‘गठबन्धनका अगाडि एमालेले केही गर्न सक्दैन भन्नेहरू अहिले एमाले माथि गयाे भन्न थाले’

 कात्तिक २९, २०७९ मंगलबार १७:३७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यही मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यकाे चुनाव हुँदैछ । चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरू मतदाताकाे घरदैलोमा पुगिरहेका छन् । दलहरूले चुनावमा आफूले जित्ने दाबी गर्दै आइरहेका छन् । यसैबीच न्युज एजेन्सी नेपालले नेकपा एमालेका नेता विष्णु रिमालसँग कुराकानी गरेकाे छ ।  

प्रश्न : चुनावमा नेकपा एमालेको अवस्था कस्तो छ ? वातावरण कस्तो छ देशभरको ? 

उत्तर : देशभरिको माहोल हेर्दा एमालेको परिस्थिति राम्रो छ । विगतमा गठबन्धनले क्षति पुर्‍याउँछ र गठबन्धनका अगाडि एमालेले केही पनि गर्न सक्दैन भन्नेहरू नै अहिले आफैँ नै एमाले माथि गयो भन्नेमा पुगेका छन् । त्यो हिसाबले हेर्दा हाम्रो पार्टी पङ्क्तिमा मनोबल बढेर गएको छ । धरातलीय यथार्थ पनि के छ भने गठबन्धनका उम्मेदवारले आफ्नो जित्नुपर्ने कारणको न्यायोचित जवाफ दिन सकिरहेका छैनन् । जनताले सोधिरहेका छन्, अब तपाईँको नेता को हो ? गन्तव्य के हो ? विषय के हो ? उहाँहरूसँग त्यो एजेन्डा छैन । फरक–फरक पार्टी मिलेर गठबन्धन बनेको कारणले गर्दा उहाँहरूको फरक–फरक जवाफ छन् । कतिपय ठाउँमा ठिक जवाफ दिँदा गठबन्धनमा दरार आउने भएकाले उहाँहरू जवाफ दिन सक्ने तहमा हुनुहुन्न । त्यो स्थितिले हामीलाई लाभ पनि भएको छ । किनभने एमालेले आफ्नो नेता अगाडि सारेको छ । एमालेले एजेन्डा सारेको छ । अझ सरल भाषामा त हामीले पाँच वर्ष एमालेले गर्छ भनेर २० वटा ग्यारेन्टी नै अगाडि सारेका छौँ । जुन हाम्रो घोषणापत्रको सङ्क्षेपीकरण जस्तै नै हो । त्यो हिसाबले सारमा भन्दा अहिले हामी अगाडि छौँ । यदि बाहिर कसैले सर्वेक्षणकै कुरा गरेर जाने हो भने पनि अहिले गठबन्धनमा रहेको शक्तिहरूको पारो ओरालो लाग्ने र एमालेको पारो उकालो लाग्ने हिसाबले गइरहेको मैले देख्छु ।

प्रश्न : हामीले विभिन्न विश्लेषण सुनेका छौँ, एमाले कतै पछि पर्दै त छैन ? बाहिर आएको तथ्याङ्कलाई लिएर तपाईँहरूको विश्लेषण के हो ? 

उत्तर : पहिलो कुरा त यो तथ्याङ्क आफैँमा नक्कली छ । किनभने सर्वेक्षण गर्नै पाइँदैन । सर्वेक्षण गर्ने भरपर्दा संस्थाहरूले सर्वेक्षण गरेका भए पनि उनीहरूले आफ्नो सर्वेक्षणको प्रतिवेदन बाहिर ल्याउन पाउँदैनन् । सरकारका संयन्त्रले गरेका कुनै त्यस्तो सूचना छन् भने पनि ती संस्थाहरूले बाहिर ल्याउन पाउँदैनन् । गृह मन्त्रीले राष्ट्रिय अनुसन्धानको सर्वेक्षण भनी नक्कली अङ्कहरु बाहिर ल्याएको मैले सुनेको छु । मलाइ के लाग्छ भने गठबन्धनका साथीहरू पराजयको मानसिकताबाट आत्तिनुभएको छ । विभिन्न ठाउँमा हिंसा पनि बढिरहेको छ । विगत केही दिनदेखि आक्रमणमा उत्रिएको छ गठबन्धन । यी गतिविधि पराजयको कारणले हतास मनस्थितिले आएको भनेर बुझ्नुपर्छ । त्यस कारणले जे तथ्य, तथ्याङ्कहरु बाहिर आइराखेका छन् ती मिथ्याङ्क मात्रै हुन् । उहाँहरू छद्म काम गरिरहनुभएको छ र छद्म कामलाई पुष्टि गर्नका लागि अन्तर्राष्ट्रिय फेक न्युज एजेन्सी, न्युज पोर्टलहरूलाई प्रयोग गर्नुभएको छ ।

प्रश्न : परिचालन र मतदाता शिक्षाको सम्बन्धमा एमाले पछाडि परेको भन्ने समाचारहरू आइराखेको छ, यसलाई कसरी व्यवस्थित गरिरहनुभएको छ ? पार्टी कमिटीहरू कसरी परिचालित भइरहेका छन् ?    

उत्तर : प्रचार, परिचालनको हिसाबले एमाले पछाडि छैन । किनभने अहिले पहिलेको भन्दा पृथक प्रचार छ । अहिले पोस्टर टाँस्न पाउँदैनौँ । जुलुस निकाल्न पाउँदैनौँ । घरदैलोमा पनि सीमित सङ्ख्यामा मात्रै जानुपर्छ । १० वटाभन्दा बढी झण्डा बोक्न पाइँदैनँ । यो आचारसंहिताको कारणले गर्दा पहिलेको जस्तो ठूलो सङ्ख्यामा जाने रौनक चाहिँ देखिँदैन । पहिलाको भौतिक उपस्थितिमा गरिने प्रचार भएन कि भन्ने लाग्नु स्वाभाविक नै हो । हामीले कमिटीले आवश्यक ठानेकाे ठाउँमा मात्रै आमसभा गरेका छौँ । अध्यक्ष जानुभएकाे ठाउँमा जनसागर उर्लिएको नै हामी पाउँछौँ । त्यो हिसाबले राम्रै देखिन्छ । हामीले बढी सामाजिक सञ्जाल प्रयोग गरेका छौँ । केही अनलाइनमा विज्ञापन गर्‍याैँ । फेसबुक इत्यादिमा बुस्ट गरेका छैनौँ । सामाजिक सञ्जालमा स्वतःस्फुर्तरूपमा लाखौँ व्यक्तिको बीचमा एमालेको प्रचार आठ/दश दिनमा व्यापक नै गइरहेको छ । 

प्रश्न : गठबन्धनले राज्यकोषको अथवा अन्य अवयवहरूको प्रयोग/दुरुपयोगको विषयमा एमालेले चासो दिएको छ कि छैन ? कत्तिको चनाखो छ ?   

उत्तर : अहिले गठबन्धन सबैखालको हतकण्डा प्रयोग गर्न पनि उद्यत रहन सक्छ, यसमा सतर्क रहनुस् भनेर हामीले पार्टी समर्थकलाई मात्रै नभएर मतदातालाई पनि भनिरहेका छाैँ । बिहानीले दिन बताउँछ भनेको जस्तै केही ठाउँमा भएका हिंसाले यो चुनाव हिंसारहित होला कि नहोला भन्ने शङ्का उत्पन्न भएको छ । स्रोत, साधनको दुरुपयोग गर्नुहुँदैन । सत्तामा रहने बढी सतर्क हुनुपर्छ । कि कानुन, आचारसंहिता नै बनाउनुहुँदैन । बनेको आचारसंहितालाई प्रभावकारी ढङ्गले पालना गर्नुपर्छ । उहाँहरूलाई बानी के परेको छ भने ७२ घण्टा मौन अवधि रहेको छ, त्याे समयमा मनलाग्दी गर्ने । किनभने अरूलाई बाहिर निस्किन पाइँदैन, बन्द गरिदिने । आफू चाहिँ प्रहरीको गाडी चढेर सुरक्षा निकायहरूलाई दुरुपयोग गर्दै घरघरमा मतलाई प्रभावित गर्दै हिँड्ने । पालिका चुनावमा पनि यस्तै देखियाे । त्यसका लागि हामीले मतदातालाई सचेत गराइरहेका छौँ । हाम्रो बुथ कमिटीहरूलाई पनि यसमा ध्यान दिनुस् भनेका छौँ । यसमा हाम्रो ध्यान गएको छ । पर्याप्त त भइसकेको छैन होला ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया