बबई–तुलसीपुर सडक चार लेन विस्तार आयाेजना : ४३ महिनामा १० प्रतिशत काम

 भदौ १८, २०७९ शनिबार १८:९:३८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको बबई नदीदेखि तुलसीपुरसम्मको झन्डै २८ किलोमिटर सडक विस्तारको काम ४३ महिनामा १० प्रतिशतमात्र भएको छ । जिल्लाकै गौरवको योजनाको रूपमा रहेको चार लेन सडक विस्तार आयोजनाको काम अलपत्र परेको हाे ।

३० महिनामा १४ किलोमिटर सडक दुई लेन र झन्डै १४ किलोमिटर सडक चार लेन बनाउन २०७५ साल पुसदेखि काम सुरु गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्डा इन्फ्रा प्रोजेक्टले जिम्मा लिएको हो । तर अहिलेसम्म सडकको किनारा खन्नेबाहेक अन्य काम नगन्य मात्रमा भएको छ ।

४३ महिनामा सात जना सब कन्ट्र्याक्टर फेरिइसकेका छन् तर काम भने १० प्रतिशतमात्रै भएको चार लेन सडक आयोजनाले जनाएको छ । सडक विस्तारको काम गर्ने भन्दै निर्माण व्यवसायीले कालोपत्र गरिएको सडकको दुवै तर्फको भाग खनेर छाेड्दा दुर्घटना बढेको यातायात व्यवसायी बताउँछन् । सडक चार लेन बनाउन सुरु भएको साढे तीन वर्षको अवधिमा गाडी दुर्घटना हुँदा यही सडकमा मात्रै २४ जनाको ज्यान गएकाे जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ । अहिलेकै गतिमा काम हुने हाे भने ३६ वर्षसम्म पनि सडक विस्तारको काम सम्पन्न नहुने देखिएको भन्दै जिल्लाका व्यवसायीले अहिलेकाे निर्माण कम्पनीसँग सम्झौता रद्द गरी नयाँ टेन्डर प्रक्रिया सुरु गर्नुपर्ने बताएका छन् । 

सडक विस्तारकाे जिम्मा पाएकाे निर्माण कम्पनीका प्रतिनिधि शेखर शर्माले भने अब काम छिटो हुने बताउनुभयाे । तर अहिलेसम्मको कार्य प्रगति हेर्दा तेस्राे पटक थप गरिएको समय आउँदाे असारसम्म काम सम्पन्न हुने अवस्था नदेखिएको चार लेन सडक विस्तार आयोजना प्रमुख अर्जुन बम बताउनुहुन्छ । यसैबीच जिल्ला समन्वय समिति दाङले निर्माण व्यवसायी, सडक विस्तार आयोजनाको कार्यालय तथा सरोकारवालसँग सडक विस्तारकाे बारेमा छलफल गरेको छ । 

भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार अमेरिकी डलर अर्थात् झन्डै दुई अर्ब रुपियाँको लागतमा सडक विस्तारको काम सुरु भएको हो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया