नवौँ राष्ट्रिय खेलकुद निर्धारित मितिमा नै हुन्छ : घिसिङ

 साउन २३, २०७९ सोमबार १८:२८:३१ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद निर्धारित मिति नै हुने बताउनुभएकाे छ । पोखरा रङ्गशालामा आज सोमवार आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव घिसिङले नवौँ खेलकुदको मिति बारम्बार परिर्वनत भए पनि यस पटक भने तोकिएकै मितिमा हुने बताउनुभयाे । 

उहाँले प्रदेश र प्रतिनिधि सभा चुनावकाे मिति घोषणा गरेसँगै नवौँ खेलकुद निर्धारित मितिमा नहुने शङ्का बढे पनि असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्मकै मितिमा हुने बताउनुभयाे । चुनावले प्रतियाेगितालाई र प्रतियोगिताले चुनावलाई कुनै अप्ठेरो नपार्ने उहाँकाे भनाइ छ । 

सदस्य सचिव घिसिङले प्रदेश तथा विभागीय टिमले भदौ १५ गतेसम्म खेलाडीको सङ्ख्या र २५ गतेसम्म नाम दर्ता गराइ सक्नुपर्ने बताउनुभयाे । प्रतियोगितामा दुई खेलको प्रदर्शनीसमेत हुनेछ । सात प्रदेशसहित तीन विभागीय टिम र एनआरएनए गरी ११ टिमले प्रतियोगितामा सहभागिता जनाउने उहाँले बताउनुभयाे । प्रत्येक टिमबाट तीन सय ३९ महिला र तीन सय ६९ पुरुष खेलाडीको कोटा निर्धारण गरिएको उहाँको भनाइ छ ।

प्रतियोगितामा ३६ खेलमा चार सय सात इभेन्ट समावेश गरिएको छ । पुरुषतर्फ दुई सय २० र महिलातर्फ एक सय ८७ इभेन्ट समावेश छन् । प्रत्येक इभेन्टमा चारभन्दा कम प्रतिस्पर्धी भएमा त्याे इभेन्ट सञ्चालन नगरिने सदस्य सचिव घिसिङले बताउनुभयाे । 

हरेक खेलमा स्वर्ण पदक जित्ने खेलाडीलाई २५ हजार र टिम इभेन्टमा स्वर्ण पदक जित्ने खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । खेलकुदमा राष्ट्रिय रेकर्ड भङ्ग गरी नयाँ रेकर्ड बनाउने खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने व्यवस्था यस पटकबाट गरेको उहाँले बताउनुभयाे । प्रतियोगिताको विजेता टोलीलाई १० लाख रुपैयाँको आकर्षक ट्रफी प्रदान गर्ने भन्दै अहिले ट्रफी निमार्णको काम भइरहेको घिसिङले बताउनुभयाे । 

प्रतियोगिताका खेल गण्डकी प्रदेशको सबै जिल्लामा हुनेछ । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले प्रत्येक जिल्लामा कम्तीमा एक खेल गर्ने गरी प्रस्ताव राष्ट्रिय खेलकुद परिषद्लाई प्रस्ताव पठाएको छ । राखेपले खेलमैदानको निरीक्षण गरी कहाँ कुन खेल गराउने भन्ने निर्णय गर्नेछ । गण्डकी प्रदेशमा ३९ वर्षपछि राष्ट्रिय खेलकुद हुन लागेको हो । यसअघि दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा भएको थियो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया