रुकुम पूर्वमा ८ जनाको उम्मेदवारी फिर्ता

 असोज २६, २०७९ बुधबार १८:४१:५० | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि रुकुम पूर्वमा उम्मेदवारी दिएकामध्ये आठ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार उम्मेदवारी फिर्ता लिनेहरूमा प्रदेश निर्वाचन क्षेत्र (क) बाट उम्मेदवारी दिनुभएका माओवादी केन्द्रका रामसुर बुढा मगर र संगम रोका मगर, ओमकुमारी शाही (मल्ल) र कालिप्रसाद रोका हुनुहुन्छ । 

यसैगरी प्रदेश निर्वाचन क्षेत्र (ख) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिनुभएका माओवादीका गजेन्द्रबहादुर ओली, दलप्रसाद कामी, कांग्रेसका भीमबहादुर खड्का र स्वतन्त्र उम्मेदवार सुरेश थापाले उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एउटा निर्वाचन क्षेत्र रहेको जिल्लाको प्रतिनिधि सभामा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी पूर्णबहादुर घर्ती उम्मेदवार हुनुभएको छ । प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेको तर्फबाट कैलाशकुमार मल्ल, राप्रपाका खिमबहादुर खत्री, मंगोल नेशनल अर्गनाइजेसनबाट रतनबहादुर बुढा, नेश्नलिस्ट पिपल्स पार्टीको तर्फबाट बलबहादुर बुढा र स्वतन्त्रबाट चन्द्रराज झाँक्रीकाे उम्मेदवारी परेकाे छ ।  

यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (क) मा माओवादी केन्द्रका तेजबहादुर ओली र निर्वाचन क्षेत्र नम्बर (ख) मा नेपाली कांग्रेसका धनबहादुर केसी उम्मेदवार हुनुहुन्छ । 

नेकपा एमालेले प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर (क) मा तेजेन्द्र बुढा र निर्वाचन क्षेत्र नम्बर (ख) मा भावना बुढाथोकी, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (ख) मा केशवचन्द समाल (मदन शाह) लाई उम्मेदवार बनाएको छ । निर्वाचन क्षेत्र नम्बर (क) मा भने राप्रपाले उम्मेदवारी दिएको छैन । मंगोल नेसनल अर्गनाइजेसनबाट प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (क) मा पुरा पुन र निर्वाचन क्षेत्र नम्बर (ख) मा लेखन बुढालाई उम्मेदवार बनाएको छ । 

स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता गराएका प्रतिनिधि सभा सदस्यमा चन्द्रराज झाँक्री मगर, प्रदेश सभा (क) मा सुरुल पुन मगर र दुतकुमार पुन मगर, प्रदेश (ख) मा केशव रावल, नरहरि खड्का, पूर्णजङ सिंहको भने उम्मेदवारी कायमै रहको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया