काठमाण्डौका कुनै पनि क्षेत्रमा आज मतगणना नहुने, आयोगको नयाँ निर्देशनले समस्या

 मंसिर ४, २०७९ आइतबार २३:८:३८ | अर्जुन पोख्रेल
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – काठमाण्डौ जिल्लाका १० वटा निर्वाचन क्षेत्रमध्ये आज कुनै पनि क्षेत्रको मतगणना सुरु नहुने भएको छ । यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाण्डौसहित सुगम ठाउँको मतगणना आजै सुरु हुने दाबी गर्नुभएको थियो । उहाँले ८ गतेभित्र प्रत्यक्षतर्फका सबै मतगणना सम्पन्न गरेर परिणाम सार्वजनिक गर्ने पनि बताउनुभएको छ ।

तर संघीय राजधानी काठमाण्डौका १० वटै क्षेत्रमा आज मतगणना नहुने पक्का भएको छ । काठमाण्डौका केही निर्वाचन क्षेत्रमा अझै सबै मतपत्र निर्वाचन अधिकृतले बुझिसकेका छैनन् । काठमाण्डौको क्षेत्र नम्बर एकदेखि १० सम्मका सबै निर्वाचन अधिकृतसँग उज्यालो अनलाइनले कुराकानी गर्दा सबैले आज मतगणना सुरु नहुने जानकारी दिएका छन् । 

अहिलेसम्म कुनै पनि निर्वाचन अधिकृतले मतदान अधिकृतबाट सबै मतपेटिका  बुझिसकेका छैनन ।  पहिले निर्वाचन अधिकृतले मतपेटिका बुझ्नुपर्नेछ । त्यसपछि सबै दलका प्रतिनिधि राखेर मतगणनाको प्रक्रियामा सहमति जुटाउनुपर्छ अनि मात्रै मतगणना सुरु हुन्छ । यो प्रक्रिया पूरा गर्न आज नभ्याइने निर्वाचन अधिकृतले उज्यालोलाई बताएका छन् ।

क्षेत्र नम्बर एकका निर्वाचन अधिकृत राजुकुमार खतिवडाले अहिलेसम्म मतपेटिका बुझि नसकेको बताउनुभयो । ‘एकैछिनमा मतपेटिका बुझिन्छ, अनि सर्वदलीय बैठक बस्नुपर्छ त्यसपछि मात्रै आज गणना हुने÷नहुने टुंगो लाग्नेछ’, खतिवडाले भन्नुभयो ।

निर्वाचन आयोगले अन्तिम समयमा दिएको निर्देशनले समस्या 

निर्वाचन आयोगले आइतबार बेलुका दिएको नयाँ निर्देशनले गर्दा समस्या भएको निर्वाचन अधिकृतले गुनासो गरेका छन् । यसअघि पहिले प्रत्यक्षतर्फको मतगणना गरिसकेपछि मात्रै समानुपातिकतर्फको मतगणना गर्ने निर्णय भएको थियो । निर्वाचन अधिकृतहरुले त्यसै अनुसार व्यवस्थापन गरेका थिए । तर निर्वाचन आयोगले सोमबार साँझ निर्देशन जारी गर्दै समानुपातिकतर्फको मतगणना पनि सँगै गर्नुपर्ने जनाएको छ । यसले गर्दा मतगणना स्थलको पुनः व्यवस्थापन गर्नुपर्ने देखिएको छ । किनकी ४ वटा मतपत्रको एकैपटक गणना सुरु गर्नुपर्नेछ ।

क्षेत्र नम्बर ३ की मतदान अधिकृत मन्दिरा शाहीले भन्नुभयो, ‘हामीले पहिले एक खालको व्यवस्थापनको योजना र तयारी गरेका थियौँ अब सबै काम फरक ढंगले गर्नुपर्ने भयो, दलका प्रतिनिधि बस्ने ठाउँदेखि मत गन्ने मान्छेसमेत थप्नुपर्ने भयो, गणना सुरु गर्न आज सम्भव छैन ।’

काठमाण्डौ क्षेत्र नम्बर ७ की  निर्वाचन अधिकृत उषा श्रेष्ठले पनि आयोगको पछिल्लो निर्णयले समस्या र अन्योल बढाएको गुनासो गर्नुभयो । ‘हामीलाई प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना एकैपटक गर्नु भन्ने निर्देशनले काम थपेको छ, हामीले तयारी गरेको भन्दा फरक तरिकाले मत गन्नुपर्ने भयो, त्यसैले आज सम्भव छैन’, उहाँले भन्नुभयो । 

यस्तै, काठमाण्डौ  क्षेत्र नम्बर ८ का निर्वाचन अधिकृत दीपक धितालले पनि मतपेटिका बुझ्ने काम भइरहेको र सकभर आज राति नै दलका प्रतिनिधि राखेर छलफल गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । तर आजै मतगणना सुरु गर्ने सम्भावना नरहेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया