नारायणी नदीमा अलपत्र ‘पानी जहाज’ : बाहिर बोराको टालो, भित्र माकुराकाे जालो

 साउन २०, २०७९ शुक्रबार ८:३४:६ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनको नारायणी नदीमा सञ्चालन गर्ने उद्देश्यले बनाइएको क्रुजसीप (सानो पानीजहाज) अलपत्र अवस्थामा पुगेको छ । दुई वर्ष अगाडि नै सञ्चालनमा आउन लागेको भनिएको पानी जहाज अहिले बेवारिसे जस्तै बनेको छ । नदी किनारमा डोरीले बाँधेर राखिएको जहाजका सिसा फुटेपछि बाहिर बोराको टालोले छेकिएको छ भने जहाजभित्र माकुराको जालो लागेको छ । 

सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण सुरुआत भएको थियो । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम सकिएको थियो । २०७६ साल फागुनदेखि अनलाइन टिकट बुकिङ्ग सुरु गर्ने बताइएको थियो । नदीमा परीक्षण सफल भएको जहाज नियमित सञ्चालनमा नआउँदै बेवारिसे बन्न पुगेको हो ।  

राइनो वाटर इन्टरटेनमेन्ट प्रालिमार्फत भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले जहाजको निर्माण गरेको थियो । क्रुजमा दुई इञ्जिन रहेका छन् । लामो समयदेखि इञ्जिन चलेको छैन । निर्माणका लागि १५ करोड रुपैयाँ हाराहारी खर्च भएको जनाइएको छ ।

पानी जहाज रहेको वरपर झाडीले ढाकेको छ । बनिरहेका भौतिक संरचनाहरु प्रायजसाे अपूरा छन् भने बनिसकेका संरचना बेवारिसे अवस्थामा रहेका छन् । एक जना सुरक्षा गार्डको निगरानी रहेको छ । ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी नदी छेउमा जहाज चल्ने तयारीसँगै वरपर होटलहरु खुल्ने क्रम पनि बढेको थियो । त्यसबेला भविष्य सुरक्षित देखेर जमिन किन्नेहरुको होडबाजी चलेको थियो । 

निर्माण सम्पन्न भइ परीक्षण समेत सफल भएको जहाज सञ्चालनमा आउन नसक्नुको कारण राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले औपचारिक रुपमा बताउन सकेको छैन । कोरोना कहरका कारण सञ्चालनमा ल्याउन नसकेको बताए पनि पछिल्लो समयमा अलपत्र पर्नुको कारण खुलाइएको छैन। 

राइनो वाटर इन्टरटेनमेन्ट प्रा.लिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले कोरोना कहरका कारण जहाज नदीमा सञ्चालनमा ल्याउन नसकेको बताउनुभएको थियो । कोरोनापछि सरकारले ठूला सार्वजानिक कार्यक्रम खुला गरेको एक महिनाभित्रमा नदीमा क्रुजलाई सञ्चालन गरिने जानकारी दिएको दुई वर्ष पुग्दा पनि जहाज सञ्चालनमा आएन। 

दुई तलामा बसेर नदीको सयर गर्दै रमणीय भ्रमण अवलोकन गर्न सकिने क्रुज हेर्दा दुरुस्तै पानीजहाज जस्तो देखिन्छ । भित्रै रेष्टुरेन्ट र साङ्गीतिक कार्यक्रमको स्टेज, सुटिङ गर्ने ठाउँ, बैठक बस्न सकिने हल, सेल्फी खिच्ने ठाउँ, चालकदल बस्ने ककपिट लगायत छ । जहाज भित्र रहेका  ती सबै संरचनामा धुलो र माकुराको जालो लागेको छ। 

निर्माणको क्रममा भएको कारोबारको भुक्तानी माग्न आउनेको भिड मात्र होइन भुक्तानी नपाएकाले आफ्ना सामानहरु धामधाम निकालेर लैजान थालेका छन् । कानुन बन्यो, संरचना तयार भयो, परीक्षण सफल भयो, जनशक्ति तयार रह्यो, टिकट खुला गर्ने जानकारी दिएपछि जहाज अलपत्र भएपछि सबैले चासाे देखाएका छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

1 Comments

  • जित

    Aug. 5, 2022, 10:37 a.m.

    बढी नै महत्वकांक्षी योजना पो भयो की?

  •  0 Reply

तपाईको प्रतिक्रिया