‘कांग्रेसका केही नेताले प्रधानमन्त्री म नै बन्छु भन्दै बाजा बजाएर हिँड्ने कुराले पार्टीको हित हुँदैन’

 कात्तिक २९, २०७९ मंगलबार १५:७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यही मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यकाे चुनाव हुँदैछ । चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरू मतदाताकाे घरदैलोमा पुगिरहेका छन् । दलहरूले चुनावमा आफूले जित्ने दाबी गर्दै आइरहेका छन् । यसैबीच न्युज एजेन्सी नेपालले नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतसँग कुराकानी गरेकाे छ ।  

प्रश्न : प्रत्यक्षतर्फ आफ्नो उम्मेदवार नभएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सबैले भोट दिने अवस्था कस्तो छ ? समानुपातिकमा मत हाल्ने कुरामा पनि मतदाता दोधारमा छन्, निर्वाचन परिचालनमा कसरी काम भइरहेको छ ?

उत्तर : यसै त हाम्रो ठूलो पार्टी, अरू पार्टीजस्तो उम्मेदवार खोजी–खोजी ल्याएर उठाउनुपर्ने स्थिति होइन । धेरै योग्य साथीहरू हुनुहुन्छ । त्यसमाथि गठबन्धन भएपछि यसै सिट कम हुने भयो । त्यसले गर्दा ती सबै महत्त्वाकाङ्क्षालाई सम्बोधन गरेर पार्टीको मत एकीकृत गर्ने कुरा आफैँमा पनि चुनौतीपूर्ण हो । गठबन्धनका औचित्यका कुराहरूलाई बुझाउन र आन्तरिक असन्तुष्टिहरूलाई सम्बोधन गर्न अवश्य पनि हामीलाई केही समय लाग्यो । ती कुराहरू करिब करिब सम्बोधन भएको अवस्था छ । एक सय ६५ प्रत्यक्ष निर्वाचन क्षेत्रको प्रतिनिधि सभातर्फमा ९१ ठाउँमा हामी उठेका छौँ । प्रदेश सभामा पनि त्यही अनुपातको अवस्था छ । निर्वाचन प्रक्रियामा सामान्यतयाः के हुने गर्थ्याे भने प्रत्यक्ष उम्मेदवारले नै मतदातालाई परिचालन गरेर मतदान केन्द्रमा पुर्‍याउँथ्याे । तर अहिले सबै क्षेत्रमा हाम्राे उम्मेदवार नभएकाले पार्टीले केन्द्रीय प्रतिनिधि खटाएको छ । किनकि समानुपातिकमा त रुखमै मतदान गर्ने हो । प्रतिनिधि सभामा पनि रुखमै मतदान गर्ने हो । ती सय ३० सिटकाे प्रदेश सभामा पनि रुखमै मतदान गर्ने हो । समानुपातिकमा पनि हामीले अन्य गठबन्धन दललाई मत हाल्यौँ भने न उहाँहरूले पनि रुख चिह्नमा मतदान गर्नुहुन्छ । यो त लिने पनि हो, दिने पनि हो । कांग्रेस नि फाइदामा रहने । गठबन्धनमा रहेका अन्य दलहरू पनि परिणामको हिसाबले फाइदामा रहने । यो कुरालाई हामीले बुझाइरहेका छौँ । समानुपातिकतर्फ एक सय ६५ प्रतिनिधि सभामा र तीन सय  ३० प्रदेश सभामा रुखमै मतदान गर्ने हो । त्यसमा कुनै गठबन्धन छैन । प्रत्यक्षतर्फ मात्रै गठबन्धन हो । 

प्रश्न : मतदाताले आफ्नो उम्मेदवार नभएको ठाउँमा भोट लिने/दिने गर्न गाह्रो छ, यसमा अझै पनि जोड पुगिरहेको छैन भन्ने रिपोर्टिङ छ, त्यस्तो ठाउँमा नेतृत्वले के गरिरहेको छ ?

उत्तर : परिचालन कमिटी, प्रचार समितिले केन्द्रीय तहको नेतालाई खटाएकाे छ । सम्बन्धित ठाउँको पार्टी संरचनाको बैठक राख्ने, अन्य दलहरूसँग पनि समन्वय गर्ने, हामीले सहयोग गर्‍याैँ भने मात्रै उहाँहरूको पनि हामीले सहयोग पाउँछौँ । सहयोग लिनु र दिनु आवश्यक छ । त्यो भयो भनेमात्रै परिणाम हाम्रो पक्षमा हुन्छ । उम्मेदवार ज्यादा हुनुमात्रै ठूलो कुरा होइन । परिणाम ज्यादा ल्याउनु चाहिँ महत्त्वपूर्ण कुरा हो । पार्टी चुनावमा जाने भनेकै बहुमत ल्याएर सत्तामा जानका लागि हो । नीति, कार्यक्रम कार्यान्वयन गरेर जनता र देशको सेवा गर्नका लागि हामी सत्तामा जाने हो । आफ्नै पार्टीभित्र त असहयोग, असन्तुष्टि हुने गरेको छ । गठबन्धनमा त झन् अलिकति समस्या आउँछ । मुख्य समस्या भनेको मतदान केन्द्रमा गइसकेपछि एकअर्कालाई भोट हाल्दैनन् भन्नेभन्दा पनि आफ्नो पार्टीको उम्मेदवार नभएको ठाउँमा मतदान केन्द्रमा मतदातालाई पुर्‍याउने चुनौतीपूर्ण काम हो । पार्टीको संयन्त्र लगाएर त्यो चुनौतीलाई सामना गर्छाैँ भन्ने हामीलाई विश्वास छ । पार्टीको सहयोगी गठबन्धनको उम्मेदवारहरूलाई मत दिनु हामी सबैका लागि कल्याण हुन्छ भन्ने कुरा बुझाउन गाह्रो हुन्न ।

प्रश्न : केही निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी कायम नै रह्यो, अहिले नेतृत्वले ती उम्मेदवारका विषयमा के सोचिरहेको छ ? कारबाहीले मात्रै केही नहुने भयो भोट काटिने भएपछि ?

उत्तर : यस्तो असन्तुष्टि, विद्रोह हामी एक्लै चुनाव लड्दाखेरी पनि हुने गर्थ्याे । केही न केही मार्जिन हामीले हरेक चुनावमा बेहोर्नुपर्छ । तथापि अहिले गठबन्धनका बाबजुद, धेरै ठाउँमा हाम्रो उम्मेदवार नहुनाको बाबजुद धेरै विद्रोह हुन्छ भन्ने मान्छेले अपेक्षा गरेका थिए तर त्यो भएन । धेरै ठाउँमा विद्राेही उम्मेदवारी फिर्ता भयाे । विद्राेही उम्मेदवारी कायम रहेका ठाउँमा कारबाहीका प्रक्रिया अगाडि बढेर निलम्बन, निष्कासन भइसकेको अवस्था छ । उनीहरू पार्टीमा नरहेपछि पार्टीका समर्थक, शुभचिन्तक, मतदाताले त्यहीरूपमा हेर्दैनन् । त्यस कारण उनीहरूले क्षति गराउने सम्भावना अत्यन्त कम भएर जान्छ । कत्ति पनि हुँदैन भन्ने त कुरो भएन । केही थोरै त अवश्य पनि हुन्छ । हाम्रो दलमा मात्रै त्यो खाले विद्रोहको अवस्था छैन । हरेक दलमा केही न केही असन्तुष्टि छ, त्यो सन्तुलन हुन्छ भन्ने हामीले सोचेका छौँ ।

प्रश्न : नेपाली काँग्रेसले यो निर्वाचनबाट कति संख्यामा विजय प्राप्त गर्छ ?

उत्तर : ठ्याक्कै सङ्ख्या भन्नुभन्दा पनि मङ्सिर ४ मा जनताले आफ्नो अभिमत प्रकट गर्छन् । त्यसलाई सिधै अवमूल्यन गरेर यति नै हुन्छ, उति नै हुन्छ भनेर भन्नुभन्दा पनि हामीले धेरैजसाे सिटमा विजय प्राप्त गर्छाैँ । गठबन्धन दलका उम्मेदवार पनि धेरै संख्यामा निर्वाचित भएर आउनु हुन्छ । त्यही अनुपातमा प्रदेश सभामा पनि निर्वाचित भएर आउनु हुन्छ । हाम्रो समानुपातिकतर्फको मत घट्दैन । केही बढ्ला । यद्यपि उम्मेदवार नभएको ठाउँमा त्यो चुनौतीलाई हामी वैकल्पिक प्रबन्ध गरिराखेका छौँ । समग्रमा हामी सु–स्पष्ट बहुमत प्रतिनिधि सभामा पनि ल्याउँछौँ, समानुपातिक र प्रत्यक्ष जोडेर र प्रदेश सभामा पनि सु–स्पष्ट बहुमत ल्याउँछौँ ।

प्रश्न : सरकार गठबन्धनकै बन्छ भने प्रधानमन्त्री को हुन्छ भन्ने ठूलो चासो छ, तपाईँहरूको पार्टी सभापति नै हो कि ? गठबन्धन दलका अन्य शीर्ष नेताले इच्छा व्यक्त गरेको सुनिन्छ, अझ पार्टीभित्रका केही युवा नेताले आफूलाई तयार गरेको समाचार आइरहेको छ, तपाईँहरूको बुझाइ र तयारी के हो ?

उत्तर : स्वाभाविकरूपमा गठबन्धनको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । एक सय ६५ सिटमा ९१ सिट काँग्रेसले लडेकाे छ । बाँकी चार दलले ७४ सिट लडेको छ । त्यसबाट नै नेतृत्वदायी भूमिका नेपाली कांग्रेसकै हो भन्ने स्वाभाविक नै छ । नेपाली कांग्रेसको स्वाभाविक नेतृत्व वर्तमान प्रधानमन्त्री र नेपाली कांग्रेस सभापति देउवाजी नै हुनुहुन्छ भन्ने पनि सु–स्पष्ट छ । किनकि अहिले देशले जोड्ने नेतृत्व खोजेको छ । पार्टीभित्र पनि सर्वसहमतिबाट, कसैलाई पनि चित्त नदुखाइकन निर्णय गरिरहनुभएको छ । चाहे गठबन्धनको निर्णय होस् । चाहे टिकट वितरण गर्ने निर्णय होस् । त्यति मात्रैले नपुगेर उहाँले अन्य दललाई पनि विश्वासमा लिएर कुनै गुनासो रहने ठाउँ दिनुभएको छैन । अहिलेको आवश्यकता पनि त्यो हो । धेरै कुरामात्रै गर्ने नेतृत्वभन्दा खुरुखुरु काम गर्ने नेतृत्वको अहिले आवश्यकता छ । यद्यपि बजारमा अनेक खाले कुरा गरिन्छ । त्यसलाई अन्यथा लिने कुरा छैन । तर वास्तविकता के हो भने यही नै हो । फेरि शेरबहादुरजीमा आफूलाई म हुँ भनेर नभनिरहने स्वभाव छ । सबैको विश्वास जितेर अगाडि बढ्ने स्वभाव । अस्ति प्रचण्डजीले नै नेतृत्वकाे समस्या छैन भनेर भन्नुभयाे । त्यो किसिमको विश्वास अहिलेको यो गठबन्धनमा भएको हुनाले नेतृत्वको विषयमा समस्या छैन भन्ने लाग्छ । औपचारिकरूपमा घोषणा गर्ने, नगर्ने भन्ने कुरा चाहिँ संसदीय व्यवस्थामा कहिले गरिन्छ पनि । कहिले नगरेर चुनावपछि पनि हुने गर्दछ ।

प्रश्न : गगन थापालगायतका नेताहरूले दिएको अभिव्यक्तिकै कुरा गरौँ, प्रधानमन्त्रीको उम्मेदवार हुँ भन्ने कुरा होस् चाहे संसदीय दलमा म लड्छु भनेर बाहिर आएका कुराहरूले चुनावअघि केही न केही महत्त्व राख्छन्, यो कुरालाई कसरी लिनुभएको छ ? कि यी कुराहरू गौण हुन् पार्टीका लागि ?

उत्तर : अहिले हामी सबैले केन्द्रित हुनुपर्ने चुनावमा हो । चुनावमा केन्द्रित भएर निर्वाचित भएर आउने हाे । आफू पनि निर्वाचित भएर आउने र ज्यादाभन्दा ज्यादा पार्टीका साथीहरूलाई निर्वाचित गराउने । कसलाई के हुन मन लागेको छ, पार्टी पहिला जित्नुपर्‍याे, गठबन्धनले जित्नुपर्‍याे र पार्टीले जितेपछि पनि संसदीय दलबाट संसदीय दलको नेतृत्व चुनिन्छ । त्यहाँ हाम्रो कुनै एकाधिकारवादी, अधिनायकवादी, एउटा नेताले जे भन्छ त्यो हुने पार्टी त होइन । यसको विधान छ । व्यवस्था छ । संसदीय प्रक्रिया छ । त्यहाँ जो कोहीलाई पनि जसलाई म यो हुन चाहन्छु, म यसको नेतृत्वमा जान चाहन्छु भन्ने जसलाई लाग्छ उहाँले त्यहाँ उम्मेदवारी दिन पाइहाल्नु हुन्छ नि । त्यस कारण अहिले त्यसका बारेमा बाजा बजाएर हिँड्नुपर्ने कुनै आवश्यकता ठान्दिनँ । त्यसले कुनै पार्टीको पक्षमा माहोल बन्ने र पार्टीको हित हुने मैले देख्दिनँ । पार्टीको नेतृत्व गरिरहनुभएको सभापति अहिले प्रधानमन्त्री पनि हुनुहुन्छ । उहाँले भनिरहनुभएको छ । त्यस कारण अरूले होइन म हुन्छु, म हुन्छु भनिरहनुपर्ने आवश्यकता किन पर्‍याे ? अहिले नै म यसको लायक हुँ, उसको लायक हुँ भन्नुपर्ने म देख्दिनँ ।

प्रश्न : समानुपातिकतर्फको मत बढाउनका लागि काँग्रेसले कहाँ–कहाँ, के– के गर्नुपर्छ ?

उत्तर : समानुपातिकतर्फ पार्टीले देशभरि र प्रदेशभरि उम्मेदवार खडा गरेको छ । पार्टीलाई विजय गराउनका लागि उम्मेदवार साथीहरूले मतदातालाई अनुरोध पनि गर्नुपर्छ । नयाँ मतदातालाई शिक्षा दिनु पनि जरुरी छ । समानुपातिकको लागि पनि जनताकै मत चाहिन्छ । जनताकै मतबाट चुनिने हो समानुपातिक उम्मेदवार पनि । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ निर्वाचित हुने कुरा हाम्रा लागि उत्तिकै महत्त्वपूर्ण कुरा हो । त्यही महत्त्वका साथ हाम्रो प्रत्यक्ष उम्मेदवार नभएको ठाउँमा पनि पार्टीपङ्क्ति पूरै परिचालित भएर पार्टीको पक्षमा मतदान गर्न म अनुरोध गर्न चाहन्छु ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया