वैदेशिक रोजगारीमा जाने दोब्बरले बढे, श्रम स्वीकृति लिनेमा दक्ष श्रमिक धेरै

 असोज ५, २०७९ बुधबार १६:४१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा दोब्बरले बढेको छ ।

चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै ७६ हजार ४०३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् भने गएको आर्थिक वर्ष २०७८/७९ को भदौ महिनामा भने जम्मा ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएका थिए । 

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा नयाँ, म्यानपावरमार्फत र पुनः श्रम स्वीकृति गरी ६८ हजार ८८४ जना पुरुष र ७ हजार ५१९ जना महिला गरी ७६ हजार ४०३ जनाले श्रम स्वीकृति लिएका छन् ।

यो सङ्ख्या चालु आर्थिक वर्षको साउन महिनाको भन्दा पनि बढी हो । साउन महिनामा ६३ हजार ३९ जनाले श्रम स्वीकृति लिएका थिए । श्रम स्वीकृति लिनेमा ५६ हजार ७९७ जना पुरुष र ६ हजार २४२ जना महिला रहेका थिए । साउन महिनामा भन्दा भदौ महिनामा १३ हजार ३६४ जना बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । 

श्रम स्वीकृति लिनेमा दक्ष श्रमिक सबैभन्दा धेरै

भदौ महिनामा श्रम स्वीकृति लिनेमा सबैभन्दा धेरै दक्ष श्रमिक रहेका छन् । अघिल्ला वर्षहरूमा श्रम स्वीकृति लिनेमा अदक्ष श्रमिकको बाहुल्यता रहँदै आएकोमा यो आर्थिक वर्षदेखि भने यो तथ्याङ्क फेरिन थालेको छ ।

भदौ महिनामा ४६ हजार ६९ जना दक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् भने अदक्ष श्रमिकको सङ्ख्या २५ हजार ८३ रहेको छ । अर्धदक्ष श्रमिकको सङ्ख्या ६ हजार ९२ छ भने १४६ जना व्यवसायीक र १३ जना उच्च सीप भएकाहरू रहेको विभागले जनाएको छ ।

गएको साउन महिनामा पनि श्रम स्वीकृति लिनेमा दक्ष श्रमिककै सङ्ख्या सबैभन्दा बढी रहेको थियो । साउन महिनामा ३८ हजार ७७ जना दक्ष श्रमिकले श्रम स्वीकृति लिँदा अदक्ष श्रमिकको सङ्ख्या २० हजार ६७२ रहेको थियो । 

अघिल्लो वर्षको तुलनामा श्रम स्वीकृति लिनेको सङ्ख्या दोब्बरले बढी

अघिल्लो वर्षको भदौ महिनाको तुलनामा यो चालु आर्थिक वर्षको भदौ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७८/७९ को भदौ महिनामा वैदेशिक रोजगारीमा जान ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएकोमा चालु आर्थिक वर्षको भदौमा यो सङ्ख्या दोब्बरले बढेर ७६ हजार ४०३ पुगेको छ ।

अघिल्लो वर्षको भदौ महिनामा श्रम स्वीकृति लिनेमा अदक्ष श्रमिकको सङ्ख्या बढी रहेको थियो भने चालु आर्थिक वर्षमा दक्ष श्रमिकको सङ्ख्या बढी छ ।

विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको भदौमा १९ हजार ७०९ जना अदक्ष श्रमिकले श्रम स्वीकृति लिएका थिए भने १३ हजार ६२५ जना दक्ष, २६ सय ७१ जना अर्ध दक्ष, २७ जना व्यवसायीक र ८ जना उच्च सीप भएका श्रमिकले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया