डेंगीको ज्वरो कम भएपछि स्वास्थ्यमा थप जटिलता आउन सक्छ : डाक्टर पुन

 असोज ११, २०७९ मंगलबार ७:४५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – डेंगीको ज्वरो कम भएपछि स्वास्थ्यमा थप जटिल समस्या आउन सक्ने भन्दै डाक्टरले सचेत रहन आग्रह गरेका छन् ।

ज्वरो कम भएपछि डेंगी निको भएको भन्दै लापरबाही गर्दा ज्यानै जाने जोखिम हुन्छ । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार ज्वरो घटेपछि कतिपयमा जटिल अवस्था अर्थात् ‘क्रिटिकल फेज’ सुरू हुने गर्दछ । यो सामान्यतया २४ देखि ४८ घण्टामा देखिने गर्दछ ।

यो समयमा पेट वा फोक्सोमा पानी जम्ने सम्भावना रहन्छ । यस्तो अवस्था एक्सरे तथा अल्ट्रासाउन्ड मेसिनबाट पत्ता लगाउन सकिन्छ । यो समयमा बिरामी अचेत अवस्थामा समेत जान सक्नेछ र यसै समयमा रक्तस्रावको समस्या समेत देखा पर्न सक्छ । समयमा उपचार नपाए संक्रमितको ज्यान समेत जान सक्ने डाक्टर पुनले बताउनुभयो ।

यस्तै, यो अवस्थामा कलेजो र मिर्गौला समेत खराब हुन सक्छन् । त्यसैले ज्वरो कम भए पछि पनि स्वास्थ्यको परीक्षण गर्न उहाँको सुझाव छ । उहाँका अनुसार तारन्तार बान्ता हुनु, अत्यधिक पेटमा पीडा हुनु, नाक, गिजा वा अरू अंगबाट रगत बग्नु, आलस्य/बेचैनी हुनु जटिलताका संकेत हुन् । यस्ता लक्षण देखिनासाथ अस्पताल जान उहाँको सल्लाह छ ।

देशभर डेंगीको संक्रमण फैलिएसँगै बिरामीको संख्या पनि बढिरहेको छ । अहिलेसम्म २५ हजार भन्दा धेरैलाई डेंगीको संक्रमण पुष्टि भएको छ भने ३२ जनाको ज्यान गएको छ ।  डेंगीका कारण ज्यान गुमाउने संख्या बढिरहेकाले डाक्टरले सचेत हुन आग्रह गरेका छन् । डेंगी संक्रमणमा उच्च ज्वरो आउनुका साथै शरिरमा दुखाइ अत्याधिक हुने गर्दछ । दुखाइ तथा ज्वरो कम गर्न भन्दै धेरैले ‘फ्लेक्सन’, ‘ब्रुफिन’, ‘निम्स’ जस्ता औषधी खाने  गरेका छन् ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन डेंगी भएका बिरामीलाई यस्तो औषधि नखान सुझाव दिनुहुन्छ । उहाँका अनुसार बिरामीले ४ देखि ६ घण्टाको ग्यापमा सिटामोलको भने प्रयोग गर्न सक्नेछन्  । यस्तै, यो बेला झोलिलो खानेकुरा प्रशस्त मात्रामा खान डाक्टरको सुझाव छ ।  

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया