जनकपुरका अर्जुनकाे हत्या गरेकाे आराेपमा ५ जना पक्राउ

 साउन २६, २०७९ बिहिबार २०:१५:१४ | सुनिता महताे
unn.prixa.net

फाइल तस्बिर

महाेत्तरी – जनकपुरधाम ७ का माछा बजारका १८ वर्षीय अर्जुन साहको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गरेकाे छ । जिल्ला प्रहरी कार्यालय महाेत्तरी जलेश्वरमा आज बिहीवार भएकाे पत्रकार सम्मेलनमा उनीहरूलाई सार्वजनिक गरिएकाे हाे । 

पक्राउ पर्नेमा महोत्तरी लोहारपट्टी नगरपालिका ४ घर भइ जनकपुरधाम उपमहानगरपालिका ७ मा बस्ने वर्ष ३२ का जितकुमार यादव, त्यही ठाउँका २१ वर्षीय कृष्ण यादव, वर्ष २५ का सन्तोषकुमार सुडी, धनुषा औरही गाँउपालिका २ घर भइ क्षीरेश्वरनाथ नगरपालिका ३ महेन्द्रनगरमा बस्ने वर्ष २१ की प्रमिला महरा र त्यही ठाउँका वर्ष २७ का विगुल मुखिया छन् । पक्राउ पर्ने जितकुमार र कृष्ण दाजु–भाइ हुन् भने प्रमिला र विगुल श्रीमान्–श्रीमती हुन् । गएकाे साउन २१ गते महोत्तरीको लोहारपट्टीमा अर्जुनकाे शव भेटिएकाे थियाे । 

यस्ताे छ घटना

झन्डै एक वर्ष अगाडि प्रमिला, बिगुल र कृष्णले साहकाे घरबाट एक लाख रुपैयाँ नगद र सुनका गरगहना चाेरी गरेका थिए । त्यसकाे ६ महिनापछि अर्जुनकी आमाले प्रमिला र कृष्णलाई प्रहरी कार्यालयमा उजुरी गर्छु भनेपछि आपसी छलफल गरी त्याे रकम तिर्न प्रमिलाका श्रीमान् बिगुलले एक लाख १७ हजार र कृष्णले दुई लाख ४६ हजार रुपैयाँको तमसुक बनाएका थिए । तमसुक बनाएपछि उनीहरू सम्पर्कविहीन थिए ।

त्यसपछि फेरि अर्जुनकी आमाले उनीहरूलाई जनकपुरधाममै भेटेपछि तमसुक बमोजिमको पैसा नदिए प्रहरीमा उजुरी दिने डर देखाउनुभएकाे थियाे । त्यही रिसइबीका कारण कृष्णले अर्जुनकाे हत्या गरेमा ३० हजार रुपैयाँ दिने भनेर आफ्ना दाजु जितकुमार र सन्तोषलाई बताएका थिए । त्यही योजनाअनुसार साउन २० गते जितकुमारले अर्जुनलाई फोन गरी उनले चलाउँदै गरेकाे रिक्सा एक हजार रुपैयाँ भाडा दिइ रिजर्भ गरेर लोहारपट्टीको फूलबरिया गाउँ जाने भनी बाेलाएका थिए ।

अर्जुन पुगेपछि जितकुमार र सन्ताेषले लोहारपट्टी जाने भित्री सडक खण्डमा लगेर घाँटीमा गम्छाकाे पासो लगाएर रिक्साभित्रै हत्या गरेकाे बयान दिएका प्रहरीले बताएकाे छ । त्यसपछि अर्जुनको शवलाई सडकदेखि पश्चिमपट्टिको नहरमा फालेपछि उनीहरू दुवै जना त्यही रिक्सामा जनकपुर फर्किएका थिए । रिक्सा जितकुमारले चलाएका थिए । उनीहरू त्याे रिक्सा जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलकाे माँ जानकी सप्लायर्स प्रा. लि. बालुवा डिपो नजिकको सडकमा छोडी फरार भएका प्रहरीकाे अनुसन्धानमा खुलेकाे छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुनिता महताे

महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया