स्याङ्जाकाे वालिङमा रहेकाे ल्यान्डफिल साइटले 'मनोरञ्जन पार्क' काे रूप लिँदै

 भदौ १३, २०७९ सोमबार १३:४१:४९ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - फाेहर सङ्कलन गरी राख्ने ठाउँ भन्ने बित्तिकै अव्यवस्थित र  दुर्गन्धित ठाउँ होला भन्नेमा कुनै शङ्का रहँदैन । जो कोहीको मनमा पनि नराम्रो सोच आइहाल्छ अर्थात फाेहर वस्तुले भरिएको वा राखिएको ठाउँ भन्ने सहजै बुझिन्छ । यस्तो ठाउँलाई कसैले पनि सफा ठाउँ भनेर बुझ्दैन । तर वालिङ नगरपालिकाको सरसफाइ केन्द्र भने यसको अपवाद बनेको छ । 

नगर भित्रको फाेहर वस्तु सङ्कलन गरी व्यवस्थापन गरिँदै आएको यस केन्द्रमा भने तीजको अवसरमा नाचगान गर्ने, जन्मदिन पारेर केक काट्नेहरुको भिड नै लाग्ने गरेको छ । 

काठमाण्डौको फाेहर व्यवस्थापन गर्न नसकेर अस्तव्यस्त भइरहेको समाचार आइरहेका बेला वालिङले भने फाेहरलाई मोहरमा समेत बदली रहेको छ । भने सरसफाइ केन्द्र पनि व्यवस्थित र आकर्षक रहेको छ ।

तीजको अवसर पारेर नाचगान गरिरहेका वालिङ-१ तमु समाजकी सदस्य डिलमाया गुरुङ भन्नुहुन्छ, ‘हामीलाई निक्कै आनन्द आएको छ । फाेहर तथा दुर्गन्ध छैन हामीलाई त्यसको भान हामीलाई छैन ।’  पछिल्लो समय सरसफाइ केन्द्र पिकनिक खाने तथा विशेष समयमा कार्यक्रम गर्ने स्थल नै बनेको छ । अर्काेतर्फ घुम्न जाने एक गतिलो ठाउँ पनि बनेको छ । 

वालिङमा ल्याण्डफिल साइट प्रयोगमा छैन सङ्कलन भएका वस्तुहरु छुट्याउने गरिन्छ र बिक्रीवितरण गर्ने गरिन्छ । तत्कालीन मेयर दिलिपप्रताप खाण नेतृत्वमा गरिएको यो अनुकरणीय कामको कारण नागरिक यो केन्द्रमा रमाउन जाने गर्छन । 

सरसफाइ केन्द्र पछिल्लो समय सिकाइ केन्द्रका रूपमा समेत स्थापित हुँदै गएको छ । स्मार्ट सिटीको अवधारणा अनुरूप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले फाेहरमैलाको उचित व्यवस्थापन गरेर आम्दानीको स्रोतमा रुपान्तरण गरेसँगै देशका विभिन्न पालिका तथा फाेहरमैलाका क्षेत्रमा कार्य गर्ने विभिन्न सङ्घसंस्था अध्ययनका लागि आउने गरेका छन् ।

कतिपय ठाउँमा फाेहरमैला व्यवस्थित तरिकाले नछुट्याइने र जम्मा गर्ने मात्रै गर्दा डम्पिङ साइटका रूपमा रहने गरेकाले नजिकैको स्थानीय समुदाय विरोधमा उत्रिएर फाेहर फाल्न नदिने गरेको उदाहरण प्रशस्तै छन् तर वालिङमा भने यसको कुनै समस्या छैन । नगरपालिकाले फाेहरलाई आर्थिक स्रोतका रूपमा विकास गरेपछि यसबारे बुझ्न आउनेहरू बढ्दै गएका छन् । फाेहर मैला व्यवस्थापन चुनौतीका रूपमा देखिरहेका बेला त्यसको व्यवस्थापनबारे यहाँ आएर अध्ययन अवलोकनपछि आआफ्ना ठाउँमा कार्यान्वयन गर्ने सङ्घसंस्था धेरै छन् ।

‘फाेहरमैलाको व्यवस्थापनमा पुरस्कृत भइसकेको वालिङ नगरपालिकाको मोडलका बारेमा धेरैले खुलेर प्रशंसा गर्ने गरेका छन् । एक दिन कुहिने, एक दिन नकुहिने र महिनामा एक दिन सिसाजन्य फाेहर सङ्कलन गर्ने गरिएको छ । फाेहर वर्गीकरण गरेर व्यवस्थापन गर्न सकियो भने आम्दानीको स्रोत हुन्छ भन्ने उदाहरण वालिङमा देख्न सकिन्छ ।

फाेहरमैलाका क्षेत्रमा अन्य ठाउँमा निजी क्षेत्रसँगको साझेदारीमा काम भइरहेको तथा पछिल्लो समय नगरपालिका आफैँले व्यवस्थापन गर्दै आएको नगरपालिकाले जनाएको छ । कुहिने–नकुहिने सिसाजन्य फाेहर सबै एकैठाउँमा फालियो भने व्यवस्थापन नभइ फाेहर हुने र राम्रोसँग व्यवस्थापन गर्ने वा वर्गीकरण गरेर पुनः प्रयोग गर्न सकेमा आम्दानीको स्रोतका रूपमा रुपान्तरण हुने वालिङका पूर्व मेयर दीलिपप्रताप खाणको भनाइ छ । 

‘राम्रो व्यवस्थापनले फाेहर समस्या नभइ आर्थिक विकासको माध्यम हुन सक्छ', भन्ने यसअघिको अवस्थालाई थप प्रभावकारी बनाउने वर्तामान नगरका मेयर कृष्ण खाणले बताउनु भयो । उहाँले भन्नुभयो,‘नगरपालिकाको विशेष पहिचान रहेको यसको व्यवस्थापन गर्दै आम्दानीको स्रोत बढाउने हाम्रो योजना छ ।’

नगरपालिकाले निर्माण गरेको ‘वेस्ट रिसोर्स म्यानेजमेन्ट सेन्टर’ मा नै दिसाजन्य लेदो व्यवस्थापन प्लान्ट सञ्चालनमा ल्याइएको छ । दिसाजन्य लेदो व्यवस्थापन सहरी क्षेत्रमा चुनौतीका रूपमा देखा परिरहेका बेला वालिङमा त्यसको व्यवस्थापनका लागि कारखाना निर्माण गरी सञ्चालनमा ल्याइएको उपमेयर कविता तिवारी गैह्रेले जानकारी दिनुभयो । 

घरघरमा रहेका सेफ्टी ट्याङ्की भरिएपछि बाहिरी खुला ठाउँमा लगेर आफूखुशी फाल्ने गरेका कारण ढल, खोलानाला तथा पानीका स्रोत प्रदूषित भएकाले त्यसको उचित व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याइएको उपमेयर तिवारीको भनाइ छ। 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया