धादिङको रुवी भ्याली र गजुरी गाउँपालिकाका १२ स्वास्थ्य केन्द्र बन्द, बिरामीलाई सास्ती

 साउन ३, २०७९ मंगलबार ८:१३:४८ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङको गजुरी र रुवी भ्याली गाउँपालिकामा करारका स्वास्थ्यकर्मी हटेपछि स्वास्थ्यसेवा प्रभावित भएको छ । करारका स्वास्थ्यकर्मी मात्र भएको स्वास्थ्य चौकीमा सेवा प्रवाह रोकिएको हो ।

धादिङको रुवी भ्याली गाउँपालिकामा ८ स्वास्थ्यसंस्था असार २० गतेदेखि नै बन्द भएका छन् । खादिङ आधारभूत स्वास्थ्य सेवा केन्द्र, लाप्साङ्कर्पो आधारभूत स्वास्थ्य सेवा केन्द्र, कपुरगाउँ सामुदायिक स्वास्थ्य इकाई, तीनचेत सामुदायिक स्वास्थ्य इकाई, कुप्चेत   सामुदायिक स्वास्थ्य इकाई, नेवेर सामुदायिक स्वास्थ्य इकाई, सेर्तुङ हेल्थपोस्ट बन्द भएको छ ।

स्वास्थ्य संस्थाहरु बन्द हुँदा विकटको गाउँपालिका भएकाले बढी समस्या देखिएको छ । सुत्केरी गराउन आउनेदेखि स्वास्थ्य परीक्षण गरी औषधि लिन आउने बिरामीले समस्या भोगेका करार सेवाबाट हटेका अहेब निरबहादुर तामाङले बताउनुभयो ।

गाउँपालिकाले असार १६ गते सूचना प्रकाशित गरी हेल्थ असिस्टेन्ट ३ जना, अहेब ८ जना, अनमी ९ जना समेत गरी २९ जना स्वास्थ्यकर्मी माग गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुवकुमार राईले बताउनुभयो । गजुरी गाउँपालिकामा असार ३० गते २० जना स्वास्थ्य सेवाका स्वास्थ्यकर्मी करारमा माग गरिएको छ ।

गजुरी गाउँपालिकामा ५ ओटा स्वास्थ्य सेवा केन्द्रमा करारका कर्माचारी निकालिएपछि स्वास्थ्यकर्मीविहीन भएको छ । गजुरी गाउँपालिका वडा नम्बर २, ३, ४, ६ र ७ को आधारभूत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीविहीन भएको र पुरानालाई अर्को नआउँदासम्म ज्यालामा काम गर्न अनुरोध गरिएको गजुरी गाउँपालिका स्वास्थ्य शाखाका सुन्दर श्रेष्ठले बताउनुभयो ।

करारमा राखिएका सबै स्वास्थ्यकर्मी हटाउँदा ४ नम्बर वडा कार्यालय समेत स्वास्थ्यकर्मीविहीन भएको छ । स्वास्थ्य सेवामा असर परेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव सापकोटाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया