जनताले राप्रपालाई पहिलाे शक्ति बनाउन सक्छन् : राजेन्द्र लिङ्देन

 असोज १२, २०७९ बुधबार १७:४९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दाबी गर्नुभएको छ । देशले विकल्प खोजिरहेकाले नेपाली नागरिकले आउँदाे चुनावमा राप्रपालाई पहिलो शक्ति बनाउन सक्ने उहाँको भनाइ थियो । 

रवीन्द्र मिश्र नेतृत्वको समूहसँगको पार्टी एकताका लागि बुधवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले पार्टीका अगुवा नेताहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेर अघि बढ्न पनि निर्देशन दिनुभयो । उहाँले प्रतिनिधि सभा र प्रदेश सभाको सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै उच्च मनोबलका साथ चुनावकाे तयारीमा जुट्न पार्टीको सिङ्गो पङ्क्तिलाई आह्वान गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले ठिक ढङ्गले अगाडि गयौँ भने राष्ट्रिय प्रजातन्त्र पार्टी आउने संसदमै पहिलो पार्टी बन्न सक्छ । म यहीँबाट पार्टीका सबै अगुवा नेता साथीहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेर अगाडि बढ्न आग्रह गर्दछु । पछाडि हट्ने होइन, भाग्ने होइन् । देशको परिवर्तनको पक्षमा, यो अवस्था बदल्नुपर्छ भन्ने पक्षमा रहेका बुद्धिजीवीहरू, राजनीतिमा जान्छु भन्ने हुटहुटी बोकेका साथीहरू आउनुस्, राष्ट्रिय प्रजातन्त्र पार्टीमा जोडिनुस् । हामी योग्य, क्षमता भएका साथीहरूलाई उम्मेदवार बनाउन तयार छौँ ।’

अध्यक्ष लिङ्देनले चुनावमा हारिन्छ कि भन्ने हिन भावना त्यागेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । उहाँले पार्टीमा प्रवेश गरेका रवीन्द्र मिश्रलगायतका नेताहरूलाई स्वागत गर्दै उपयुक्त जिम्मेवारी दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया