लमजुङ : ‘हेभीवेट’ नेता चुनावी मैदानमा, चुनाव जित्ने आ–आफ्नै दाबी

 कात्तिक २३, २०७९ बुधबार १५:५२:४५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनाव नजिकिँदै गर्दा लमजुङमा पनि चुनावको रौनक छाएको छ । यतिबेला जिल्लाका गाउँ, टोल, चोक र चौतारीमा चुनावकै चर्चा हुने गरेको छ । 

चुनाव नजिकिएसँगै दलका उम्मेदवार, नेता कार्यकर्ताका साथै स्वतन्त्र उम्मेदवारहरु पनि आफ्नो पक्षमा भोट माग्न गाउँ डुल्न थालेका छन् । चुनाव केन्द्रित कार्यक्रम लिएर उनीहरु मतदाता भेटघाट, घरदैलो कार्यक्रममै व्यस्त छन् ।

विकास र समृद्धिका नारा लिएर जनताको घरदैलोमा पुगेका दल तथा उम्मेदवारहरुलाई मतदाताको एउटै माग, आग्रह छ, चुनावका बेला जनतासामु गरेका वाचा नभुल्नु ।

आफूलाईभन्दा देश र समाजलाई माया गर्ने, भ्रष्टाचार नगर्ने, युवालाई घरदेशमै रोजगारी दिलाउन भूमिका खेल्न सक्ने र दुःख, सु्खमा जनतामाझ नै रहने नेताको खाँचो रहेको र त्यस्ता उम्मेदवारलाई मतदान गरी जिताउनुपर्ने सुन्दरबजार नगरपालिका ९ भोटेओडारका मधुकर सापकोटाले बताउनुभयो ।

यसैगरी राष्ट्रियताको पक्षमा उभिने, गाउँठाउँका साथै देश र जनताको हितमा काम गर्ने, युवालाई घरदेशमै रोजगारीको वातावरण सिर्जना गर्न सक्ने नेतालाई चुन्नुपर्ने सुन्दरबजार नगरपालिका–८ अकला, डुँड्कुलाका लवराज ढकालले बताउनुभयो ।

चुनावी परिणामपछि पनि जित्ने हार्ने दुवैले विकास र समृद्धिका क्षेत्रमा काम गरुन् भन्ने आम लमजुङे मतदाताको चाहना तथा अपेक्षा छ ।

एउटा मात्र प्रतिनिधि सभा रहेको लमजुङमा संघतर्फ ११ जनाको उम्मेदवारी कायम छ । विशेषगरी राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका लमजुङबाट प्रतिनिधि सभाका लागि चुनावी मैदानमा होमिएका ‘हेभीवेट’ नेता नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीचको चुनावी प्रतिस्पर्धालाई रोचक र चासोका साथ हेरिएको छ ।

गएको प्रतिनिधि सभाको चुनावमा एमालेको साथ पाउनुभएका देवप्रसाद गुरुङलाई यसपटक जिल्लामा नेपाली कांग्रेसलगायत नेकपा एकीकृत समाजवादीको पनि साथ मिलेको छ ।

२०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावमा एमाले र माओवादीबीचको चुनावी तालमेलबाट लमजुङबाट संघतर्फ नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङ र प्रदेश सभा ‘ख’ बाट पृथ्वीसुब्बा गुरुङले चुनाव जित्नुभएको थियो । २०७४ को संसदीय चुनावमा सहयात्री बनेका तर अहिलेको चुनावमा प्रतिस्पर्धी बनेका नेता गुरुङद्धयको चुनाव जित्ने आ–आफ्नै दाबी छ ।

चुनाव हार्ने कल्पना गरेको छैन : पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ नेपाललाई समृद्ध देश निर्माणको अभियानका लागि एमालेको उम्मेदवारी रहेको बताउनुहुन्छ ।

एमोलेले अघि सारेको विकास, सुशासन र समृद्धिको अभियान अहिले ओझेलमा परेको उहाँले उल्लेख गर्नुभयो ।

‘हामीले सुरु गरेका विकास, सुशासन र समृद्धिको अभियानलाई फेरि पुनर्जीवित गरेर, अगाडि बढाएर अबको २२ वर्षभित्रमा नेपाललाई विकसित र समृद्ध देशको दाँजोमा पुर्याउने अभियानका लागि लमजुङमा एमालेको उम्मेदवारी हो । लमजुङबाट मेरो उम्मेदवारी हो,’ नेता गुरुङले भन्नुभयो ।

यस्तै, लमजुङमा दुई प्रदेश सभा तर्फको पूर्वदेखि पश्चिमसम्मका साथै पालिका चुनावको वडाअध्यक्ष, मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षको मतको हिसाबलाई हेर्दा पनि आफूहरु अगाडि रहेको पृथ्वीसुब्बा गुरुङको भनाइ छ ।

