राष्ट्रपति संस्था इमानदार भएन, सरकार भ्रष्ट भयाे : रवीन्द्र मिश्र

 असोज १२, २०७९ बुधबार १६:३२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशमा राजसंस्था हुनैपर्ने अवस्था आएको जिकिर गर्नुभएकाे छ । राष्ट्रपतिजस्तो संस्थाले समेत इमानदारितापूर्वक काम गर्न नसकेकाले देशमा राजसंस्था हुनैपर्ने रहेछ भन्ने आफूलाई लागेको उहाँको भनाइ थियो । 

आज बुधवार काठमाण्डाैमा आयोजित राप्रपा र मिश्र नेतृत्वको बृहत्तर धुव्रीकरण समूहबीचको एकता कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले राजनीतिभन्दा माथि उठ्नुपर्ने राष्ट्रपति संस्था इमानदार नभएको, सरकार भ्रष्ट भएको भन्दै आपत्तिसमेत जनाउनुभयो । उहाँले देशले सङ्घीयता धान्नै नसक्ने जिकिर गर्नुभयो । 

वरिष्ठ उपाध्यक्ष मिश्रले धर्मको नाममा, जातको नाममा राजनीति हुन थालेपछि देश झनै कमजोर हुँदै गएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी कमजोर, भ्रष्ट सरकार र समाज लिएर बसेका छौँ । राष्ट्रपति संस्था राजनीतिभन्दा माथि उठ्नुपर्ने हो तर त्यो संस्थाले इमानदारितापूर्वक काम गर्दैन । जहाँ प्रधानमन्त्रीको संस्थाले इमानदारितापूर्वक काम गर्दैन । जहाँ प्रशासन र प्रहरीले इमानदारितापूर्वक काम गर्दैन । जहाँ सबै स्वार्थ केन्द्रित छन् । जुन देश भूराजनीतिकरूपले संवेदनशील छ । कुनै पनि संस्थाले राम्रो काम गर्न नसक्ने ठाउँमा यदि कुनै पनि किसिमको द्वन्द्व भयो भने त्यसलाई कसले सम्हाल्ने ? स्पष्ट कुरा के हो भने यो देशकै निम्ति राजनीति गर्ने हो । देशको निम्ति राजनीति नहुँदा स्रोत, साधन सम्पन्न देशले दुःख पायो । समाज विकृत भयो । देशकै निम्ति राजनीति गर्ने हो भने राजसंस्था हुनुपर्ने रहेछ भन्ने मलाई लाग्यो । सङ्घीयता आर्थिकरूपमा मात्रै होइन, राजनीतिकरूपमा पनि धान्न सकिँदैन । भौगोलिकरूपमा त झन् सङ्घीयता धान्नै नसकिने गम्भीर विषय हो ।’

वरिष्ठ उपाध्यक्ष मिश्रले आफूमा भन्दा बढी नेपाली कांग्रेसमा विचलन आएको आरोपसमेत लगाउनुभयो । 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया