गुल्मी : ७२ वर्षमा नागरिकता, ८० वर्षका वृद्धले राहदानीका लागि फाराम भरे

 असोज ३०, २०७९ आइतबार २०:९:३९ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा आज आइतवार एकै दिन दुई वृद्धले नागरिकता र राहदानी बनाउनुभएकाे छ । मदाने गाउँपालिका १ का चित्रबहादुर बोहोराले नागरिकता र मुसिकोट नगरपालिका १ का दिनामणि अर्यालले जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाउनुभएको हो । 

नागरिकता बनाउनका लागि मदाने गाउँपालिका १ का वडाध्यक्ष सुशील चन्दले बाेहाेरालाई आफ्नै खर्चमा सदरमुकाम तम्घास पुर्‍याउनुभएकाे हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको उपस्थितिमा प्रशासकीय अधिकृत ज्ञानकुमारी भुसालले ७२ वर्षीय बोहोरालाई नागरिकता प्रदान गर्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयाे । 

नागरिकता हात पारेपछि बोहोराले खुसी हुँदै वडाध्यक्ष र प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद दिनुभयाे । उहाँले आजसम्म काम नपरेको हुँदा नागरिकता नबनाएको भन्दै बुढेसकालमा सामाजिक सुरक्षा भत्ता खानका लागि नागरिकता बनाउन आएको प्रतिक्रिया दिनुभयो । 

त्यसैगरी ८० वर्षका अर्यालले पनि आजै जिल्ला प्रशासन कार्यालयबाट राहदानीका लागि फाराम भर्नुभएको छ । उहाँले बुढेसकालमा भए पनि अस्ट्रेलियामा रहेकी नातिनीले घुम्न बोलाएको हुँदा श्रीमतीसहित विदेश जानका लागि राहदानी बनाउन आएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया