दाङमा सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती

 साउन ३, २०७९ मंगलबार १३:११:११ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा सामुदायिक वनकाे खाली जग्गामा कुरिलाे खेती गरिएकाे छ । सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध विपन्न समुदायको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले डिभिजन वन कार्यालय दाङले  कुरिलो खेती गर्न सुरु गरेकाे हाे । 

घोराही उपमहानगरपालिका वडा नं १८ अखबरेमा रहेको वसन्त हरियाली सामुदायिक वनकाे २ हेक्टर खाली जग्गामा ६ हजार २ सय कुरिलोको बेर्ना लगाइएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयाे । 

वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको ५ लाख रुपैयाँ र डिभिजन वन कार्यालयको थप २५ प्रतिशत लगानी तथा समूहका उपभोक्ताहरुको सहभागितामा ६ हजार २ सय कुरिलोकाे बेर्ना रोपिएको छ । अहिले लगाएको कुरिलोका बेर्नामध्ये २५ प्रतिशत मर्नसक्ने आँकडा अनुसार ४ हजार ५ सयभन्दा बढी बिरुवा हुर्कने  अनुमान कार्यालयको छ ।

प्रति १० वटा बोटबाट एक किलो कुरिलो सङ्कलन हुने र एउटा बोटबाट वर्षमा कम्तीमा तीन पटकसम्म उत्पादन लिन सकिने कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । कार्यालयका अनुसार कम्तीमा वार्षिक १ हजार ३ सय ५० किलो कुरिलो उत्पादन हुने र अहिलेकै बजार थोक मूल्य अनुसार प्रतिकिलो ५ सय रुपैयाँमा बिक्री हुँदा पनि वन समूहले वार्षिक ६ लाख ७५ हजार रुपैयाँ आम्दानी गर्न सक्ने डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।

कुरिलो खेतीका लागि वन समूहको प्रस्ताव अनुसार मन्त्रालय र डिभिजन वन कार्यालयले आर्थिक तथा प्राविधिक सहयोग गरेका हुन् । कुरिलोको संरक्षणका लागि करिब २ सय मिटर क्षेत्रमा तारबार पनि गरिएको छ ।

सामुदायिक वनका माध्यमबाट समुदायको जीविकोपार्जनमा सहयोग गर्ने लक्ष्यकासाथ यो वर्षदेखि कुरिलो खेतीको अभियान अगाडि बढाइएकाे सूचना अधिकारी केसीको भनाइ छ । वसन्त हरियाली वन समूहले चार वर्षदेखि श्रीखण्डका बिरुवा रोपेर बगैँचा बनाउन सुरु गरेको ठाउँमा कुरिलो खेती सुरु गरिएको हाे । 

श्रीखण्ड राेपेर बचेकाे बीचको खाली जग्गामा कुरिलो रोप्दा स्याहारसुसार हुन गइ श्रीखण्ड पनि हुर्कने र खाली भएको जमिनको उत्पादकत्व पनि बढ्ने अपेक्षा गरिएकाे छ। 

बोट बिरुवाको संरक्षणका लागि वन समूहले १२ हजार रुपैयाँ मासिक दिएर चौकीदारको व्यवस्था पनि गरेको छ । वन कार्यालयको प्राविधिक सहयोगमा आफूहरुले श्रीखण्डको बगैँचा र कुरिलोको खेती थालेको वन समूहका सचिव राममाया घर्तीमगरले बताउनुभयो । ५ सय ४० जना उपभोक्ता रहेका वसन्त हरियाली वन समूह २ सय ८८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया