चुनावी परिणामले मधेस प्रदेश सरकारका मन्त्रीहरुमा निराशा

 मंसिर १५, २०७९ बिहिबार १२:३९:३३ | सुजीत झा
unn.prixa.net

धनुषा - मधेस सरकारका मन्त्रीहरुका लागि यो चुनावले निराशा ल्याएको छ । प्रदेशका तीन जना  प्रमुख मन्त्रीहरु पराजित भएका छन् । मंसिर ४ गते भएको चुनावमा मुख्यमन्त्रीसहित ६ जना चुनावी मैदानमा उत्रिएका थिए जसमध्ये मधेस प्रदेश सरकार तीन मन्त्री पराजित भएका हुन् ।

मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादव र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधनप्रसाद महतो पराजित भएको निर्वाचन आयोगले जनाएको छ ।

‘प्रदेश सरकारको कामकाजले नागरिक असन्तुष्ट रहेको सङ्केत यसपालिको चुनावले दिएको,’ रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामका अवकाशप्राप्त प्राध्यापक रहेका राजनीतिक विश्लेषक शम्भुनाथ झाले बताउनुुभयो । नागरिकको भन्दा आफ्ना नातागोतालाई प्रश्रय दिएका कारण यो अहिले भएको उहाँको भनाइ छ ।

सप्तरी क्षेत्र नम्बर २ (क) बाट प्रतिस्पर्धा गरेका अर्थमन्त्री साह जनमत पार्टीका सतिशकुमार सिंहसँग  ८ हजार ४४२ मतले पराजित हुनुुभएको छ । यो क्षेत्रबाट विजयी भएका सिंहलाई १६ हजार ७३४ मत आएको थियो भने उहाँका निकटतम् प्रतिस्पर्धी रहेका ८ हजार २ सय ९२ मत ल्याउनुुभएको छ ।

यसैगरी सिरहाको क्षेत्र नम्बर २ (क) बाट चुनाव लडेका कृषिमन्त्री विजयकुमार यादवलाई जनमत पार्टीकै सञ्जयकुमार यादवले ६४४ मतले पराजित गर्नुभएको छ । योे क्षेत्रबाट विजयी भएका सञ्जयलाई १२ हजार १७१ मत आएको थियो भने उहाँका निकटतम् प्रतिस्पर्धी विजयलाई ११ हजार ५२७ मत आएको छ । 

यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतोलाई नेकपा (एमाले) का हरिनारायण महतोले १ हजार ३४२ मतले पराजित गर्नुभएको छ । यो क्षेत्रबाट विजयी भएका हरिनारायणलाई १७ हजार ३०२ मत आएको थियो भने उद्योग मन्त्री शत्रुधनलाई १५ हजार ९६० मत आएको छ । शत्रुधन एकीकृत समाजवादी पार्टीबाट प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

मधेस प्रदेश सरकारका तीन जना मन्त्री पराजित हुँदा मुख्यमन्त्री लालबाबु राउत पर्सा क्षेत्र नम्बर १ (ख) बाट, कानुन न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोदकुमार यादव सिरहा क्षेत्र नम्बर ३ (ख) बाट र गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह महोत्तरी क्षेत्र नम्बर १ (ख) बाट पुनः निर्वाचित हुुनुुभएको छ । ‘नागरिकका लागि काम गरेकाले आफूले जितेको गृह तथा सञ्चार मन्त्री साहले दाबी गर्नुभयो ।

प्रदेश सरकारका अरु मन्त्रीहरु किन हारे यसको उत्तरमा मन्त्री साहले भन्नुुभयो, ‘यो समीक्षाको विषय हो यसको हामीले पछि समीक्षा गर्ने नै छौँ।’ प्रदेश सरकारको भ्रष्टाचारका लागि पटक पटक आवाज उठाउँदै आएका सामाजिक संस्था (मास) का अध्यक्ष सरोज मिश्रले प्रदेश सरकारमा अत्यधिक भ्रष्टाचार बढेको प्रमाणसहित राख्दा पनि मुख्यमन्त्रीसहित सबैले नजरअन्दाज गर्दै आएका थिए तर नागरिकले सवक सिकाएको बताउनुुभयो ।

प्रदेश सरकारमा अरुलेजस्तो राम्रो काम गर्न नसकेको आरोप खेप्दै आएका सामाजिक विकासमन्त्री नवलकिशोर साह भने सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुुभएको छ। 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया