एकीकृत खाद्य तत्त्व व्यवस्थापन प्रणाली नै अहिलेको उपयुक्त प्रणाली : माटो विज्ञ डा. ओझा

 मंसिर २०, २०७९ मंगलबार २०:१६:१४ | श्यामशितल परियार
unn.prixa.net

स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान खिच्न र माटोको स्रोतको स्थायी व्यवस्थापनसम्बन्धी जनजागरुकता फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा विश्व माटो दिवस मनाउने गरिन्छ । नेपालमा पनि बर्सेनि विभिन्न कार्यक्रम हुँदै आएका छन् । नेपालमा रासायनिक मलको बढ्दो प्रयोगले माटोको गुणस्तरमा ह्रास हुँदै गएकोप्रति चिन्ता व्यक्त भइरहेको पाइन्छ । यसै सन्दर्भमा नेपालको माटोको अवस्थालगायतका विविध पक्षका विषयमा केन्द्रित रही लमजुङका उज्यालो सहकर्मी श्यामशितल परियारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का माटो वैज्ञानिक डा. रोशनबाबु ओझासँग संक्षिप्त कुराकानी गर्नुभएको छ ।      

नेपालमा माटोको वर्तमान अवस्था कस्तो छ ? 

नेपालको माटोमा प्राङ्गारिक पदार्थ घट्दो पाएका छौँ । तराईमा माटोको प्राङ्गारिक पदार्थको अवस्था झनै विकराल अवस्थामा छ । प्राङ्गारिक पदार्थ बढाउन काम गर्नुपर्ने जरुरी छ । नेपालको माटोमा नाइट्रोजनको कमी नै छ । अहिले आएर पोटासियमको पनि कमी छ । पोटासियमका लागि किसानलाई हामीले खुर्सानी मल हाल्न सिफारिस गर्छौँ तर उहाँहरूले हाल्नु हुँदैन । किसानले युरियासँगै खुर्सानी मल पनि हाल्नुपर्ने आवश्यकता छ । नेपालको पहाडतिर  भू–क्षयको समस्या छ । त्यसको रोकथामका लागि पनि विभिन्न उपाय अपनाउनुपर्ने हुनसक्छ ।

प्राङ्गारिक पदार्थलाई माटोको आधारका रूपमा पनि लिइन्छ । माटोमा प्राङ्गारिक पदार्थको मात्रा कति हुनुपर्ने हो ? मात्रा बढाउन किसानले के/के गर्नुपर्ने हुन्छ ?

माटोमा कम्तीमा दुई प्रतिशत प्राङ्गारिक पदार्थ हुनुपर्छ । नेपालको माटोमा हामीले हेर्ने हो भने तल तराई भागको माटोमा पनि एक प्रतिशतभन्दा कम कार्बन भएको अवस्था छ । यस्तो अवस्थामा किसानले माटोमा प्राङ्गारिक पदार्थ बढाउन सबैभन्दा पहिले खेतबारीमा चाहिँदो प्राङ्गारिक मलको प्रयोग गर्नुपर्छ । 

खेतबारीमा बालीनाली काटेपछि बाँकी वस्तुहरूलाई कतिपय ठाउँमा गाईवस्तुलाई खुवाइन्छ । त्यो त राम्रो भयो । गाईवस्तुलाई खुवाएपछि त्यो मलको रूपमा खेतबारीमा नै प्रयोग हुन्छ । तर कतिपय ठाउँमा जलाउने, डढाउने गरिन्छ । त्यसो गर्नु हुन्न । लमजुङतिर ढोडहरू जलाउने गरिन्छ । त्यो राम्रो होइन । त्यसलाई कम्पोस्ट बनाएर प्रयोग गर्न सकेमा राम्रो हुन्छ । बालीनालीको जुन हामी ‘रेगीड्यु’ भन्छौँ । त्यसलाई फेरि खेताबारीमा पुनः प्रयोग गरियो भने माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढाउन सकिन्छ ।

जथाभाबी विषादी र रासायनिक मलको प्रयोगले माटोको अवस्था बिग्रँदै गएको यसका जानकारहरू बताउँछन् । प्राङ्गारिक खेतीमा खासै किसान आकर्षित भएको पनि पाइँदैन । किसानलाई आकर्षित र प्रेरित गर्न के गर्नुपर्ला ?

रासायनिक मलको मात्रै भर पर्दा कृषिमा माटोको अवस्था बिग्रँदै जानेमा दुई मत छैन । प्राङ्गारिक खेतीमा जाने धेरै उपायहरू छन् । प्राङ्गारिक खेती भन्ने बित्तिक्कै बिउ, मल यी सबै प्राङ्गारिक हुनुपर्छ । प्राङ्गारिक खेतीमा जान राज्यको नीति आवश्यक हुन्छ । किसानले पनि खेतबारीमा कम्पोस्टिङ, सुक्ष्म जीवाणुको प्रयोग गर्नुका साथै स्थानीयस्तरमा उपलब्ध प्राङ्गारिक पदार्थका स्रोतहरूको पहिचान गरी प्रयोग गर्न सकेमा प्राङ्गारिक खेतीमा उन्मुख हुन सक्छौँ । 

तर हामी प्राङ्गारिक खेतीमै उन्मुख हुनुपर्छ भन्दा पनि अहिले एकीकृत खाद्य तत्त्व व्यवस्थापन प्रणालीमा जानुपर्छ । अहिले पूर्णरूपमा रासायनिक पद्धतिलाई छाडेर प्राङ्गारिकमा गइहाल्न सक्ने अवस्था पनि छैन । 

किसानले आफ्नै ढङ्गले कृषि कर्म गरिरहनुभएकै हुन्छ तर आफूले खेती गरिरहेको माटोको वास्तविक अवस्था के–कस्तो छ भनि कसरी थाहा पाउने ? 

खेतबारीमा माटोको जाँच अत्यन्तै आवश्यक हुन्छ । वर्षमा कम्तीमा पनि एक पटक माटोको जाँच गर्नुपर्ने हुन्छ । धान काटिसकेपछिको अवस्थामा माटोको नमुना लिन अत्यन्तै उपयुक्त हुन्छ । लमजुङका किसानले पोखरामा क्षेत्रीय प्रयोगशालमा पठाइ माटोको जाँच गर्न सकिन्छ । 

वर्षको चार/पाँच लाख रुपैयाँ बजेट छुट्याइ पालिकाले हामीहरूसँगको सम्पर्क–समन्वयमा स्थानीयस्तरमै एउटा ल्याब स्थापना गरी एक जनालाई ‘ट्रेन्ड’ गरी खटाउन सकेमा माटोको जाँच गर्नुका साथै माटोको महत्त्व बुझाउन सकिन्छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया