सुन्तला झरेको गुनासो सुन्दै पोखराका मेयर

 असार २८, २०७९ मंगलबार १९:४०:२९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले किसानकाे बारी र पाखोमै पुगेर उनीहरूका समस्याकाे बारेमा जानकारी लिनुभएकाे छ । मङ्गलवार बिहान महानगरको वडा नम्बर २१ का किसानको पाखोबारीमै पुगेर उहाँले उनीहरूका समस्याको बारेमा जानकारी लिनुभएकाे हाे । चुनावका बेलासमेत घरदैलोमा नटेकेका मेयर आचार्यलाई आफ्नो बगैँचा र आँगनमा भेट्दा पोखरा २१ का सुन्तला किसान खुसी देखिन्थे ।

आठ रोपनीभन्दा बढी जमिनमा सुन्तला खेती गर्नुभएका किसान रुद्धलाल सुवेदीले आफ्नो बगैँचामा असिना नपर्दा पनि सुन्तला झरेको भन्दै घरमै पुग्नुभएका मेयर आचार्यसँग गुनासाे गर्नुभयाे । ‘यसपालि असिना पनि झरेको छैन । तर किन हो मेयरसाप सुन्तला अत्यधिक झरेको छ । आज तपाईँलाई घरमै भेट्न पाइयो, यसको समाधान खोजिदिनुपर्ने भयो’, किसान सुवेदीले भन्नुभयाे । मेयर आचार्यले आफूसँगै पुगेका महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियालाई समस्याकाे समाधान के हुन सक्छ बताउन भनेसँगै कडरियाले तीन वटा अवस्थामा सुन्तला झर्न सक्ने जानकारी दिनुभयाे । 

उहाँका अनुसार सुरुमा सुन्तला फल्नेबित्तिकै बढ्न प्रतिस्पर्धा गर्ने हुँदा झर्छ । दोस्रो सुक्खाका कारण पनि सुन्तला झर्छ । जेठ महिनामा अधिक वर्षाका कारण पनि सुन्तला झर्छ तर जेठमा अधिक वर्षाले सुन्तला झर्नु सामान्य रहेको र यसबाट डराउन नपर्ने महाशाखा प्रमुख कडरियाले बताउनुभयाे । साउन लागेपछि पतेराका कारण सुन्तला झर्‍याे भने त्यो चिन्ताको विषय हुने उहाँले सुनाउनुभयाे । सुन्तला बँगैचा घुम्ने क्रममा स्थानीय किसानले सुन्तलाको फेद कुहिने, बोट मर्ने र सुन्तला झर्ने लगायतका समस्या राखेका थिए । त्यहाँका किसानले पानीको व्यवस्थापन हुन सके सुन्तला र अन्य फलफूल र तरकारीको उत्पादनसमेत बढ्ने र विस्तार हुने जानकारी गराएका थिए ।

कृषि महाशाखा प्रमुख कडरियाले समस्या समाधानकाे उपायबारे पनि बताउनुभएकाे थियाे । उहाँले मल्चिङ र यसको फाइदा लगायतका विषयमा मेयर, महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याल र किसानलाई जानकारी दिनुभएकाे थियाे । महानगरबाट प्रदान गरिएको अनुदान र त्यसको उपयोगका विषयमा पनि उहाँले बताउनुभयाे । 

मेयर आचार्यले पोखरा २१ मा ६० वर्षीय किसान ज्ञानबहादुर कार्कीले गरेको खर्बुजा खेतीको पनि अवलोकन गर्नुभयाे । किसान कार्कीले खर्बुजा खेतीमा व्यापक सम्भवाना रहेको तर पानीको स्रोत व्यवस्थापनमा समस्या रहेको जानकारी गराउनुभयाे । १४ वर्ष स्पेन बसेर चार वर्ष अगाडि नेपाल फर्किनुभएका कार्कीले अहिलेको सिजनमा तीन रोपनी क्षेत्रफलमा खर्बुजा लगाएर पाँच हजार किलो बेच्नुभयाे । अहिले बजारका व्यापारी आएर प्रतिकिलाे ७० रुपैयाँमा खर्बुजा लाने गरेकाे किसान कार्कीले सुनाउनुभयाे । 

मेयर आचार्य पोखरा २१ मा कृषक सम्मान र अनुदान वितरण गर्ने कार्यक्रमका लागि पुग्नुभएकाे थियाे । बिहान झन्डै ९ बजे सुरु हुने कार्यक्रमका क्रममा उहाँ त्यसको दुई घण्टा अगाडि नै जानकारी नै नदिइ किसानका पाखोबारीमा पुग्नुभएकाे हाे । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया