सुगम पालिकाको दुर्गम ठाउँ : चट्याङबाट घाइते भएको २४ घण्टापछि उपचार

 भदौ १६, २०७९ बिहिबार १०:३:२० | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ मा पर्छ गुरौँ गाउँ । जहाँ अहिले पनि बाटो, बिजुली, खानेपानी र आधार सेवा सुविधा केही पनि छैन ।  मंगलबार बेलुकी गुरौँ गाउँका १२ जना महिला, बालबालिकाहरु चट्याङमा परेपछि उपचारका लागि अस्पतालसम्म पुग्न गरेको संघर्ष निकै पीडादायी छ । 

तीजमा चेलीबेटी जम्मा भएर दिउँसो गाउँको सालडाँडामा पुगेर नाचगान गरेर बेलुकी फकिँदै गर्दा चट्याङले उनीहरुलाई चट्याङले लाग्यो । मंगलबार बेलुकी साढे पाँच बजेतिर लागेको चट्याङबाट दुई जनाको ज्यान गयो । अरु १०  जना घाइते भए । 

‘दिनभर नाचगान गरेर बेलुकी घर फर्किँदै थियो, पानी पनि परिरहेको थियो । बाटो साँघुरो भएकाले लाईन लागेर हिँडिरहेको बेला ठूलो आगोको झिल्को आयो, हामी ढल्यौँ,’ बेलकुमारी घर्तीले भन्नुभयो, ‘उठ्दा  सबै खत्तम  भईसकेको रहेछ । आगोको झिल्कोले दीपा र मनिषाका प्राण पखेरु उडिसकेका थिए, अरु भने बेहोस भएर यत्तिकै ढलेका थिए, बलबुताले जे जति सकेँ, तुरुन्तै उठाउने कोशिस गरें ।’  

बेलकुमारी सामान्य घाइते मात्रै हुनुहुन्छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा छोरीसँगै भेटिनुभएकी उहाँ अरुभन्दा टाठो हुनुहुन्छ ।  लस्करै हिँडेका छोरी चेलीलाई ढलेको देखेपछि उहाँले अर्धचेत अवस्थामै उद्धार गर्नुभयो । झरीमा उद्धार गर्दा उहाँले सबै अचेत भएकाहरुलाई ओत लगाउनुभयो ।  तर, दीपा र मनिषालाई बचाउन सक्नुभएन । उहाँकी छोरीलाई भने चट्याङले अचेत बनायो  । 

प्रतिष्ठानको आकस्मिक कक्षको बेड नम्बर २३ मा यमकुमारी शाह उपचाररत भेटिनुभयो । चट्याङले  हान्दा उहाँकी १९ वर्षीया छोरी मनिषाको घटना स्थलमै ज्यान गयो ।

‘नाचगान र रमाईलो गर्ने भनेर सालडाँडाको मुनि नयाँ बस्तीमा दिउँसो गएका थियौँ, ठूलो पानी पर्न थालेपछि साँझ घर फर्किने बेलामा  अचानक  घटना भयो, हामी सबै ढल्यौँ, होस आउँदा नजिकै रहेकी छोरी जलेर प्राण त्यागिसकेकी थिईन्,’ यमकुमारीले त्यो कहालीलाग्दो क्षण सम्झनुभयो ।  

घटनाको २४ घण्टापछि मात्रै उद्धार

चट्याङका कारण घाइते भएकाहरुले २४ घण्टापछि मात्रै उपचार पाए । ‘हामीलाई सबैले ठगेको छ, के गर्नु पहिलेबाट यहीँ बसियो, तर हाम्रा दिन कति दुःखका साथ बितेको छ हामीलाई मात्रै थाहा छ,’ बेलकुमारीले भन्नुभयो, ‘अरुको दुःख सामाजिक सञ्जालमा हेरेका हामी आज त्यसरी नै दुखका पात्र हुन बाध्य भएका छौँ ।’   घटना भएपछि अत्तालिएका गुरौँबासी रातभर सुत्न सकेनन् । घाइतेहरुलाई उपचारका लागि अस्पतालसम्म पुर्याउन  पनि सकेन । बाटो र सञ्चार सम्पर्क नभएका कारण उनीहरुलाई अप्ठ्यारो भयो ।

कक्षा ५ सम्मको आभारभूत विद्यालय रहेको गुरौँका बालबालिका थप पढाईका लागि कि त हापुर झर्नुपर्छ कि त रोल्पा लाग्नुपर्छ । घटनामा घाइते भएका किशोरीहरुमध्ये धेरै रोल्पाको डुब्रिङमा रहेको श्री नेपाल राष्ट्रिय माविमा कक्षा ८, ९ र १० मा पढ्ने विद्यार्थी हुन् । 

उनीहरुलाई विद्यालय पुग्न दैनिक ३ घण्टाको पैदल यात्रा गर्नुपर्छ ।  हिजोआज गुरौँ पुग्नका लागि ज्यामिरे र गुरौं खोला तरेर  जानुपर्ने अवस्था रहेको स्थानीय रेगबहादुर शाहले भन्नुभयो । ‘के  गर्नु हामीले त जसोतसो दुःख काटेर जुनी पार गर्न लाग्यौं, अबका कलिला मुनालाई केही सुविधा दिन पाए  हुन्थ्यो भन्ने लागेको छ,’ रेगबहादुरले भन्नुभयो, ‘हामीले भन्छौँ तर सुनुवाई हुँदैन ।’ स्थानीय सरकारले अघिल्लो वर्ष त्यहाँका नागरिकलाई लालपूर्जा दिन भनेर जग्गा नापजाँचको काम पनि गर्‍यो । तर केही ठाउँमा राष्ट्रिय वन क्षेत्र पर्ने भन्दै अवरोध भएपछि काम रोकिएको छ  । 

हिउँदमा जसोतसो पुग्ने मोटरबाटो बनाए वर्षायाममा भत्किने गर्छ । योपटक पालिका स्तरबाट पनि त्यहाँको भौतिक विकासका लागि बजेट परेको छैन । वडाअध्यक्ष द्रोर्ण बहकरीले आफ्नो वडाको पीडा देखेर निकै दुखित भएको बताउनुभयो । यसका लागि नगर कार्यपालिकामा विशेष पहल गरेर दुर्गमका नागरिकको आधारभूत सेवाका लागि पहल गर्ने वचन दिनुभएको छ । 

‘केही काम पर्‍यो भने त्यहाँ फोन लाग्दैन, बत्ती पनि छैन, खानेपानीको समस्या पनि उस्तै छ’ उहाँले भन्नुभयो, अब जसरी हुन्छ गुरौँका लागि केही गरेरै छाड्नेछु’ वडाअध्यक्ष बहकरीले भन्नुभयो, ‘जनताका लागि काम  गर्न आएको हुँ, म कुनै पनि हालतमा पछि हट्दिनँ ।’ 

चट्याङबाट घाइते  भएका सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।  उनीहरुको सबै खर्च घोराही उपमहानगरले व्यहोर्ने भएको छ । घाइतेहरु मानसिक र भौतिक  रुपमा बढी प्रताडित भएकाले स्वास्थ्य  उपचारसँगै परामर्शका काम भईरहेको उपचारमा संलग्न डाक्टरहरुको भनाई छ । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया