पोखरामा किरियापुत्रीलाई जातीय विभेद गर्ने तीन जनालाई एक वर्ष कैद

 मंसिर २०, २०७९ मंगलबार ८:५१:५४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - सार्वजनिक किरियापुत्री भवनमा जातीय विभेद गरेको भन्दै जिल्ला अदालत कास्कीले तीन जनालाई कैद र जरिबाना तोकेको छ । पोखरा १६ बाटुलेचौरमा किरियापुत्रीमाथि विभेद गर्ने तीन जनालाई जनही एक वर्ष कैद, ५० हजार जरिबाना र पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले सोमवार पीडक देवबहादुर थापा, रामबहादुर जिसी र जनक क्षेत्रीलाई कारबाहीकाे फैसला सुनाउनु भएकाे हाे । 

न्यायाधीश भट्टराईले जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय ) ऐन २०६८ को दफा ७ को १ (क) अनुसार फैसला गर्नुभएकाे हाे। ऐनको दफामा जातीय विभेद र अन्य भेदभाव गरेमा अभियुक्तलाई तीन महिनादेखि ३ वर्षसम्म कैद सजाय, ५० हजारदेखि २ लाख जरिबाना, पीडितलाई २ लाख रुपैयाँसम्म क्षतिपूर्तिको व्यवस्था गरेको छ ।

पोखरा महानगरपालिका १६ बाटुलेचौरमा रहेको सार्वजनिक किरियापुत्री भवनमा किरिया बस्नका लागि चाबी माग्दा स्थानीय मोहनकुमार सुनारलाई जातीय भेदभाव गरेका थिए ।  जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला सहायक न्यायाधीवक्ता महेश अर्याल र पीडितकोतर्फबाट शिव सुनारले बहस गर्नुभएकाे थियाे । 

पोखरा १६ बाटुलेचौरमा २०७७ वैशाख १४ गते किरियापुत्री भवनको चाबी माग्दा मोहन सुनारलाई भेदभाव भएको भन्दै वैशाख १८ गते जाहेरी दिएका दिनुभएकाे थियाे । जाहेरी दिएको केही समयपछि प्रहरीले आरोपितहरुलाई पक्राउ गरेर अदालतमा थुनछेकको बहस हुँदा जनही १ लाख ७० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

तस्बिर : जिल्ला अदालत कास्कीकाे फेसबुक 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया