रोमानिया जाने श्रमिकको भिसा प्रक्रियामा सहजीकरण गर्न रोमानिया मिसनको स्थापना

 भदौ १६, २०७९ बिहिबार १६:५९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ रोजगारीका लागि रोमानिया जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने अब आवश्यक प्रक्रिया गर्न भारतसम्म धाउन नपर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया जाने श्रमिकको सहजताका लागि श्रम तथा रोजगार कार्यालय ताहाचलमा अस्थायी रोमानियन मिसन स्थापना गरेको छ । रोजगारीका लागि रोमानिया जाने श्रमिकको आवश्यक भिसा प्रक्रियालाई सरल, सहज र पहुँच योग्य बनाउन मन्त्रालयले ताहाचलमा अस्थायी रोमानियन मिसन स्थापना गरेको हो ।

यसअघि रोमानिया जाने नेपालीहरूले रोजगारीको अवसर पाएपछि भिसाको लागि आवेदन दिन भारतमा रहेको रोमानिया दूतावासमा जानु पर्ने बाध्यता रहेको थियो ।  नेपालबाट पटक पटक भारत धाउँदा समय र खर्च दुवै लाग्थ्यो ।

यही समस्यालाई सम्बोधन गर्न सम्बद्ध निकायको समन्वयमा नेपाली नागरिकहरूले रोमानियामा प्राप्त गरेका रोजगारीहरू गुम्न नदिन र रोमानिया प्रवेशको लागि सहज बनाउन छुट्टै मिसन स्थापना गरिएको श्रम मन्त्रालयले जनाएको छ । 

मिसनले नेपालबाट रोमानियामा रोजगारी तथा अन्य सन्दर्भमा जान चाहने नेपाली नागरिकहरूको भिसा आवेदनको प्रक्रियामा सहजीकरण गर्ने छ । 

रोमानियन मिसनले प्रवाह गर्ने सेवा प्रक्रियामा श्रम तथा रोजगार कार्यालय ताहाचलले आवश्यक समन्वय गर्नेछ । नेपालबाट रोमानियामा वैदेशिक रोजगारीको सन्दर्भमा जान चाहने नेपाली नागरिकहरूले नेपालमा अस्थायी रूपमा स्थापना गरिएको रोमानियन मिसनले तोकेको भिसा शुल्क बाहेक कहिँकतै कुनै प्रकारको रकम बुझाउन पर्दैन ।

यदि कसैले थप रकम मागेमा त्यो ठगी भएको भन्दै सतर्क हुन मन्त्रालयले सचेत गराएको छ । 

यदि कसैले कुनै पनि प्रकारको प्रलोभन वा चिनजान छ भन्दै रकम मागेमा मन्त्रालयमा रहेको कल सेन्टरमा १६६००१५०००५ वा ११४१ नम्बरमा सम्पर्क गरी त्यस्तो सूचना दिन मन्त्रालयले अनुरोध गरेको छ ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

1 Comments

  • Ganesh thapa

    Sept. 2, 2022, 10:09 a.m.

    दुइवर्ष भयो अप्लाइ गरेको , म्यानपावरले गद्दार गर्यो ... सहजसंग कसरी जाने होला ??

  •  0 Reply

तपाईको प्रतिक्रिया