दश वर्षमा तीन गुणाले बढ्यो गाडी दुर्घटना

 साउन ३०, २०७९ सोमबार १३:३८:१४ | रासस
unn.prixa.net

ग्राफ : रासस

काठमाण्डाै - रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेकाे तक्सेरामा शनिवार प्रहरी चढेको लु १ झ ६६० नम्बरको जीप सडकबाट झन्डै ८० मिटर तल खसेर दुर्घटनामा हुँदा एक प्रहरीको ज्यान गयाे भयो भने केही गम्भीर घाइते भए ।  

उनीहरुलाई सरकारले तत्कालै हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍यायो । भौगोलिक हिसाबले विकट क्षेत्रमा भएको त्यस दुर्घटनापछि तत्काल हेलिकप्टरबाट उद्धार नगरिएको भए अझै केही सुरक्षाकर्मीले ज्यान गुमाउन सक्थे ।

गएकाे असार २१ गते रामेछापको सुनापाती गाउँपालिका–५ मा रहेकाे लुभुघाटमा कच्ची सडकको ठूलो घुम्तीमा हिलेदेवीबाट काठमाण्डाै लागि छुटेकाे बा ३ ख ८३९६ नम्बरको यात्रुवाहक बस मोडिन नपाइ एक्कासी भिरबाट खस्दा १३ जनाले ज्यान गुमाए । त्यस दुर्घटनामा धेरै यात्रु गम्भीर घाइते भएका थिए । 

स्थानीयका अनुसार अघिल्लो दिनमात्रै सामान्य कसकास गरेर राखिएको बसको अवस्था राम्ररी जाँच नगराउँदा बस दुर्घटनामा परेको हो । प्रहरीले पनि गाडीको कमजोर अवस्थाका कारण ब्रेकले काम नगर्दा यात्रुले अकालमै ज्यान गुमाउन पुगेको प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नहुनु, गाडीको सङ्ख्या वृद्धि हुनुलगायतका कारणले दुर्घटना बर्सेनि बढिरहेका छन् । प्रहरीमा रहेको अभिलेख विश्लेषण गर्दा पनि दुर्घटना र ज्यान गएकाे तथा घाइतेको ग्राफ बढ्दो छ । पछिल्लो १० वर्षको तथ्याङ्क केलाउँदा गाडी दुर्घटना सङ्ख्या झण्डै तेब्बरले बढेको छ । दुर्घटनाबाट मानवीय क्षति (मानिसको मृत्यु) पनि निक्कै बढेको पाइएको छ । 

दश वर्षअघि (आव २०६८/६९) को तथ्याङ्कमा कुल ८ हजार ९२ दुर्घटना भएका थिए । त्यसमा १४ हजार २ सय ८७ गाडी परेका थिए । दुर्घटनामा १ हजार ८ सय ३७ को ज्यान गएकाे र ४ हजार १९ जना गम्भीर घाइते भएका थिए । ठिक त्यसको १० वर्षपछि आर्थिक वर्ष २०७८/७९ को अभिलेखानुसार गाडी दुर्घटना ह्वात्तै बढेर २४ हजार ५ सय ३८ पुग्यो । त्याे साल ३९ हजार ३ सय ७९ गाडी दुर्घटनामा परे । ती दुर्घटनाबाट कुल २ हजार ८ सय ८३ जनाको ज्यान गएकाे भयो भने ७ हजार २ सय ८२ यात्रु गम्भीर घाइते भएका छन् । 

दश वर्ष अघिको एक वर्ष र १० वर्षपछिको एक वर्षको तथ्याङ्क हेर्दा दुर्घटना सङ्ख्या १६ हजार ४ सय ४६ ले बढ्यो भने मानवीय क्षति १ हजार ४६ ले बढी देखियो । ती दुर्घटनामा संलग्न रहेका गाडी हेर्दा झण्डै आधा मोटरसाइकल परेको देखिएको छ । आर्थिक वर्ष २०७८/७९ का कुल ३९ हजार ३ सय ७९ गाडी दुर्घटना हुँदा मोटरसाइकल मात्रै १९ हजार ९ सय ७४ परेको प्रहरी प्रधान कार्यालयको विवरणमा उल्लेख छ । त्यसपछि दोस्रोमा जीप/कार ८ हजार ९ सय ७५, त्यसपछि बस २ हजार ७ सय ८६ र चौथोमा ट्रक/ट्याङ्कर २ हजार ४ सय ७६ दुर्घटना भएको अभिलेख छ । 

दुर्घटनामा परेका गाडीमध्ये आधा मोटरसाइकल छन् । त्यसकारण गाडीमा सबैभन्दा बढी जोखिम मोटरसाइकल र त्यसपछि जीप/कार रहेको विवरणले पुष्टि गर्छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह दुर्घटना न्यूनीकरण अभियानका बीच नै दुर्घटना बढ्दो क्रममा रहेको बताउनुहुन्छ । 

प्रहरी प्रधान कार्यालयले हालै गरेको तीन महिनाको तुलनात्मक अध्ययनले झन् बढी दुर्घटना बढेको देखाएको छ । गएकाे वर्ष र अहिलेको वैशाख, जेठ असार तीन महिनाको तुलनामा यसवर्ष त्यही अवधिमा ६३ दशमलव ४२ प्रतिशतले दुर्घटना बढेको छ भने मानिसको ज्यान जाने गुमाउने क्रम ३१ दशमलव ५९ प्रतिशतले वृद्धि भएको छ । याे तथ्याङ्कले गाडी दुर्घटनाको स्थिति भयावह हुँदै गएको प्रष्ट हुन्छ । 

२०७२ पछि ह्यात्तै बढ्यो दुर्घटना

प्राप्त विवरणमा २०७२ सालदेखि भने एक्कासी गाडी दुर्घटना र मानवीय क्षतिमा वृद्धि भएको तथ्याङ्कले देखाउँछ । २०७५ सालसम्म गाडी दुर्घटना सङ्ख्या ११ हजार नाघेको थिएन । त्यसपछि भने दुर्घटना ह्वात्तै बढेको छ । आव २०७६/७७ मा तथ्याङ्क हेर्दा अघिल्लो वर्षको तुलनामा पाँच हजार बढी दुर्घटना भएका छन् । त्यसपछि हरेक आर्थिक वर्ष पाँच हजारकै हाराहारीमा दुर्घटना सङ्ख्यामा वृद्धि भएर दश वर्षको अन्तरालमा तीन गुणाले बढेको पाइएको हो ।

दुर्घटनाको खास कारण के हो, कसरी न्यूनीकरण गर्ने ? 

यातायात विज्ञ आशिष गजुरेल नेपालका यातायात विश्वसनीय, आरामदायी र सुरक्षित नभएको दाबी गर्नुहुन्छ । 'सार्वजनिक गाडीमा यात्रु कोचाकोच गरेर राखिएको हुन्छ, कमजोर मेसिनरीको प्रयोग हुन्छ, राज्यको योगदान पनि कमजोर छ, नीजि क्षेत्रले चाहेका बेला निकाल्ने र थन्याउन सक्ने अवस्था छ, अनुगमनको संयन्त्र छैन', गजुरेलले भन्नुभयो,'त्यसकारण पनि नेपालको यातायात क्षेत्र सुरक्षाका दृष्टिले कमजोर छ ।' 

उहाँका अनुसार नेपालमा गाडीको सङ्ख्या धेरै छ । उहाँले भन्नुभयो,'सडकको क्षेत्र साँघुरो छ, त्यसले जाम र दुर्घटना पनि बढाउने गरेको छ, फुटपाथ राम्रो छैन, ज्येष्ठ नागरिक, बालिबालिका, अपाङ्गता भएका व्यक्तिमैत्री सडक पनि छैनन् ।'

सडक पूर्वाधार, गाडीको अवस्था, कानुन र त्यसको कार्यान्वयन, सडक प्रयोगकर्ताको अनुशासन, तत्काल उद्धार र राहतको अवस्था कस्तो छ भन्ने कुराले निर्धारण गर्ने तर नेपालको यातायात क्षेत्र त्यस्तो नहुँदा सुधार गरे मात्रै सुरक्षित सडक बन्न सक्ने उहाँ बताउनुहुन्छ ।
 
उहाँ नेपालको राजमार्ग सहरी क्षेत्रबाट लगिनु नै गलत भएको बताउनुहुन्छ । त्यसलाई सहरी सडक बनाएर राजमार्ग सहरभन्दा बाहिरबाट लैजानुपर्नेमा उहाँको जोड छ । ग्रामीण क्षेत्रमा डोजर इन्जिनियरिङ मात्रै रहेकाले जोखिम बढी छ । सडकमा रेलिङ मात्रै राम्ररी व्यवस्थापन गर्न सकिए धेरै दुर्घटना रोक्न सकिने गजुरेल सुनाउनुहुन्छ ।

दुर्घटना कम गराउन राज्यले कम्तीमा वर्षको दुई पटक गाडीको अवस्था प्रमाणित गर्न लगाउनुपर्ने र कडाइका साथ नियम पालना गराउनुपर्ने उहाँको सुझाव छ । 'हेल्मेट लगाउनु ट्राफिक प्रहरीका लागि हो भने जस्तो भएपछि कसरी दुर्घटना कम हुनु ?', उहाँले प्रश्न गर्नुभयो ।

यस्तो छ १० वर्षको दुर्घटना र मानवीय क्षति

आर्थिक वर्ष २०७८/७९ को दुर्घटना

आव २०७८/७९ मा कुल २४ हजार ५ सय ३८ दुर्घटना भए । ती दुर्घटनामा ३९ हजार ३ सय ७९ गाडी संलग्न रहे । ती दुर्घटनाबाट कुल २ हजार ८ सय ८३ जनाको ज्यान गएकाे थियाे भने ७ हजार २ सय ८२ जना गम्भीर घाइते भएका थिए । 

आर्थिक वर्ष २०७७/७८

यस आवमा कुल २० हजार ६ सय ४० दुर्घटनामा ३३ हजार ९ सय ३५ गाडी परेको पाइएको छ । ती दुर्घटनामा २ हजार ३ सयको ज्यान गएकाे थियाे भने ६ हजार ४ सय ४८ जना गम्भीर घाइते भएका थिए ।  

आर्थिक वर्ष २०७६/७७ 

यस आवमा कुल १५ हजार ५ सय ५९ दुर्घटना भए । त्यसमा २५ हजार ७ सय ८८ गाडी परेका छन् । दुर्घटनामा २ हजार २ सय ८१ को ज्यान गएकाे र ४ हजार ६ सय १५ जना गम्भीर घाइते भएका छन्।

आर्थिक वर्ष २०७५/७६

आव २०७५/७६ मा १० हजार ३ सय ६० गाडी दुर्घटना भएको तथ्याङ्क छ । त्यसमा २२ हजार ८७ गाडी परेका पाइएको छ । ती दुर्घटनामा २ हजार ७ सय ८९ जनाको ज्यान गएकाे छ । ४ हजार ३ सय ७६ गम्भीर घाइते भएका छन् ।

आर्थिक वर्ष २०७४/७५

यस आवमा कुल १० हजार ९ सय ६५ दुर्घटना भएका छन् । याे दुर्घटनामा १८ हजार ३४ गाडी परेका र कुल २ हजार ५ सय ४१ जनाको ज्यान गएकाे छ । अन्य ४ हजार १ सय ४१ जना गम्भीर घाइते भएका छन् ।

आर्थिक वर्ष २०७३/७४

यस आवमा कुल १० हजार १ सय ७८ दुर्घटना भएकामा १५ हजार ५ सय १५ गाडी संलग्न भएका छन् ।  दुर्घटनामा २ हजार ३ सय ८४ जनाकाे ज्यान गएकाे र ४ हजार २ सय ५० गम्भीर घाइते भएका छन् ।

आर्थिक वर्ष २०७२/७३

कुल १० हजार १३ दुर्घटना हुँदा त्यसमा १६ हजार ५ सय २ गाडी परेका छन् । ती दुर्घटनामा २ हजार ६ को ज्यान गएकाे छ भने ४ हजार १ सय ८२ जना गम्भीर घाइते भएका छन् । 

आर्थिक वर्ष २०७१/७२

कुल ९ हजार १ सय ४५ दुर्घटनामा १४ हजार ८ सय ३७ गाडीमा क्षति पुगेको थियाे । ती दुर्घटनामा २ हजार ४ को ज्यान गएकाे र ४ हजार ५४ जना गम्भीर घाइते भएका थिए।

आर्थिक वर्ष २०७०/७१

यस आवमा जम्मा ८ हजार ४ सय ६ दुर्घटना भएका थिए । त्यस दुर्घटनामा १३ हजार ५ सय २९ गाडी परेका थिए । दुर्घटनामा कुल १ हजार ७ सय ८७ जनाले ज्यान गुमाएका र ३ हजार ५ सय १६ गम्भीर घाइते भएका थिए ।

आर्थिक वर्ष २०६९/७०

यस आवमा जम्मा दुर्घटना ८ हजार ४ सय ८४ भएका छन् । त्यस दुर्घटनामा १३ हजार ५ सय ८२ गाडी संलग्न भएको पाइएको छ । दुर्घटनामा कुल १ हजार ८ सय १६ जनाको ज्यान गएकाे थियाे । ३ हजार ९ सय ८६ जना गम्भीर घाइते भएका थिए। 

आर्थिक वर्ष २०६८/६९

यस आवमा कुल ८ हजार ९२ दुर्घटना भएका थिए । त्यसमा  १४ हजार २ सय ८७ गाडी परेका छन् । दुर्घटनामा १ हजार ८ सय ३७ को ज्यान गएकाे थियाे भने ४ हजार १९ जना गम्भीर घाइते भएका थिए। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया