श्रम सहचारी र काउन्सेलरलाई मन्त्री कुँवरको निर्देशन : डर र धम्कीमा परेर कामको माग पत्र स्वीकृति नगर्नु

 भदौ ३१, २०७९ शुक्रबार १०:४९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कुनै पनि देशले दिने कामको डिमाण्ड कसैको डर र धम्कीको भरमा जस्ताको त्यस्तै स्वीकृत नगर्न श्रम सहचारी र काउन्सेलरलाई अनुरोध गर्नु भएको छ ।

बिहीबार श्रम गन्तव्य ९ वटा देशका श्रम सहचारी र काउन्सेलरसँग भर्चुअल माध्यममार्फत छलफल गर्दै मन्त्री कुँवरले आएको कामको मागलाई राम्रोसँग बुझेर मात्र स्वीकृत गर्न आग्रह गर्नुभएको हो ।

मन्त्री कुँवरले कामको माग प्रमाणीकरण गर्नका लागि कसैले डर या धम्की दिएमा उनीहरूसँग आफूले कुरा गर्ने भन्दै देश र श्रमिकको हितमा हुने डिमाण्ड मात्र स्वीकृति गर्न निर्देशन समेत दिनुभएको छ । 

यस्तै, श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगारदाता र कामदारबीच भएको विवाद समाधानमा श्रम काउन्सेलर र श्रम सहचारीहरूले भूमिका खेल्नुपर्ने मन्त्री कुँवरको भनाई छ । 

नेपाली श्रमिकले गन्तव्य देशमा पाउने तलबका विषयमा समेत बेला बेलामा अनुगमन गर्न उहाँले जोड दिनुभएको छ । 

श्रम सहचारी र काउन्सेलरले श्रमिकका समस्या, तलबको अवस्था,  म्यानपावर व्यवसायीले गरेको ठगी, जेल र मृत्यु भएका व्यक्तिहरूको व्यवस्थापन, अलपत्र परेका श्रमिकलाई दूतावासले गरिरहेको सहयोग लगायतका विषयमा जानकारी गराएका थिए । 

नेपालीहरू काम गर्न भन्दा पनि भिजिट भिसामा आउने र लुकेर बस्ने गर्दा समस्यामा पर्ने क्रम पनि बढेको उनीहरूको भनाइ छ । 

भिजिट भिसालाई व्यवस्थापन गर्नका लागि सहयोग गरिदिन मन्त्री कुँवरलाई श्रम काउन्सेलर र श्रम सहचारीहरूले आग्रह गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया