कैलालीका महिला मतदाता भन्छन् : ‘घर परिवारकै सल्लाहमा भोट दिन्छौँ’

 मंसिर १, २०७९ बिहिबार १२:३६:५३ | रासस
unn.prixa.net

कैलाली - मतदान नागरिकको व्यक्तिगत अधिकार हो । मतदान गोप्य हुने भएकाले मानिसले आफूले इच्छाएकाे व्यक्तिलाई मत दिन पाउनुपर्छ तर कैलालीका महिलाका सवालमा यो निकै कममा लागू हुन्छ । कैलालीका महिला परिवार, समाज र घरका पुरुषले भनेकै व्यक्ति तथा दललाई मतदान गर्दै आएको बताउँछन् । 

कतिपय महिला उम्मेदवार राम्रो लागे पनि परिवारका कुरा काट्न नसक्दा मन नपरेका उम्मेदवारलाई पनि मतदान गर्नु परिरहेको बताउँछन् । कैलालीकी मैना साउँदले अहिलेसम्म जतिपटक मतदान गर्नुभयो सबै श्रीमानले भनेकै उम्मेदवार र दललाई मत दिनुभएको छ । अहिलेसम्म उहाँले फरक व्यक्तिलाई मत दिनुभएको छैन । 

'अहिलेसम्म छ वटा चुनावमा मतदानमा सहभागी भएकी छु । विगतदेखि नै श्रीमान् जसलाई मत देउ भन्नुहुन्छ, उसैलाई मत हालेर आउँछु', मैना भन्नुहुन्छ, 'एक दिन मत दिनुछ । त्यसमा पनि के विवाद गर्नु ? कहिलेकाहीँ उम्मेदवार चिनेको हुँदैन, मसँग कोही मत माग्न पनि आउँदैनन्, श्रीमानसँगै कुरा गर्छन्, उहाँले भनेको मानिस नचिनेको भए पनि मत दिएकी छु ।'

कैलालीमा ५ लाख ३५ हजार ५ सय ३ मतदाता छन् । कैलालीमा पुरुषको तुलनामा महिला मतदाता धेरै छन् । कैलालीमा २ लाख ७३ हजार ८ सय ८३ महिला मतदाता छन् भने पुरुष मतदाता दुई लाख ६१ हजार छ सय २० छन् । कैलालीमा १२ हजार दुई सय ६३ महिला मतदाता बढी छन् । महिला मतदाता बढी भए पनि उनीहरू प्राय पुरुषले भनेकै ठाउँमा मतदान गर्छन् । 

कैलालीकै टीकारानी डगौरा थारु र कुच्लीदेवी डगौराले पनि घरका मानिस र गाउँका बडघरले भनेकै मानिसलाई मतदान गर्ने गर्नुभएको छ र यसपटक पनि त्यही तयारी छ । 'हामी त घरमात्र होइन गाउँकै मानिस बडघरले भनेको मानिसलाई मत दिन्छौँ, गाउँका पुरुषहरू बसेर सल्लाह गर्छन्, अनि बडघरले घरघर गएर फलानो उम्मेदवारलाई मत दिनु भन्नुहुन्छ', टीकारानीले भन्नुभयो, 'अहिलेसम्म हामीले दायाँबायाँ गरेका छैनौँ ।'

टीकापुर–२ कि खगी विक पनि श्रीमानकै निर्णयमा सहमति जनाउनुहुन्छ र मतदान गर्नुहुन्छ । 'अहिलेसम्म अप्ठ्यारो पनि लागेको छैन, घरमा सल्लाह हुन्छ अनि त्यहीअनुसार मतदान गर्ने गरिएको छ', विकले भन्नुभयो । ६० वर्ष कट्न थालेकी चन्द्रा बोहाेराले पनि श्रीमान् र छोराले भनेकै ठाउँमा मतदान गर्दै आउनुभएको छ । उहाँलाई कहिलेकाहीँ अरु उम्मेदवार राम्रो लागे पनि घरका पुरुषले भनेको कुरा टार्न सक्नुहुन्न । 'मलाई धेरै चुनावमा अरु उम्मेदवार राम्रो लागेका छन्, उनीहरू योग्य छन् भन्ने लाग्छ', उहाँले थप्नुभयो, 'तर छोराले, श्रीमानले भनेको मान्छु, घरमै धोका दिन मन लाग्दैन ।'

दीपा भण्डारीलाई आफूले इच्छाएको व्यक्तिलाई मत दिनुपर्छ भन्ने थाहा छ तर पनि परिवारले जसलाई जिताउने भन्छन् उसैलाई मत दिइरहनुभएको छ । 'हामी अहिलेसम्म राम्रोभन्दा हाम्रा उम्मेदवार जिताउने कोसिस गर्छौं', उहाँले भन्नुभयो, 'यो राम्रो होइन भन्ने थाहा छ । अहिलेसम्म त्यस्तो हिम्मत गरिएको छैन । पारिवारिक सल्लाह हुन्छ । सबै परिवार नै सल्लाहनुसार मत दिन्छौँ ।'

प्रायजसाे महिलाले मतदान श्रीमान् र परिवारको सहमतिमा गर्ने गरे पनि कतिपय महिलाले स्वविवेक प्रयोगसमेत गर्ने गरेका छन् । उनीहरूले मतदान गोग्य हुने र व्यक्तिगत अधिकार भएकाले इच्छाएको र योग्य उम्मेदरवारलाई मत दिने गरेको बताउँछन् । कैलालीकै वसन्ती फुलाराले हरेक चुनावमा आफूलाई मन परेको उम्मेदवारलाई मत दिनुभएको छ । 

'हाम्रो घरमा त्यस्तो दबाब दिने चलन पनि छैन, मैले मेरो मत कसलाई दिए मलाई मात्र थाहा हुन्छ, त्यसैले क्षमता भएको उम्मेदवार छानेर मत दिन्छु', उहाँ भन्नुहुन्छ, 'मत दिनु नागरिकको व्यक्तिगत अधिकार हो । मत दिने कुरामा कसैको दबाब सहनु हुँदैन । मताधिकार स्वविवेक प्रयोग गरी मनपरेको उम्मेदवारलाई जिताउन प्रयोग गर्छु ।'

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया