जनकपुरधाममा ‘शेरे मधेस’ को चर्चा

 मंसिर १६, २०७९ शुक्रबार ११:९:५६ | सुजीत झा
unn.prixa.net

धनुषा - जनकपुरधाममा हिजोआज शेरे मधेसको चर्चा चल्न थालेको छ । नेकपा एमालेका सचिव रघुवीर महासेठ र उहाँकी श्रीमती जुलीकुमारी महतो धनुषाबाट प्रतिनिधि सभामा जितेपछि एमाले कार्यकर्ताहरुले महासेठलाई ‘शेरे धनुषा’ को उपाधि दिएका छन्।

एमाले कार्यकर्ताहरु शेरे मधेस भनेर प्रशंसा गरिरहेका छन् भने कतिले आलोचना गरिएको पनि देखिएको छ ।

हेमबहादुर मल्लको कीर्तिमान भत्कियो

२०४३ सालको राष्ट्रिय पञ्चायत सदस्य चुनावमा धनुषाबाट निर्वाचित हेमबहादुर मल्ल र उहाँकी धर्मपत्नी शारदा मल्लले बनाएको कीर्तिमान यस पटक भत्किएको छ । एकै जिल्लाबाट दम्पती जितेपछि मल्ललाई त्यो बेला ‘शेरे धनुषा’को उपाधि दिइएको थियो । ‘सबैले उहाँलाई ‘शेरे धनुषा’ भनेर बोलाउन पनि थालेका थिए’ उहाँसँग काम गरेका राजनीतिकर्मी नथुनीलाल दासले भन्नुुभयो, ‘हामी त कुराकानी गर्दा पनि मल्लजीलाई ‘शेरे धनुषा’ भनेर सम्बोधन गर्ने गर्थ्याैँ ।’

त्यस चुनावमा मल्ल ९३ हजार १४९ मत प्राप्त गरी राष्ट्रिय पञ्चायत सदस्यमा विजयी हुनुुभएको थियो । मल्ल आफू मात्र अत्यधिक मतका साथ विजयी हुनुुभएन, श्रीमती शारदा मल्ललाई पनि हेमबहादुरले विजयी बनाएर राष्ट्रिय पञ्चायतको सदस्यमा जिताउनुुभयो । शारदाले ५३ हजार ९९६ मत पाउनुुभएको थियो ।

यस पटको चुनावमा एउटै जिल्ला र एउटै क्षेत्रबाट प्रतिनिधि सभाको चुनाव जितेर महासेठ दम्पतीले नयाँ कीर्तिमान बनाए । चुनावमा नेकपा एमालेका सचिव रघुवीर महासेठ र उहाँकी पत्नी जुली महतोले एकसाथ जितेर रेकर्ड बनाएका हुन् । पञ्चायतकालमा धनुषामा ‘शेरे धनुषा’को उपमा पाएका मल्ल र उहाँकी श्रीमतीले यसअघि बनाएको कीर्तिमान महासेठ दम्पतीले ३६ वर्षपछि भङ्ग गरेका छन् ।

तत्कालीन राष्ट्रिय पञ्चायतमा २०४३ सालको चुनावमा धनुषाबाट हेमबहादुर मल्ल र शारदा मल्ल एउटै जिल्लामा श्रीमान् श्रीमती विजयी भएर कीर्तिमान बनाएका थिए । मल्ल त्यतिबेला कृषिमन्त्री पनि बन्नुुभएको थियो । २०४३ सालयताका चुनावमा धनुषाबाट प्रत्यक्षमा कोही दम्पती एकसाथ विजयी भएका थिएनन् ।

यससँगै महासेठ दम्पती धनुषाबाटै प्रतिनिधि सभा सदस्य बन्ने जोडी बनेको छ । एउटै जिल्लाबाट श्रीमान्–श्रीमती दुवैले जितेको कीर्तिमान यसअघि मल्ल दम्पतीको नाममा रहेकामा त्यसलाई महासेठ दम्पतीले भत्काएका छन् । तर, यस चुनावमा महासेठ र उहाँकी पत्नी महतोले एकसाथ जितेर कीर्तिमान बनाएपछि धनुषाबासीले ‘शेरे मधेस’को उपमा दिएका छन् ।

धनुषा– ४ मा रघुवीर सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, जसपालगायतका उम्मेदवारसँग एक्लै प्रतिस्पर्धा गरेर चुनाव जित्नुुभएको हो भने धनुषा–३ मा जुलीलाई जसपाले समर्थन गरेको थियो । महासेठले यादवलाई १२४ मतान्तरले हराउनुुभएको हो ।

यसैगरी जुलीले ५ दलीय गठबन्धनका उम्मेदवार तथा लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झालाई ९ हजार ६६९ मतान्तरले पराजित गर्नुुभएको हो । यसका साथै जुलीका दाजु वीरेन्द्र महतो पनि यस पटकको चुनावमा विजयी हुुनुुभएको छ । जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका महतोले सिरहा– ४ बाट जित हात पार्नुभएको हो ।

यसअघि २०७० सालको संविधान सभा चुनावमा पनि महासेठ दम्पती नै एमालेबाट उम्मेदवार थिए । तर, त्यतिबेला दुवै जना हारेका थिए । महासेठ कांग्रेसका चन्द्रमोहन यादवसँग र महतो कांग्रसकै विमलेन्द्र निधिसँग पराजित भएका थिए ।

धनुषाको मात्रै नभइ मधेसको शेर

एमालेका प्रदेश सभा सदस्य शिवशंकर साह ‘हिरा’ले सामाजिक सञ्जालमा लेख्नुुभएको छ, ‘रघुवीर महासेठ शेरे धनुषा मात्रै होइन, शेरे मधेस हुन् ।’ उहाँले उज्यालोसँग कुरा गर्दै भन्नुुभयो, ‘रघुवीर दम्पतीले धनुषा मात्रै जित हासिल गरेको छैन मधेसको कमाण्डर भएर प्रदेशभरि एमालेको झण्डा फहराएकाले नै हामीले शेरे मधेस भनेका छौँ ।’

प्रतिनिधि सभामा मधेस प्रदेशका ३२ वटा सिटमध्ये एमालेले ९ सिट जितेको छ । प्रदेश सभाको ६४ सिटमध्ये १५ सिटमा जित हासिल गरेर एमाले पहिलो पार्टीका रूपमा स्थापित भएको छ । समानुपातिकतर्फ जारी मत परिणामअनुसार कांग्रेसभन्दा थोरै मतले मात्र एमाले पछाडि परेको छ । 

२०७४ सालको चुुनावमा प्रतिनिधि सभामा धनुषा– ४ र सर्लाही– ३ मा सीमित भएको एमालेले यस पटक ती दुवै ठाउँलाई सुरक्षित राख्दै थप ७ स्थानसहित ९ सिट जितेको हो ।

‘शेरे मधेस’को विरोध पनि

महासेठलाई शेरे मधेस भन्न थालेपछि विरोध पनि हुन थालेको छ । राजविराजबाट पत्रकार प्रभाषचन्द्र झा सामाजिक सञ्जालमा लेख्नुहुन्छ – ‘हेमबहादुर मल्ल पत्नीसहित जितेपछि दोहोर्याएर जित्न सकेनन् । त्यो इतिहासको पुनरावृत्ति नहोस् ।’

शिक्षक सुदी मण्डल लेख्नुहुन्छ, ‘नेतामा घमण्डको जन्म दिने भनेको कार्यकर्ताले नै हो । अहिलेका नेताले कार्यकर्ताको चाप्लुसीबाट पाउने नाम ‘मसिहा’ पनि हो !’

बैंककर्मी कुन्दन कौशिक लेख्नुहुन्छ, ‘चाप्लुसी एउटा महत्त्वपूर्ण उपाय .....भन्नका लागि जे पनि भन्न सकिन्छ शेरे मधेस किन शेर पृथ्वी भन्नुस् । तर काम पनि त्यही रुपमा हुनुपर्छ ।’

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • charleshicktw

    Dec. 5, 2022, 4:59 a.m.

    Hello. And Bye.

  •  0 Reply

तपाईको प्रतिक्रिया