एमालेका प्रतिनिधि सभाका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ भन्नुहुन्छ, ‘मलाई चुनाव जित्न धेरै सहज छ । चुनाव हार्ने कल्पना गरेको छैन । ‘हन्ड्रेड पर्सेन्ट’ म चुनाव जित्छु ।’ 

हाम्रो जित सुनिश्चित छ : देवप्रसाद गुरुङ  

सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङ लमजुङको विकासको यात्रालाई अझ गतिशील बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुहुन्छ ।

उहाँले विगत साढे चार वर्षको कार्यकालमा लमजुङमा जे जति काम, प्रगति भए, त्यो पहिलेभन्दा गुणात्मक नै रहेको जिकिर गर्नुभयो । ‘विगत साढे चार वर्षको कार्य प्रगति हेर्दा पहिलेभन्दा गुणात्मक प्रगति नै भएको छ । तर यहाँको आवश्यकताअनुसार पर्याप्त भएको छैन । विगतमा अधुराे र अपुराे रहेका काम पूरा गर्न र पूर्वाधार विकासलाई गुणात्मकस्तरमा वृद्धि गर्न जरुरी छ’, उहाँले भन्नुभयो ।

नेता गुरुङले जिल्लामा सडक सञ्जाल विस्तारका साथै सिचाइँ, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो ।

यसैगरी, लोकतान्त्रिक वाम गठबन्धनको एजेण्डा सही भएकाले पनि आफूहरुले चुनाव जित्नेमा विश्वस्त रहेको प्रतिनिधि सभाका उम्मेदवार देवप्रसाद गुरुङ बताउनुहुन्छ ।

‘पराजयको कल्पना गरेका छैनौँ । हाम्रो जित सुनिश्चित छ,’ उहाँले अघि थप्नुभयो, ‘मुलकमा शान्ति, लोकतन्त्र, विकास र समृद्धिको पक्षमा हाम्रो एजेण्डा छ । हामीले चुनाव जित्ने स्पष्ट छ ।’

लमजुङमा संघतर्फ ११ जनाको उम्मेदवारी कायम

निर्वाचन कार्यालय, लमजुङका सूचना अधिकारी जीवाखर शर्माका अनुसार एक मात्रै प्रतिनिधि सभा रहेको लमजुङमा प्रतिनिधि सभा सदस्यमा एमालेका पृथ्वीसुब्बा गुरुङ, माओवादी केन्द्रका देवप्रसाद गुरुङका साथै जनता समाजवादी पार्टी, नेपालका नरेन्द्र बहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका टकबहादुर गुरुङ, नेपाली कांग्रेस (वीपी) का डा.लक्ष्मीकान्त पौडेल, आमूल परिवर्तन मसिहा पार्टी नेपालका नन्दजङ गुरुङ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति, मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी र स्वतन्त्र उम्मेदवार चन्दन बस्यालको उम्मेदवारी कायम छ ।

यद्यपि नेपाली कांग्रेस (विपी)का उम्मेदवार पौडेलले पत्रकार सम्मेलनमार्फत गठबन्धनका उम्मेदवारलाई सघाउने घोषणा गरिसक्नुभएको छ । 

निर्वाचन कार्यालय लमजुङका अनुसार दुई प्रदेश सभा रहेको लमजुङमा प्रदेश सभा ‘क’ मा एमालेका जमीन्द्रमान घले, कांग्रेसका डा. टकराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अप्सरा शाह, जनता समाजवादी पार्टी नेपालका सरस्वती गुरुङ र मंगोल नेशनल अर्गनाइजेसनका बृखबहादुर तामाङको उम्मेदवारी कायम भएको छ ।    

प्रदेश सभा ‘ख’तर्फ एमालेका कृष्णप्रसाद अधिकारी, कांग्रेसका भेषबहादुर पौडेल, जनता समाजवादी पार्टी नेपालका युवराज दुरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका तत्बहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनका राज गुरुङ र नेपाली कांग्रेस (वीपी) को नवराज बसौलाको उम्मेदवारी कायम भएको छ ।

‘हेभीवेट’ नेताद्धयका साथै अन्य दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले चुनाव आफूले नै जित्ने बताउँदै आएका छन् । तर लमजुङे जनताले कस्लाई मतदान गरी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा विजयी गराउँछन्, त्यो हेर्न मंसिर ४ गतेको चुनाव कुर्नैपर्छ ।      

१ सय २८ मतदान स्थल, १ सय ८६ मतदान केन्द्र

एउटा मात्रै प्रतिनिधि सभा रहेको लमजुङमा ६५ हजार २ सय ७१ महिला र ६८ हजार २ सय ८८ पुरुष गरी कुल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय, लमजुङका प्रमुख एवं निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेशसभा ‘क’ मा ६३ हजार ५ सय ७५ जना मतदाता छन् । प्रदेशसभा ‘ख’ मा ६९ हजार ९ सय ८४ मतदाता रहेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा जिल्लामा १ सय २८ मतदान स्थल र १ सय ८६ मतदान केन्द्र रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया