मधेस प्रदेशमा हाम्रो पार्टी विना सरकार बन्न नसक्ने स्थिति छ : सीके राउत

 मंसिर १८, २०७९ आइतबार १२:११:३० | वैद्यनाथ पाैडेल
unn.prixa.net

राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सीके राउत कुनै समय मधेसमा सशस्त्र विद्रोह तथा विखण्डनको राजनीति गर्नुहुन्थ्यो । तर, समय फेरिएसँगै उहाँको अवधारणा पनि फेरिएको छ । विखण्डन र विद्रोहको त्यो राजनीतिबाट अहिले उहाँ संसदीय राजनीतिमा आउनु भएको छ । संसदीय राजनीतिमा आउँदै गर्दा उहाँले पहिलो प्रयासमै सफलता पाउनु भएको छ । मङ्सिर ४ मा सम्पन्न चुनावमा प्रतिनिधि सभातर्फ उहाँ आफैँले जित हासिल गर्नु भएको छ । त्यो पनि ठूलो मतान्तरबाट । यो जित पनि लामो समयदेखि मधेसको हक, हित तथा पहिचानको लडाइँ लड्दै आउनु भएका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराएर । यस अर्थमा पनि यो जितले वि अर्थ राख्छ । यिनै र यस्तै विषयमा हामीले उहाँसँग कुराकानी गरेका छौँ।

प्रतिनिधि सभाको भर्खर सम्पन्न चुनावमा विजय प्राप्त गर्नु भएको छ र संसदीय राजनीतिको मूलधारमा आउनुभएको छ, यो जितसम्म आइपुग्न कति समय लाग्यो ?

धेरै समय लाग्यो । लगभग एक दशकदेखि नै हामी संघर्ष गर्दै आएका छौँ । त्यो पनि विभिन्न चरणमा पटक पटक गिरफ्तारी दिँदै, पटक पटक यातना भोग्दै, नजरबन्दमा पर्दै र हाम्रा सयौँ कार्यकर्तामाथि राज्य विप्लवसम्मको मुद्दा लगाउँदै संघर्ष गर्दै हामी यहाँसम्म आएका हौँ । 

यहाँहरु विखण्डको राजनीतिबाट संसदीय राजनीतिमा प्रवेश गर्दै पहिलो पटक संसद् प्रवेश गर्दै हुनुहुन्छ, कस्तो लागिरहेको छ ? 

राम्रो लागिरहेको छ र बढी जिम्मेवारी महसुस भइरहेको छ । त्यो कुरा तपाईँहरुले पनि बोली व्यवहारमा धेर थोर परिवर्तन हेर्नु भएको होला शायद । 

मधेस टुक्र्याउनुपर्छ भनेर सशस्त्र विद्रोह गर्दै आउनुभएकाे थियो अहिले भने तपाईँहरु संसदीय राजनीतिमा प्रतिबद्ध भएरै आउनु भएको हो ?

हामीले स्वतन्त्रताको कुरा गर्दै आए पनि जहिले पनि शान्तिपूर्ण मार्गमा अडिग रह्यौँ यसमा म स्पष्टोक्ति दिन चाहन्छु । त्यसपछि नयाँ संविधान जारी भयो । देशमा गणतन्त्र, संघीयता संस्थागत भयो र एउटा नयाँ परिवेश जन्मियो । त्यो नयाँ परिवेशमा हामीले आफ्नो परिवेशमा रहेर हाम्रा माग, मुद्दाहरु सम्बोधन गर्न सक्छौँ, समाजको लागि केही गर्न सक्छौँ भनेर प्रतिबद्ध भएरै अगाडि आएका हौँ । 

नयाँ संविधान जारी भइसकेपछि केपी ओली सरकारमा आएर वार्ता भएपछि तपाईँहरु वार्तामा आएर बल्ल शान्तिपूर्ण राजनीतिमा आउनु भएको हो, शान्तिपूर्ण राजनीतिमा आउनुमा त्यही नै कारक हो कि अरु केही छ ?

नयाँ संविधान त २०७२ सालमा जारी भएको हो । तर, हामीले उठाएका मुद्दाहरु त त्यो भन्दा अगाडिदेखि नै थियो । मैले पुनः भन्न चाहेँ हामी जहिले पनि शान्तिपूर्ण मार्गद्वारा, अहिंसात्मक मार्ग अंगिकार गरेर नै अगाडि बढेका थियौँ । त्यसकारण २०७२ सालको संविधान जारी भएपछि संघीयता, गणतन्त्र अहिले संस्थागत भएर लागू भएको अवस्थामा छ । यसमा हाम्रा पनि केही माग सम्बोधन भएका छन् । 

तपाईँ ओशो सन्यासीका रुपमा तपोवनमा गएर साधनामा पनि लाग्नु भएको छ, शान्तिपूर्ण मार्गमा आउनुको पछाडि यो पनि कारण हो कि ?

ओशो सन्यास त भर्खरै लिएको हो । दृष्टिकोणबाट अभिप्रेरित चाहिँ पहिलेदेखि नै थिएँ । आध्यात्मिक मार्गमा पहिलेदेखि लागिरहेको मान्छे हुँ । त्यसले गर्दा निःस्वार्थ भावले राजनीतिमा लाग्न प्रेरित गरिरहन्छ । त्यो पहिले पनि थियो । त्यसैले पहिला त्यो हदको आन्दोलन गर्न पनि सकेँ । अहिले त मूलधारको राजनीतिमा आएर केही गर्न सकिन्छ कि भनेर विश्वास गरेर नै मूलधारको राजनीतिमा आएका हौँ । 

मधेसको मुद्दा उठाएर लामो समय मधेसको पहिचानको राजनीति गर्दै आउनु भएका जसपाका अध्यक्षलाई भारी मतले पराजित गरेर अहिले संसदमा जाँदै हुनुहुन्छ, उहाँलाई मत नदिएर तपाईँलाई मधेसवासीले जिताउनुको कारण के होला जस्तो लाग्छ ?

उहाँलाई तीन पटक मत दिएर १५ वर्षसम्म मधेसवासीले सत्तामा राखिरहे । पछिल्लो पटक मधेसमा प्रदेश सरकार पनि बनाइ रहे । यति हुँदा पनि संघीयताबाट जनताको जुन अपेक्षा थियो, उहाँहरु सत्तामा गएपछि मधेसवासीकाे जुन माग पूरा होला भन्ने अपेक्षा थियो त्यो पूरा हुन नसक्दा खेरि मधेसवासीले हामीलाई मौका दिएका हुन् । र, एक दशकको जुन हाम्रो पृष्ठभूमि रह्यो, जुन निःस्वार्थ भावले हामी राजनीतिमा लागिरह्यौँ त्यसले गर्दा नागरिकले हामीलाई सेवा गर्ने मौका दिएका हुन् ।

अब तपाईँहरु मधेसका मुद्दा तथा एजेण्डालाई कसरी अगाडि बढाउनुहुन्छ ?

हामी मधेसका राजनीतिक मुद्दाहरु मात्र सम्बोधन गर्नतिर लाग्दैनौँ कि हामी जनताका सरोकारका मुद्दाहरु, सेवा प्रवाहका विषयहरु, सुशासनका विषयहरुमा पनि बढी ध्यान केन्द्रित गर्दैछौँ । त्यही भएर मधेसमा शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्यायका जुन मुद्दाहरु छन् त्यसलाई टड्कारो रुपमा उठाइरहेका छौँ । र, यसभन्दा अगाडिका राजनीतिक पार्टीहरुले देशमा जुन गणतन्त्र ल्याए, संघीयता ल्याए, लोकतन्त्रका रक्षाका लागि लागिरहे त्यसका लागि हामी अघिल्ला दलहरुलाई धन्यवाद पनि दिन चाहन्छौँ । तर, अब हामी जनसरोकारका विषयहरुलाई टड्कारो रुपमा उठाएर जनताको माग पूरा गर्नेतिर लाग्छौँ । 

अहिले पनि मधेसका विभिन्न एजेण्डा तथा नागरिकताको विषयमा मधेसी दलहरुले आवाज उठाइ नै रहेका छन् यी एजेण्डामा तपाईँहरुको हेर्ने दृष्टिकोण के हो ? 

नागरिकताको समस्या पक्कै पनि नयाँ समस्या होइन । यो २००४ सालदेखिको समस्या हो । त्यो सम्बोधन नहुनुका पछाडि पनि हामी राजनीतिक समस्यामा केन्द्रित रह्यौँ र सत्तासम्म पुगेपछि ती एजेण्डालाई वा भर्नौँ ती एजेण्डालाई सत्तासम्म पुग्ने एउटा माध्यमको रुपमा प्रयोग गर्दा ठोसरुपमा सम्बोधन हुन सकेन । त्यही भएर अब हामी सकेसम्म यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर यो मुद्दाप्रति इमानदार रहेर अगाडि बढ्छौँ र सम्बोधन गराउने भरपुर प्रयास गर्छौँ । 

अब आउने संसदमा तपाईँको भूमिका तथा एजेण्डा कस्तो रहन्छ ? 

मैले भनिहालेँ प्रमुखरुपमा सुशासन र सेवा प्रवाहका एजेण्डाहरु छन् । त्यसबाहेक राजनीतिक रुपमा स्वायत्तता पनि छ । नागरिकताको सवाल पनि छ, किसान आन्दोलनका मुद्दाहरुको सम्बोधनको कुरा अनि राजनीतिकरुपमा भन्नुपर्दा निर्वाचन क्षेत्रको पुनरावलोकन गर्ने कुरा, अधिकार बाँडफाटको कुरा, समानुपातिक समावेशिताको कुराहरु भए, यी कुराहरुको संरक्षण गर्दै हामी अगाडि बढ्छौँ । 

स्वायत्तताको कुरा गर्नुभयो, जनमत पार्टीले खाजेको स्वयत्तता कस्तो हो ?

अहिले प्रदेश जुन बनेको छ त्यो एकदम प्रशासनिक इकाइ जस्तो मात्र हुन आयो । प्रभावकारी रुपमा संघीयता जसरी लागू हुनुपथ्र्यो त्यसरी लागू भएको देखिएन । त्यसकारण प्रदेशलाई जुन अधिकार आवश्यक छ, जुन निर्णयहरु आफैँले गर्न सक्नुपर्छ त्यो निर्णय गर्न सक्ने अधिकार प्रदेशलाई दिँदै त्यस्तो खालको अधिकारको बाँडफाट हुनुपर्छ । यस रुपमा भ्रममा नरहन म आग्रह गर्छु देशको अखण्डतालाई कायम राख्दै यो स्वायत्तताको कुरा गरेको हुँ । यसमा कसैलाई आशंका नगर्न पनि म आग्रह गर्न चाहन्छु । 

अहिले केही राजनीतिक दलहरुले प्रदेशको खारेजी हुनुपर्ने माग गरेका छन्, यसमा जनमत पार्टीको धारणा के हो ?

संघीयता यो देशको लागि एकदमै आवश्यक छ । बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय, बहुराष्ट्रिय भन्दा पनि हुन्छ । त्यसकारण यहाँ संघीयता आवश्यक छ । कसैले संघीयता चाहिँदैन भन्छ भने त्यसको समाजमा पकड नभएको राजनीतिक रुपले नयाँ भन्ने बुझिन आउँछ । त्यसैले संघीयता यो देशमा एकदमै आवश्यक हो । त्यसको प्रमाण हामी आफैँ हो । संघीयता आएपछि हामी राजनीतिको मूलधारमा आयौँ । यो आफैँमा संघीयतको सफलताको ज्वलन्त उदाहरण हो । 

अहिले सत्ता गठबन्धन सरकार बनाउने तयारीमा जुटेको छ यसमा तपाईँ सरकार गठनमा सहभागी हुने सोचमा हुनुहुन्छ ?

हामी तीनवटै मोडालिटिका लागि तयार छौँ । त्यो भनेका हामी प्रतिपक्षमा बस्न पनि डराउँदैनौँ । सरकारलाइ समर्थन दिने तर, सरकारमा नजाने र अर्को भनेको सरकारमा आफैँ सक्रिय रुपमा जाने । यो तीनवटै मोडालिटिका लागि हामी ओपन छौँ । खासगरी मूलकुरा वा हाम्रो बटमलाइन भनेको के हो भने नागरिकको अपेक्षा र विश्वास गुम्नु भएन । नागरिकको भरोसा टुट्नु भएन । हामी त्यहाँ पुगेपछि काम गर्ने वातावरण हुनुपर्यो । खाली पद ओगट्नका लागि हामी जना चाहेका छैनौँ । काम गर्न सक्ने र केही गरेर देखाउने वातावरण हुनुपर्यो । त्यो जसले गर्ने वातावरण दिन्छ हाम्रो समर्थन त्यतैतिर रहन्छ । 

धेरैजसो नयाँ राजनीतिक पार्टीहरु बहिर बस्दा चर्का कुरा गर्ने तर, सरकारमा गइसकेपछि भने सबै उस्तै भने जस्तो देखिएको छ, यसमा तपाईँहरुसँग नयाँ केही गरेर देखाउने योजना छ ?

खासमा एक दुई जना मान्छे मन्त्री बन्दैमा वा कसैको नेतृत्वमा सरकार बन्दैमा रातारात परिवर्तन नहुनुका कारण यो देश कुनै मन्त्री मात्रले चलाउने होइन । देशमा ठूलो कर्मचारीतन्त्र छ । विभिन्न सञ्जालहरु छन्, लगानीकर्ताहरु छन, विभिन्न शक्ति केन्द्रहरुको स्वार्थ बाझिएको अवस्था रहन्छ । ती सबै कारणले कस्तो हुन्छ भने एउटा ठूलो हात्तीलाई धकेलेको जस्तो हुन्छ खासमा । बाहिरबाट हिम्मत गरेर त्यहाँसम्म त पुग्छन् तर, त्यहाँ गएर हात्तीलाई धकेल्न सक्दैनन् । त्यसैले निराशाजनक स्थिति आउँछ । त्यही भएर त्यसबाट अलि सतर्क भएर कहाँ चाहिँ केही गर्न सकिन्छ, कसरी गर्न सकिन्छ त्यसमा सचेत रहेरै हामी अगाडि बढ्छौँ । 

तपाईँहरुको त्यति ठूलो संख्या नरहे पनि अहिले मधेस प्रदेशको मुख्यमन्त्रीको दाबी गरिरहनु भएको छ, के त्यो सम्भव छ ?

मधेस प्रदेशमा अहिले जनमत पार्टी निर्णायक भूमिकामा छ । हाम्रो पार्टी विना अहिले सरकार बन्न नसक्ने स्थितिमा छ । अर्को कुरा मधेसमा गाउँ गाउँ पुगेर बुझ्ने कुनै दल छ भने त्यो जनमत पार्टी हो । मधेसका समस्याहरु, सामाजिक कुराहरु, सामाजिक संरचनासँग अवगत भएको कुनै दल छ र गाउँ गाउँसम्म पुगेर आफ्नो संरचना फैलाएको कुनै दल छ भने त्यो जनमत पार्टी हो । त्यही भएर जनमत पार्टीलाई त्यहाँको नेतृत्व दियो भने प्रभावकारी तरिकाले काम गर्न सक्छ । त्यहाँको प्रदेशको विकासको लागि राम्रो काम गर्न सक्छ । त्यसकारण जनमत पार्टीलाई मौका दिनुपर्छ । सिटको हिसाबले पनि निर्णायक भूमिकामा रहेको हुनाले दाबी गर्नु उपयुक्त नै देखिन्छ । 

शान्तिपूर्ण राजनीतिमा आइसकेपछि पनि सुशासनका मुद्दामा जनमत पार्टीले विभिन्न कार्यालयमा गरको प्रदर्शन अलि हिंसात्मक भयो भन्ने आरोप छ नि ?

हामी जहिले पनि शान्तिपूर्ण थियौँ । अहिले पनि शान्तिपूर्ण छौँ । र आउँदो दिन पनि शान्तिपूर्ण नै रहनेछ । यसमा कुनै विवाद र द्विविधा छैन । 

अन्तिम अपडेट: चैत १५, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया