फोहर व्यवस्थापनमा थप चुनौती, धुनिबेसीका सत्तारुढ दलद्वारा फोहर फाल्न नदिने घोषणा

 साउन ३०, २०७९ सोमबार ६:३९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौको फोहर व्यवस्थापनमा थप चुनौती थपिएको छ । सडकमा थुप्रिएको फोहर हिजोदेखि उठाउन थालिए पनि थरीथरीका समस्या र ठाउँठाउँमा भएको अवरोधले फोहर बोकेका गाडी ल्यान्डफिल्ड साइट पुग्न सकेका छैनन् ।

काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बन्चरेडाँडामा एक्स्काभेटर नभइ फोहर फाल्न नसक्ने अवस्था रहेको र आज बिहान मात्र एक्स्काभेटर पुगेपछि फोहर विसर्जन थालिने बताउनुभयो । काठमाण्डौबाट फोहर लिएका गएका गाडी बीच बाटोमै रोकिएको बेला धादिङको धुनिबेसी नगरपालिकाका सत्तारुढ दलहरुले फोहर फाल्न नदिने घोषणा गरेपछि समस्या थप बल्झिएको छ ।

धुनिबेसी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केन्द्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य निकालेर बन्चरेडाँडामा फोहर फाल्न नदिने घोषणा गरेका हुन् । उनीहरूले स्थानीय बासिन्दाले उचित माग राख्दै विभिन्न समयमा गरेको आन्दोलनपछि काठमाण्डौ महानगरलगायत राज्यको विभिन्न अङ्गसँग पटकपटक गरेर अहिलेसम्म १ सय ७४ वटा सहमति भए पनि कार्यान्वयन नभएको जनाएका छन् ।

फोहर अव्यवस्थित तरिकाबाट फाल्दा स्थानीय बासिन्दाको जनजीवन अत्यन्तै कष्टकर बन्नुका साथै दीर्घरोगले पीडित बनाएको समेत उनीहरूको भनाइ छ ।

यस्तै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले फोहर व्यवस्थापनमा असहयोग भएको भन्दै असन्तुष्टि जनाउनु भएकाे छ । 

धुनिबेसीका सत्तारुढ तीन दलको विज्ञप्ति सामाजिक सञ्जालमा राख्दै उहाँले फोहरमाथि कुहिएको खेल खेलिएको टिप्पणी गर्नुभएको छ । उहाँले बन्चरेडाँडामा फोहर व्यवस्थापनका लागि कतिपय संरचना बनिसकेको जनाउँदै भूमि लिन तथा संरचना निर्माणमा र प्रभावितले पाउने सुविधा तथा मुआब्जाजस्ता काममा ५ अर्ब खर्च भइसकेको समेत उल्लेख गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया