अल्पमत र बहुमतकाे विवादका कारण मधेस प्रदेशका आधा दर्जनभन्दा बढी पालिका बजेटविहीन

 मंसिर २६, २०७९ सोमबार १२:२३:१२ | सुजीत झा
unn.prixa.net

धनुषा - अल्पमत र बहुमतकाे विवादका कारण मधेस प्रदेशका आधा दर्जनभन्दा बढी पालिका बजेटविहीन भएका छन् । धनुषाका तीन, सिरहाका दुई, रौतहटका दुई र सर्लाहीका एक पालिका बजेटविहीन भएका हुन् । 

सिरहाको १७ पालिकामध्ये कर्जन्हा नगरपालिका र औरही गाउँपालिकाले बजेट विनियाेजन गराउन सकेका छैनन् । धनुषाको १८ पालिकामध्ये कमला नगरपालिका,  नगराइन नगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाले अझै बजेट ल्याउन सकेका छैनन् ।

रौतहटको १८ पालिकामध्ये बजेट नल्याउने पालिकामा बौधीमाई नगरपालिका र यमुनामाई गाउँपालिका रहेका छन् । त्यस्तै, सर्लाहीको २० पालिकामध्ये विष्णु गाउँपालिकाले बजेट ल्याउन बाँकी छ। धनुषाका ३ वटा नगरपालिकाकाे पनि उही समस्या छ ।

बजेटविहीन भएपछि धनुषाका नगराइन, कमला र क्षीरेश्वरनाथ नगरपालिकामा भइरहेका कामकाज ठप्प भएका छन् । ६ महिनादेखिकाे तलबभत्ता नपाएपछि कर्मचारीहरूले नै नगरपालिकामा तालाबन्दी गरेका छन् । उनीहरूले दिनहुँ नगर कार्यालय अगाडि धर्ना दिँदै आएका छन् । तलब नपाएकाे भन्दै शिक्षकहरू धर्नामा बसेपछि नगरपालिका भित्रका विद्यालयकाे पठनपाठन ठप्प भएकाे छ ।

नगर पालिकाका मेयर विनयकुमार यादवले भने नगर परिषद् बैठक नहुँदा उधारोमै पालिका सञ्चालन भइरहेकाे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ '‍ पालिकामा नयाँ जनप्रतिनिधि आएको सात महिना पुग्दैछ । आर्थिक वर्ष सुरु भएको पनि ६ महिना पुग्दै छ । तर, नगर परिषद्  बैठक हुन सकेको छैन । नगर परिषद् नहुँदा उधारोमै पालिका सञ्चालन भइरहेको छ। चालु आर्थिक वर्षमै १५/२० लाख रुपैयाँभन्दा बढी उधारो छ ।' गाडीकाे इन्धन, बैठकको खाजा र चिया खर्च पनि उधारोमै चलेको छ ।

नगराइन नगरपालिकामा अल्पमत र बहुमतको विवाद छ । यहाँ ५० जना कार्यपालिका सदस्य छन् । नगराइनका मेयर यादव नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएकाे हाे । तर, कार्यपालिकामा बहुमत भने एमालेको छ । यस नगरपालिमा एमालेबाट उपमेयर राधादेवी यादवसहित २८ जना कार्यपालिका सदस्य छन् । कांग्रेसका जम्मा २२ सदस्य जना छन् । एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले कानुन संशोधनको माग गर्दै परिषदमा रोक लगाएका छन् । नगरका मेयर यादवले आफूले १० पटकसम्म नगर सभाको बैठक बोलाइसकेको बताउनुभयो । तर एमालेबाट निर्वाचित जनप्रतिनिधि बैठकमा सहभागी नहुने गरेको उहाँको भनाइ छ ।

नगर स्तरीय योजना सञ्चालन हुने विषयमा विगतमा जनप्रतिनिधिहरूले कार्यविधि बनाएका थिए । यस कार्यविधिमा नगरस्तरीय योजना मेयरकै नेतृत्वमा सञ्चालन हुने व्यवस्था छ । तर, अहिले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले कार्यविधि संशोधन गर्नुपर्ने सर्त राखेका छन् । नगरकी उपमेयर राधादेवीले अधिकार र योजना बाँडफाँटमा विवाद रहेको बताउनु भयाे ।

नगरका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले मेयर र उपमेयरको खिचातानीका कारण नगर सभा हुन नसकेको आराेप लगाउनु भयाे । समस्या समाधानका लागि बोलाइएको बैठकमा समेत एमालेका जनप्रतिनिधिहरु आफ्नो अडानमा कायमै रहेपछि समस्याको निकास निक्लिन नसकेको कर्णकाे भनाइ छ । 

नगराइनजस्तै बहुमत र अल्पमतको समस्या धनुषाको कमला नगरपालिकामा पनि छ । एउटै पार्टीबाट मेयर र उपमेयर निर्वाचित भए पनि पालिका सञ्चालनको विषयमा कुरा नमिल्दा विवाद भएकाे हाे । यहाँ आयव्यय, अधिकार र योजना बाँडफाँटको विषयमा विवाद रहेको उपमेयर शिलादेवी मण्डलले बताउनु भयाे । कमलामा पनि नगरसभा स्वीकृत नहुँदा उधारोमै कारोबार भइरहेकाे छ । अति आवश्यक खर्च उधारोमै चलिरहेको मेयर विशेश्वर यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार असार १० गते पालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । भदौ २० गते नगरसभा पनि बहुमतले पारित भएकाे थियाे । तर कामकाज अझै ठप्प छ । उपमेयरसहितका कार्यपालिका सदस्यले उच्च अदालतमा नीति तथा कार्यक्रम खारेजीको माग गर्दै मुद्दा दिएका छन् । त्यही मुद्दाको आदेश कुरिरहेको मेयर यादवको भनाइ छ ।

'उपमेयरले अदालतमा मुद्दा दिनुभएकाे हाे । हामीले बहुमतले पारित गरेको नीति तथा कार्यक्रम र बजेट भाषण अदालतले खारेज गर्न पनि सक्छ' उहाँले भन्नुभयो, ‘मंसिर २१ गते तोकिएको पेसी स्थगित भएको छ । फैसला आउने बित्तिकै अख्तियारी दिइन्छ । कामकाज सुरु हुन्छ ।’

क्षीरेश्वरनाथ नगरपालिकाले भने नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसकेको छ । तर स्वीकृत गराउन सकेको छैन । असार १० गते नै नगरका मेयर सुकदेव यादवले बजेट प्रस्तुत गरे पनि स्वीकृत हुन सकेकाे छैन । यहाँ पनि अल्पमत र बहुमतको विवाद देखिएको छ ।

नगरपालिकाले आउँदाे पुस ६ गते पुनः नगरसभाको अर्को बैठक आयोजना गर्ने निर्णय गरेकाे छ । यहाँ पनि नगराइन नगरपालिका र कमला नगरपालिकामा जस्तै समस्या छ । जसले गर्दा पालिका उधारोमै सञ्चालन भइरहेको छ । कर्मचारीका अनुसार  गएकाे आर्थिक वर्षकाे ६ करोड बक्यौता अझै बाँकी छ । कर्मचारीहरूले पनि पाँच महिनाको तलब र चाडपर्व भत्ता पाएका छैनन् । उनीहरु गएकाे महिनादेखिकाे तलबकाे माग गर्दै कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिएका छन् । उपमेयरसहित क्षीरेश्वरनाथ नगरपालिकाका आठ वटा वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने मेयरसहित अन्य दुई वडामा नेकपा एमालेबाट जनप्रतिनिधि चुनिएका छन् ।  

सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार मधेसका १३६ मध्ये ९४ दशमलव ९ प्रतिशत पालिकाले बजेट पेस गरिसकेका छन् भने पाँच दशमलव एक प्रतिशत पालिकाले बजेट पेस गरेका छैनन् । अर्थात् निर्धारित समयमा करिब एक दर्जन पालिकाले बजेट प्रस्तुत गर्न सकेका छैनन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया