विद्यार्थीलाई नमुना मतदान, भन्छन् : अभिभावकलाई सिकाउँछौँ

 कात्तिक २६, २०७९ शनिबार १२:६:२६ | रासस
unn.prixa.net

तस्बिर : रासस

कैलाली - कैलालीको टीकापुर नगरपालिका–१ ज्योतिनगरका लक्ष्मण चौधरी कर्णाली माध्यमिक विद्यालयमा अहिले कक्षा १० मा अध्ययन गरिराख्नुभएको छ । शुक्रवार उहाँ विद्यार्थीको रुपमा नभइ उम्मेदवारको रुपमा प्रस्तुत हुनुभयो । विद्यालयले विद्यार्थीलाई पाठ्यक्रममा समावेश भएअनुसार चुनावमा मतदान प्रक्रियाका बारेमा कक्षा १० का विद्यार्थीलाई नमुना मतदान कार्यक्रम गर्दा लक्ष्मण उम्मेदवारको रुपमा प्रस्तुत हुनुभएको हो ।

'हामीलाई चुनाव हुन्छ भन्ने कुरा थाहा थियो । चुनाव गर्दाको प्रक्रियाका बारेमा अध्ययनभन्दा अतिरिक्त क्रियाकलापले धेरै सिक्ने अवसर मिलेको छ', लक्ष्मणले भन्नुभयो, 'चुनावको मुखैमा भएको नमुना मतदानले हामीलाई निकै फाइदा गर्नेछ । कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत पारस शाही नमुना मतदानले घरमा अभिभावकलाई मतदानसम्बन्धी शिक्षा दिन सहयोग मिल्ने बताउनुहुन्छ । आउँदो चुनावसम्म हामी पनि मतदान गर्ने उमेरको हुन्छाैँ । अहिले सिकेको सीप भोलि काम लाग्छ । पारसले भन्नुभयो, 'घरमा अभिभावकलाई पनि मतदान गर्न सिकाउने अवसर नमुना मतदानले दिएको छ ।'

 मेरिका ढुङ्गानाले मनोनयन दर्तादेखि चुनावका लागि आवश्यक प्रक्रिया पूरा गरेर भएको नमुना मतदानले समुदायमा मतदान शिक्षा नपाएका नागरिकलाई सिकाउन सक्ने क्षमताको विकास भएको बताउनुहुन्छ । 'अहिले चुनावको समय छ । हामीले सिकेको ज्ञान आफ्ना लागिभन्दा अभिभावक र समुदायका लागि काम लाग्ने छ', मेरिकाले भन्नुभयो, 'सिकेको शिक्षा अभिभावकलाई र समुदायलाई भन्छौँ । जसका कारण अहिलेको चुनावमा मत बदर घटाउन सहयोग पुग्छ ।'

 कक्षा १० का विनोद जोशी नमुना मतदानमा मतदान अधिकृतको भूमिकामा रहनुभयो । मतदान अधिकृतले खेल्ने भूमिकाले आफूलाई चुनावको महत्त्वका बारेमा सक्षम बनाएको उहाँको भनाइ छ । 'पढेर सिकेको कुराभन्दा गरेर सिकेको कुरा सहज हुने रहेछ', जोशीले भन्नुभयो, 'हामीमा आमचुनावमा मतदातालाई शिक्षा दिन सक्ने क्षमताको विकास नमुना मतदानले भएको छ । आवश्यक परे समुदायका नागरिकलाई मतदान शिक्षा दिन सक्छौँ ।'

यस विद्यालयमा  कक्षा १० को  सामाजिक विषयमा भएको पाठ्यक्रमअनुसार नमुना मतदान प्रक्रिया सुरु गरिएको हो । चुनावमा सहभागी उम्मेदवार, मतदाता, निर्वाचन अधिकृत, मतदान अधिकृत, सुरक्षाकर्मी, स्वयंसेवकसहित आवश्यक सबै प्रक्रिया पूरा गरेर नमुना मतदान पूरा गरेको विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले बताउनुभयो । 

'हप्ताको शुक्रवार हुने अतिरिक्त क्रियाकलापअन्तर्गत नमुना मतदान गरेका हौँ । यसले विद्यार्थीलाई चुनाव गर्दा पर्ने प्रक्रियाको बारेमा शिक्षा प्रदान गर्नेछ । घरमा चुनावको समय भएको हुँदा अभिभावकलाई मतदान गर्न सिकाउने माध्यम पनि बन्न सक्छ', प्रधानाध्यापक शर्मा भन्नुहुन्छ, 'विद्यार्थीले पनि नमुना मतदानमा निकै उत्सुकता देखाएका छन् । विद्यार्थीलाई ज्ञानभन्दा घरमा अभिभावकलाई सिकाउने प्रतिक्रिया विद्यार्थीबाट पाएका छौँ ।'

उहाँले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानभन्दा प्रयोगात्मक ज्ञानमा जोड दिइएको बताउनुभयो । 'सैद्धान्तिक ज्ञानले भन्दा व्यावहारिक ज्ञानले विद्यार्थीमा छिटो सिकाइ हुनेभएकाले त्यसतर्फ बढी जोड दिएका छौँ', प्रधानाध्यापक शर्माले भन्नुभयो, 'त्यसैको एक उदाहरण हो नमुना मतदान पनि ।'

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया