहारीको उमेरलाई ध्यानमा राखेर नै काम लगाएकी छन् तर उताजस्तो निस्फिक्री कहाँ पाउनु? आमाले पहिल्यै खान दिन्थिन्, यहाँ सबैभन्दा पछि पालो आउँछ । हुन त जयरामकी आमा आफैँसँग खान दिन्छिन् तर पनि के नपुगेजस्तो, के छुटेजस्तो हुन्थ्यो । नियास्रो लाग्थ्यो । एक्लै रुन्थिन् ।  

घरमा साह्रै थोरै मान्छे भएकोले आपसमा गाँसिनैपर्ने बाध्यता भयो । आवश्यकताले कुराकानी चल्यो । उमेरले मायाप्रीति गाँसियो, जोइपोइ चिनायो । १५ पुगेर १६ वर्ष लाग्दा नलाग्दै झन्डै मरेर जेठी छोरी जन्माइन् । दुईदुई वर्ष बिराएर सात सन्तान जन्मे पनि काखमा दुई छोरा र दुई छोरीमात्र रहे । पेट पुछा कान्छी जन्मँदा साह्रै लामो बेथा लाग्यो । झण्डै मरिथिन् । धन्न बाँचिन् । त्यसपछि आङ खस्यो । बल्ल बल्ल सुँडिनीले केजाती हालेर बचाइदिइ । 

जिम्वालका तीन छोरा काठमाण्डाैमा बसेर पढ्थे । तिनलाई भात पकाएर खुवाए जयरामलाई पढाइदिने हिसाबकिताब मिलाएर जिम्वालले काठमाण्डाै पठाइदिएको कारण ढिलै भए पनि जयरामको औपचारिक शिक्षाको ढोका खुल्यो । बेला बेलामा यसो घर आउन पाउँथे । दुःखजिलो गरेर पढ्दै थिए, एकै रातको बेथाले बाबु बिते । पुरेत बाजेको बिहानको खाना ठेगान नाइँ । खाए पनि चिल्लोचाल्लो, पेटको रोगी बने, बेपत्ता मुटु दुख्दा खाने सोडा फाँको मारेर पानीले निलेपछि साम्य हुन्थ्यो । त्यही बेथाले लग्यो । काजकिरिया सकेर जिल्ल परेका जयरामलाई आमा र दुलहीले घरव्यवहार धान्ने वचन दिएर पढ्न पठाए । 

जयरामले पढाइ सकेर जागिर खाउन्जेल चारै छोराछोरीलाई पढाउने बेला भइसकेको थियो । त्यसैले सबैलाई  काठमाण्डौ ल्याएर पढाउन थाले । उनी एक्लाले जागिर धानुन् कि घर, दुलहीलाई पनि ल्याउनै पर्यो ।  घरमा रहिन् फगत आमा । त्यसैले मिलेको बेचेर अलिकति अधियामा दिएर, अलिकति माया मारेर उताको टुङ्गो लगाए र आमालाई ल्याएर आफैँसँग राखे । 

रहँदाबस्दा आमा बितिन् । देउकीले छाडेर गएको पनि १० वर्ष भैसक्यो । आङ खस्दा सुँडिनीले राखिदिएको रिङमा समस्या आएछ, देउकीले थाहा पाइनन् । सहन गाह्रो भएपछि जचाउँदा क्यान्सर देखियो । सक्दो उपचार गरे । छोराछोरी, नातिनातिनाले दिनरात भनेनन् । तर उनी बाँचिनन् । जयराम एक्लिए । छन त सबै छन् तर आधा अङ्ग गुमेको आफूमा पूर्णता पाउन सकेनन् । यद्यपि सबैले उनलाई सम्मान गर्छन्, ध्यान राख्छन् तर मनको कुरो खोल्ने साथी छैन । यो रित्तोपन कसैले भर्न सक्दैनथ्यो । 

घरमा ठूली नातिनीको बिहेको रमझममा उनले आफ्नो बिहे सम्झे । अहिले कति सजिलो । न पकाउने चिन्ता, न जग्गेपातको पीरलो । पैसो भए सबै तयारी पाइन्छ भन्छन् र पनि सबै भ्याइनभ्याइमा छन् । गर्नुपर्ने पनि गरेका छन्, नपर्ने पनि गरेका छन् । उनी जिल्ल परेर हेर्छन् । बिहे भएको महिनौँसम्म उनको र देउकीको बोलचाल भएको थिएन । हेर्न पनि लाज लाग्थ्यो, यहाँ हुने वाला नातिनी ज्वाइँ एक दिन बिराएर आइपुग्छन् । एक पल्ट देवकीले ‘यति दाउरा चिरिदेऊ न’ भनेको सुनेर बुहारीलाई कडा बचन नगर्ने उनकी आमाले पनि ‘आफ्ना बाहुनलाई तिमी भन्ने तिम्रो सोमत यही हो दुलही’ भनेर कस्तरी हप्काइथिन् । अहिले नातिनी दुलाहालाई ‘तँ’ भन्न बेर मान्दिन । उनी विना जुत्ताको खुट्टा लिएर बिहे गर्न गएथे, आज दुलाहाको जुत्ता लुकाउने खेल बिहेको मुख्य विधिजस्तो ठान्छन् । यो परिवर्तनमा उनी जिल्ल पर्छन् तर समयको माग ठानेर चुप लाग्छन् । पहिलेको खोजेर आजलाई गुमाउने काम उनीबाट हुँदैन ।

सोच्दै थिए । हुने वाला नातिनी ज्वाइँ आएर उनको ओछ्यानमै बसे । आज बुबालाई होलबडी चेकअप गर्न लिन आएको भनेर उनको पाखुरा समाएर भर्याङ ओराले र गाडीको अगाडि सिटमा बसाले, सिटबेल्ट बाँधिदिए । ‘सजिलो छ बुबा ?’ भनेर सोधे । उनले ‘सजिलो छ’ भनेपछि गाडी चलाएर आफैँले काम गर्ने अस्पताल लगे । सबै जाँच गराए । डाक्टरलाई रिपोर्ट देखाए । केही औषधि थपघट गर्नु बाहेक खास समस्या देखिएन । उही रीतले घर ल्याए । घटबढ भएको औषधि चिनाइदिए । पार्केन्सनको एउटा औषधि अहिल्यै खानुपर्ने रहेछ । ‘खाली पेटमा खान हुन्न’ भनेर ड्रयरबाट बिष्कुट झिकेर खुवाए । 

‘उहिले ज्वाइँलाई कति मान्नुपर्थ्याे ? गोडैमा ढोग्नुपर्थ्याे । अहिले कान्छो छोराले लाडिएर बोलाएझैँ ‘बुबा आँ गरौँ त’ भन्दै एउटा हातमा पानीको गिलास र अर्को हातमा औषधि लिएर आत्मीयताका साथ उनलाई खुवाउन ठिक्क परेका नातिनी ज्वाइँलाई तृप्त नजरले हेर्दै हज्बाले सोचे, ‘केही गुमेको छ त केही पाइएको पनि त छ नि ।’ 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुषमा रिसाल सापकोटा

दुई दशकभन्दा बढी समयदेखि शिक्षण पेसामा आबद्ध सापकोटा ख्वप मावि भक्तपुरमा अध्यापनरत हुनुहुन्छ।

 

तपाईको प्रतिक्रिया