घाटापूर्ति गर्न आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य

 मंसिर १७, २०७९ शनिबार १२:४२:३३ | रासस
unn.prixa.net

काठमाण्डाै - भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम अहिले २७ अर्ब रुपैयाँ घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो ।

निगमले शुक्रवार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ । इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट यही १५ मङ्सिरमा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा  केही घटेर आएको छ ।

'मङ्सिर १५ गते पाएको खरिद मूल्यसूचीबमोजिम एलपी ग्यासमा प्रतिसिलिण्डर ४३ रुपैयाँ ९३ पैसा बढेर आएको छ । एलपी ग्यासमा निगमलाई अहिले प्रतिसिलिन्डर दुई सय ७७ रुपैयाँ २ पैसा घाटा भइरहेको छ', विज्ञप्तिमा भनिएको छ, 'निगमले इन्डियन आयल कर्पोरेशनलाई अहिलेसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब २७ अर्ब रुपैयाँ तिर्न बाँकी छ ।'

ग्यास सिलिन्डर बिक्रीबाट मात्र निगमलाई १५ दिनमा ३६ करोड ८५ लाख रुपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ । यद्यपि पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा मूल्य घट्दा पनि यथावत् राख्दा १५ दिनमा करिब ५८ करोड रुपैयाँ नाफा हुने निगमले जनाएको छ ।

'अहिले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पदार्थको मूल्य पुनःघटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सञ्चालन राख्न र इन्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवम् सरकारलाई उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई चुनौती रहेकाले अहिलेलाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत् राखिएको छ', विज्ञप्तिमा भनिएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया