रुकुम पश्चिममा बाटोमै सुत्केरी भएकी महिला बेहोस, स्वास्थ्य अवस्था गम्भीर

 साउन २८, २०७९ शनिबार १२:४२:५२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिममा एक सुत्केरी महिलाको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।

त्रिवेणी गाउँपालिका-२, पानीगैराकी २७ वर्षीया करिश्मा पुनको अवस्था गम्भीर भएकाे हो । वर्षाका कारण आएको पहिराेले सडक बन्द भएपछि हिँडेरै स्वास्थ्य संस्था जानेक्रममा बाटोमै बच्चा जन्मिएपछि रक्तश्रावका कारण उहाँको स्वास्थ्य अवस्था गम्भीर भएकाे हाे । 

स्वास्थ्य संस्था पुर्याउनको लागि बिहान ६ बजे घरबाट निक्लिएकाे तर करिश्माले बाटोमै बच्चा जन्माउनु भएको उहाँकी सासुआमा कौशिला पुनले जानकारी दिनुभयो । करिश्मालाई हिजाे बेलुकादेखि नै सुत्केरी व्यथा लागेको थियो ।

‘गाउँमा बिरामी बोक्ने स्टेचर पनि पाइएन, दुई घण्टा हिँडेरमाथि गाउँ पुगेको बेला बच्चा जन्मियाे,’ कौशिलाले भन्नुभयो, ‘करिश्माकाे निरन्तर रगत बगिरहेको छ ।’ उहाँले करिश्मा बेहोस हुँदै होसमा आउँदै गरेको बताउनु भयाे । उहाँले स्थानीयहरुले स्टेचर खोजिरहेको तर स्वास्थ्य चौकीसम्म पुर्याउन मुश्किल भएको बताउनु भएकाे छ । 

रुघाँ सिमर्तु सडक खण्डमा आएको पहिरोको कारण दुई हप्तादेखि सडक अवरुद्ध भएकाे छ । याे सडक खण्ड खुलाउने प्रयास कहीँकतैबाट नहुँदा स्थानीयले सास्ती भाेगिरहेका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया