कांग्रेसको संसदीय दलको चुनाव आज, बिहान ८ देखि १० बजेसम्म मतदान

 पुस ६, २०७९ बुधबार ६:५६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कांग्रेसको संसदीय दलको चुनाव आज हुँदैछ । मतदान बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ । संसदीय दलको चुनावमा संस्थापन पक्षबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र इतर समूहबाट महामन्त्री गगन थापा उम्मेदवार हुनुहुन्छ ।

देउवा दलको नेता हुँदै पाँचपटक प्रधानमन्त्री बनिसक्नु भएको छ ।  थापा पहिलोपटक दलको नेतामा प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था रहेकाले चुनावलाई महत्वका साथ लिइएको छ । यस्तै, अहिले यो चुनावले नै भावी सरकार गठनसहित समग्र राष्ट्रिय राजनीतिक जोडिएकाले पनि अन्य राजनीतिक पार्टी र नेताहरुले  पनि चासोका साथ हेरेका छन् ।

कांग्रेसमा दलको नेता निर्वाचित हुनु भावी प्रधानमन्त्रीको सबैभन्दा बलियो दाबेदार हुनु हो । यस्तै, कांग्रेस सभापति देउवाले दलको नेताको चुनावपछि शक्ति बाँडफाँडको विषयमा छलफल गर्ने बताएका कारण सत्तागठबन्धनमा रहेका दलले चासो दिएका छन् ।

दलको नेतामा निर्वाचित हुन देउवा र थापा दुवैले आफ्नो समूहको भोट सुरक्षित गर्ने र अर्को समूहको भोट तान्ने रणनीति अपनाएका छन् । निर्वाचन समितिले ८९ सांसदको नाम अन्तिम मतदाता नामावलीको रूपमा प्रकाशन गरेको छ । अहिले कांग्रेसको संसदीय दलमा ८९ सांसद रहेकाले बहुमतका लागि ४५ मत चाहिन्छ । विधानमा ५० प्रतिशत मत पाएपछि मात्रै दलको नेता चयन हुने व्यवस्था छ ।

अंकगणितअनुसार संस्थापन पक्षसँग सुविधाजनक बहुमत देखिन्छ । तर, दुवै पक्ष एक–अर्को समूहमा रहेका सांसदको समर्थन जुटाउने र मत बढाउने रणनीतिमा केन्द्रित छन् । ८९ मतदातामा संस्थापनमा ५४ र इतर समूहमा ३५ सांसद देखिन्छन्  ।

महाधिवेशनमा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका विश्वप्रकाश शर्मा र देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलसमेतको समर्थनमा थापा दलको नेताको उम्मेदवार बनेपछि सभापति देउवामाथि चुुनौती थपिएको छ ।

देउवालाई रामचन्द्र पौडेल, प्रकाशमान सिंह र पूर्वमहामन्त्री शशांक कोइरालालगायतका नेताको समर्थन छ । संसदीय दलको नेतामा गगन थापाको उम्मेदवारीलाई राजनीतिमा रूपान्तरणको सन्देशका रुपमा पनि लिइएको छ ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया