सङ्खुवासभामा खड्का र गौतमबीच तेस्राे पटक प्रतिस्पर्धा हुँदै

 कात्तिक २४, २०७९ बिहिबार १७:१०:७ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा प्रतिनिधि सभा सदस्यका लागि पुरानै अनुहारबीच प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दीपक खड्का र नेकपा एमालेका राजेन्द्र गौतमबीच 'बेस्ट अफ थ्री' को रोचक प्रतिस्पर्धा हुने भएकाे हाे ।  

सङ्खुवासभामा १० वटा राजनीतिक दलसहित दुई जना स्वतन्त्रले प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गरे पनि कांग्रेसका खड्का र एमालेका गाैतमबीच मुख्य प्रतिस्पर्धा हुने देखिएकाे हाे । दुवै नेता जिल्लामा स्थापित हुन् भने केन्द्रसम्म पनि राम्रै पडक छ ।  

खड्का कांग्रेसका जिल्ला सभापति हुनुहुन्छ । उहाँ २०७० सालमा सांसद बन्दा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको समयमा खानेपानी राज्यमन्त्री बन्नुभएकाे थियाे । गौतम नेकपा एमालेका स्थायी कमिटी सदस्य हुनुहुन्छ ।     

गौतम र खड्काबीच यसअघि दुई पटक चुनावी प्रतिस्पर्धा भएकाे छ । दुवै जनाले पालैपालो एक/एक पटक चुनाव जितेका छन् । २०७० सालको चुनावमा खड्का र गौतमबीच प्रतिस्पर्धा भएको थियो । त्यति बेला गौतमलाई हराउँदै खड्का सांसदमा निर्वाचित बनेपछि राज्यमन्त्री बन्नुभएकाे थियाे ।  

त्यसपछि २०७४ सालको चुनावमा पनि खड्का र गौतम दोस्रो पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्याे । त्यति बेला गाैतम विजयी हुनुभएकाे थियाे । अहिले खड्का र गौतमबीच तेस्रो पटक अर्थात् 'बेस्ट अफ थ्री' का लागि चुनावी प्रतिस्पर्धामा हुने भएकाे हाे । २०७४ को चुनावमा एमालेका उम्मेदवार गौतमलाई नेकपा माओवादी केन्द्रको साथ रहेको थियो । त्यति बेला कांग्रेसले एक्लै प्रतिस्पर्धा गरेकाे थियो । अहिले त्यही माओवादी केन्द्रको साथ कांग्रेसलाई रहँदा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ ।  

पालिका चुनावकाे नतिजालाई हेर्दा सङ्खुवासभामा कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीबीचको गठबन्धनका कारणले १० वटा पालिकामा १२ जना मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष जितेको छ भने नेकपा एमालेले आठ जना मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष जितेको छ । जिल्ला समन्वय समितिमा एमाले शून्य छ । जिल्लाको ७६ वटा वडामा एमालेले ३८, कांग्रेसले २९ र माओवादी केन्द्रले नाै वडामा वडाध्यक्ष जितेको छ । 

यति बेला सङ्खुवासभामा खड्का र गौतमबीचको 'बेस्ट अफ थ्री' को प्रतिस्पर्धामा काे विजयी हाेला भनेर मतदाता उत्सुक बनेका छन् ।

सङ्खुवासभामा एक प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ । सङ्खुवासभामा पाँच वटा नगरपालिका र पाँच वटा गाउँपालिका रहेकाे छ । जिल्ला निर्वाचन कार्यालयको अनुसार जिल्लामा एक लाख १७ हजार पाँच सय ५४ जना मतदाता रहेका छन् । यहाँ एक सय आठ वटा मतदानस्थल र एक सय ६२ वटा मतदान केन्द्र रहेको छ ।

दुई वटा प्रदेश सभामा पनि रोचक प्रतिस्पर्धा 

सङ्खुवासभामा प्रदेश सभा (क) मा नेकपा एमालेबाट अधिवक्ता भविश्वर गुरुङ र गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका राजेन्द्र कार्की (नवीन) बीच प्रतिस्पर्धा हुने भएको छ । राजनीतिकरूपमा गुरुङ प्रदेश कमिटी सदस्य र कार्की केन्द्रीय सदस्य हुन् ।

यस्तै प्रदेश सभा (ख) मा एमालेका विदुर लिङथेप र गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी सरिता थापा खड्काबीच प्रतिस्पर्धा हुने देखिएको छ । लिङथेप यसअघि मादी नगरपालिकाका निवर्तमान मेयर हुनुहुन्छ भने खड्का निवर्तमान प्रदेश सांसद हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया