लमजुङमा देव गुरुङ र पृथ्वीसुब्बा गुरुङबीच प्रतिस्पर्धा

 असोज २३, २०७९ आइतबार २०:२३:४७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा लमजुङमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङ र नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । सङ्घतर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महासचिव गुरुङ र एमालेका उपमहासचिव गुरुङबीच प्रतिस्पर्धा हुने भएको हो ।

आज आइतवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दुवै जनाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यस्तै सत्ता गठबन्धनबाट प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा (क) मा कांग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङ र प्रदेश सभा (ख) मा कांग्रेस लमजुङका निवर्तमान सभापति भेषबहादुर पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

एमालेबाट प्रदेश सभा (क) मा संविधान सभा सदस्य जमिन्द्रमान घले र प्रदेश सभा (ख) मा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उम्मेदवारी दर्ता गरेपछि पत्रकारसँग कुरा गर्दै प्रतिनिधि सभाका उम्मेदवार देव गुरुङले लमजुङको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।     

यसअघि २०७४ को चुनावमा एमाले र माओवादीको गठबन्धनबाट निर्वाचित देव गुरुङ यस पटक पनि सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ ।

यस्तै उम्मेदवारी दर्ता गराएपछि एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ अधुरा रहेका सपनालाई साकार पार्न एक पटक मुख्यमन्त्री हुने व्यक्तिगत चाहना भए पनि सङ्घीय शासन प्रणालीलाई प्रभावकारी कार्यान्वयन र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न माथिल्लो तहबाटै भूमिका खेल्नुपर्ने भन्दै पार्टी नेतृत्वले निर्णय गरेकाले आफू प्रदेश छाडी सङेघमा उठेको जानकारी दिनुभयो ।

एमालेका उपमहासचिव गुरुङ २०७४ मा प्रदेश सभा (ख) बाट उम्मेदवार भइ निर्वाचित हुनुभएको थियो । उहाँ गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्रीसमेत हुनुहुन्छ ।

यसैगरी आउँदाे चुनावका लागि लमजुङबाट स्वतन्त्रसहित १३ जनाले सङ्घतर्फ मनोनयन दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित १३ जनाले मनोनयन दर्ता गराएका हुन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया