बेगनास र रुपा तालको पानी 'पम्प स्टोरेज' गरेर बिजुली उत्पादन गरिने

 असोज ५, २०७९ बुधबार १८:८:३३ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नेपालमा पहिलो पटक पम्प स्टोरेज जलविद्युत् आयोजना पोखरामा निर्माण हुने प्रक्रिया अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा महानगरपालिमा ३१ मा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्न सरोकारवालासँग छलफल गरेको छ ।

पोखराको बेगनास तालबाट पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी रुपा तालमा जाने र पुनः बिजुलीकै सहयताले बेगनास तालमा नै जाने छ । पोखराकाे लेखनाथको सुन्दरडाँडामा रहेकाे बेगनासको पानी रुपा तालमा खसालेर झन्डै १५० मेगावाट बिजुली उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । बिजुलीकाे अत्यधिक माग हुने बेलुकाकाे समयमा झन्डै चार घण्टा बिजुली उत्पादन गर्न योजना अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणका वातावरण विज्ञ प्रकाश गौडेलले बताउनुभयाे ।   

बेगनास र रुपा तालबीचमा रहेको अग्लो प्राकृतिक बाँधलाई प्रयोग गरेर आयोजना निर्माण गरिने प्राधिकरणको लक्ष्य छ । रुपा तालमा जम्मा भएको पानीलाई रातको समयमा पम्प गरी पुनः बेगनास तालमै खसालिने गौडेलले बताउनुभयाे । 

रुपा तालमा खसालिएको पानी पुनः बेगनासमा फर्काइने भएकाले त्यसले दुवै तालको अहिलेकाे प्राकृतिक अवस्था, सौन्दर्य तथा जैविक अवस्थितिलाई कुनै प्रभाव नपार्ने प्राधिकरणको विश्वास छ । बिजुली उत्पादनपछि रुपाको पानी बेगनासमा फर्काउने कार्यका लागि पम्प चलाउन झन्डै १२५ मेगावाट बिजुली आवश्यक पर्नेछ । रातको समयमा उल्लेख्य मात्रामा बिजुली उपलब्ध हुने भएकाले त्यसमा कुनै समस्या नहुने प्राधिकरणकाे इन्जिनियिरिङ विभागका डेपुटी म्यानेजर रामजी भण्डारीले बताउनुभयाे । 

नेपालका लागि पम्प स्टोरेज जलविद्युत् बिल्कुलै नयाँ प्रविधि हो । यो आयोजना सम्पन्न गर्न झन्डै २० अर्ब रुपैयाँ लाग्ने प्राधिकरणको अनुमान छ । माथि डाडाँबाट ६८ मिटर हेडमार्फत पानी झारेर बिजुली उत्पादन गरिने छ । सरकारले प्राधिकरणलाई 'पम्प स्टोरेज' जलाशय जलविद्युत् आयोजनाको अध्ययन अनुमतिपत्र (लाइसेन्स) दिइसकेकाे छ । आयोजनाबाट उत्पादन हुने बिजुली चार किलोमिटर दुरीको २२० केभी लेखनाथ सबस्टेशनमा जोडिने छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया