धनुषाबाट समानुपातिकतर्फ प्रतिनिधि सभामा ५ र प्रदेश सभामा १० सांसद छानिए

 मंसिर २५, २०७९ आइतबार १३:२०:१३ | सुजीत झा
unn.prixa.net

धनुषा - धनुषाबाट प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ पाँच जना र मधेस प्रदेश सभाका लागि १० जना सांसद छानिएका छन् । 

प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसबाट विमलेन्द्र निधि, मुक्ताकुमारी यादव, एमालेबाट प्रतीक्षा तिवारी मुखिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनिष झा, जनमत पार्टीबाट अनिता देवी साह समानुपातिक सदस्यमा छनाेट भएका हुन् । माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने समानुपातिककाे सूचीमा धनुषाबाट कसैकाे नाम समावेश गरेका छैनन्। 

नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधि पटक पटक प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षबाट निर्वाचित हुनुभएकाे थियाे । तर यस पटक कांग्रेसले उहाँलाई समानुपातिक कोटामा राखेको छ । यस्तै एमालेबाट समानुपातिककाे सूचीमा पर्नु भएकी मुक्ताकुमारी यादव दोस्रो संविधान सभा चुनावमा नेपाली कांग्रेसबाट मनोनीत हुनुभएकाे थियाे । 

एमालेबाट समानुपातिक सांसद बनेकी प्रतीक्षा तिवारी मुखिया पनि संविधान सभा २ मा माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य बन्नुभएकाे थियाे । माओवादी परित्याग गरेपछि यसपालि उहाँलाई एमालेले समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य बनाएको छ । मनिष झा र अनिता देवी साह भने पहिलाे पटक सांसद बन्नुभएकाे हाे । अनिता देवी साह जनकपुरधाममा भएको बमकाण्डमा दोषी देखिएपछि जेल पर्नु भएका पूर्व मन्त्री सञ्जय साह टकलाकी बहिनी हुनुहुन्छ । 

प्रदेश सभामा समानुपातिकतर्फ कांग्रेसबाट अञ्जना पण्डित, एमालेबाट पलेटीदेवी महरा, पल्टीदेवी यादव, फुलोकुमारी देवी, शिला यादव, नाजिमा खातुन, एकीकृत समाजवादीबाट रत्नेश्वर गोइत यादव, माओवादीबाट शारदा दास पहाडी, सुनिता यादव र जसपाबाट ममता मण्डलकाे नाम पठाइएकाे छ । 

 एमालेबाट रघुवीर महासेठ र उहाँकी पत्नी जुलीकुमारी महतो भने प्रतिनिधि सभामा प्रत्यक्षतर्फबाटै विजयी भइसकेका छन् । महासेठ धनुषा क्षेत्र नम्बर ४ र महतो धनुषा ३ बाट विजयी भएका हुन् ।

यस्तै, एमालेले प्रदेश सभामा धुनषाबाट एकै पटक पाँच जनालाई सांसद बनाएको छ । धनुषा २ (१) बाट लखन दास, धनुषा ४ (२) बाट हरिनारायण महतो, धनुषा ३ (२) मा दिपेन्द्र ठाकुर, धनुषा १ (२) बाट रामचन्द्र मण्डल विजयी भएका छन्। मधेस प्रदेशमा धनुषा जिल्लाबाट नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, जनमत, लोसपा र राप्रपाबाट भने समानुपातिकतर्फ सांसद चुनिएका छैनन् । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया