साउदीबाट घर फर्कन आवश्यक पर्ने एक्जिट भिसाबारे जानै पर्ने कुरा

 असोज ५, २०७९ बुधबार १५:५८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ साउदीबाट स्वदेश फर्कन्न चाहनुहुन्छ तर कम्पनीले एक्जिट भिसा (बहिर्गमन भिसा) नदिएर अप्ठेरोमा पर्नु भएको छ । यदि त्यसो हो भने साउदीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्नुहोस् । दूतावासले यस्तो भिसाको प्रक्रिया निःशुल्क गरिदिन्छ । तर त्यसका लागि विभिन्न सर्त भने पूरा भएको हुनु पर्नेछ । 

इकामा(साउदीको आवासीय अनुमति पत्र)को म्याद सकिएको तीन महिनाभन्दा बढी भइसहेको भएमा वा साउदी पुगेको तीन महिनाभन्दा बढी समयसम्म पनि तपाईँको कम्पनीले इकामा नबनाइदिएमा र हुरुब लागेका व्यक्तिहरूको दूतावासले तपाईँको स्वदेश फिर्तीका लागि दूतावासले एक्जिट भिसाको प्रक्रिया गरिदिन्छ ।

तर इकामाको म्याद भएका व्यक्तिहरूको भने एक्जिट भिसाको प्रक्रिया गर्न नमिल्ने दूतावासले जनाएको छ । यसका साथै कुनै मुद्दा लागेको छ वा जरिवाना तोकिएको छ भने पनि मुद्दाको छिनोफानो नभएसम्म र तोकिएको जरिवाना नतिरेसम्म दूतावासले यस्तो भिसाको प्रक्रिया गरिदिन मिल्दैन । 

पछिल्लो समय साउदीमा विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदीको आवासीय अनुमति पत्र नबनाइएका वा नवीकरण नगरिएका वा हुरुब लगाइएका नेपालीहरूलाई स्वदेश फर्काउन दूतावासले एक्जिट भिसाको प्रक्रिया गरिदिएर सहजीकरण गरिरहेको छ ।

पछिल्लो समय १५ सेप्टेम्बरसम्म मात्रै ५८ जना नेपालीले यस्तो भिसा दूतावासकै पहलमा पाएका छन् । दूतावासको पहलमा एक्जिट भिसा पाएको ६० दिन अर्थात् २ महिना भित्र साउदी छाडिसक्न पर्छ । दूतावासले यस्तो प्रक्रिया गर्दा कुनै पनि शुल्क लिँदैन ।

तर एक्जिट भिसा लागेपछि नेपाल फर्कने हवाई टिक भने व्यक्तिले नै व्यवस्था गर्न पर्छ । दूतावासले साउदीको अध्यागमनसँग समन्वय गरी एक्जिट भिसा लगाउन सहजीकरण गर्छ । एक्जिट भिसाको आवश्यक भएमा दूतावासमा गएर फारम भर्नुपर्छ । तर दूतावासले प्रक्रिया गर्दैमा यो भिसा लागिहाल्छ भन्ने पनि निश्चित हुँदैन । 

साउदीको नियम अनुसार साउदीको जुन ठाउँबाट इकामा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयबाट मात्रै एक्जिट भिसाको प्रक्रिया अघि बढाउन पर्छ । त्यस कारण आफ्नो इकामा कहाँबाट बनेको हो भन्ने जानकारी राख्न आवश्यक हुन्छ ।

साउदीको रियादबाट बनेका इकामाको एक्जिट भिसाका लागि मात्र दूतावासमा आउन आग्रह गरिएको छ भने अन्य ठाउँका बारेमा फोन मार्फत नै जानकारी लिन दूतावासले भनेको छ । दूतावासमा एक्जिट भिसाका बारेमा बुझ्न ०५०००२१४०९ र ०४५७०४५२७२ नम्बरमा सम्पर्क गर्न सकिन्छ भने जेद्दामा रहेको महावाणिज्य दूतावासमा ०५८२८१७१८८ नम्बरमा सम्पर्क गर्न सकिन्छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया